दसैँअघि भीषण वर्षाको हल्ला, विभाग भन्छ– अफवाह

असोज १७ देखि तीन दिन भारी वर्षाको चर्चा निराधार, मौसममा भने सामान्य बदलावको संकेत

काठमाडौं । दसैँको मुखमा असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचनाले सर्वसाधारणमा फेरि मौसमको चिन्ता बढाएको छ। लामो बर्खे वर्षाबाट भर्खरै मात्र प्रभावित भएका नागरिकबीच यस्तो सूचना फैलिएपछि मौसमको वास्तविक अवस्थाबारे चासो र सोधपुछ बढेको छ।

तर, नेपाल सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि देशभर भीषण वर्षा हुने भन्ने सूचना निराधार रहेको स्पष्ट पारेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै सामाजिक सञ्जालमा फैलिएको उक्त खबरप्रति ध्यानाकर्षण भएको जनाएको हो।

महाशाखाका अनुसार विभागले असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने कुनै पूर्वानुमान गरेको छैन। हालको मौसमी गतिविधिमा ठूलो परिवर्तन नदेखिएको जनाउँदै विभागले आधिकारिक स्रोतबाट प्राप्त मौसमसम्बन्धी सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ।

विभागले तथ्यहीन तथा भ्रामक सूचनाको पछि नलाग्न र सामाजिक सञ्जालमार्फत त्यस्ता अफवाह नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सामान्य झरी र चिसो बढ्नसक्ने

भीषण वर्षाको सम्भावनालाई विभागले अस्वीकार गरे पनि आगामी दिनमा मौसममा केही बदलाव आउन सक्ने मौसम विज्ञले बताएका छन्। मौसम विज्ञ विनोद पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि घाम कम लाग्ने र पहाडी भूभागका केही स्थानमा वर्षा हुनसक्ने अवस्था देखिएको छ।

लामो समयको वर्षापछि पुनः भारी वर्षाको चर्चा चलेपछि सर्वसाधारण त्रसित हुनसक्ने भएकाले आफूले सुरुमा यस विषयमा छुट्टै जानकारी सार्वजनिक नगरेको उहाँले बताउनुभयो। तर, मौसमबारे सर्वसाधारणको जिज्ञासा बढेपछि आगामी अवस्थाबारे जानकारी गराएको उहाँको भनाइ छ।

पोखरेलका अनुसार विशेषगरी आइतबारदेखि दसैँको घटस्थापनासम्म मौसम बढी प्रभावित हुनसक्ने देखिन्छ। उक्त अवधिमा आकाशमा बदली हुने, केही स्थानमा झरी पर्ने र तापक्रम घटेर चिसो बढ्ने सम्भावना रहेको उहाँले बताउनुभएको छ।

माथिल्लो वायुमण्डलमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले नेपालका केही भूभागमा वर्षा हुनसक्ने र औसतभन्दा बढी चिसो महसुस हुनसक्ने उहाँको विश्लेषण छ।

आधिकारिक सूचना हेर्न आग्रह

पछिल्लो समय सामाजिक सञ्जालमा मौसमसम्बन्धी पूर्वानुमान भन्दै अपुष्ट सूचना तीव्र रूपमा फैलिने गरेका छन्। विशेषगरी विपद्को अनुभवबाट गुज्रिएका नागरिकमा यस्ता सूचनाले अनावश्यक त्रास सिर्जना गर्ने भएकाले मौसमसम्बन्धी जानकारी लिँदा आधिकारिक निकायको सूचना हेर्नुपर्ने देखिन्छ।

जल तथा मौसम विज्ञान विभागले समेत मौसममा हुने परिवर्तनअनुसार नियमित रूपमा पूर्वानुमान तथा चेतावनी जारी गर्दै आएको छ। त्यसैले सामाजिक सञ्जालमा प्रसारित सूचनाका आधारमा निष्कर्ष निकाल्नुभन्दा विभागको आधिकारिक पूर्वानुमानलाई आधार बनाउन आग्रह गरिएको छ।

यस वर्ष दसैँ असोजमै परेको अवस्थामा मौसममा हुनसक्ने सामान्य बदलावले यात्रा तथा चाडपर्वको तयारीमा असर पार्न सक्ने भए पनि हालसम्म असोज १७ गतेदेखि लगातार तीन दिन देशभर भीषण वर्षा हुने कुनै आधिकारिक पूर्वानुमान नरहेको विभागले स्पष्ट पारेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker