तनहुँमा कांग्रेसको शक्ति प्रदर्शन : प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल लगायतका शीर्ष नेताद्वारा सम्बोधन

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी तनहुँको दमौलीमा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ । देशैभर चुनावी सभालाई तीव्र पारेको नेपाली कांग्रेसले पार्टी सभापति सहित शीर्ष तहका नेताहरुको उपस्थितिमा तनहुँको दमौलीमा शनिबार मोटरसाइकल र्‍याली सहित शक्ति प्रदर्शन गरेको हो ।

शक्ति प्रदर्शनसंगै कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थाले जथाभावी संसद भंग गर्ने छुट नदिएको बताएका छन् । विपक्षीले विरोध गरेकै झोंकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुइदुइ पल्ट संसद विघटन गरेको आरोप लगाएका छन् ।

‘विरोध गर्नकै लागि प्रजातन्त्र हो, अरू प्रतिपक्षले विरोध गरिहाले संसद भंग गरिदिने ?’ सभापति देउवाले भने, ‘ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भंग गरेको गरेयै गर्ने, उहाँको पार्टीलाई जिताएर के गर्ने ?’

‘सत्तारुढ दलको गठबन्धनको एउटै उद्देश्य स्थानीय पालिकादेखि राष्ट्रियसम्म अगाडि बढाउने हो’, उनले भने, ‘ओली जीको तानाशाही प्रवृत्तिको कार्यशैलीबाट जनता र हामी सबैले मुक्ति पाएका छौ ।’ प्रधानमन्त्री एवं सभापति देउवाले अहिले गठबन्धलाई बिगार्ने, सफलहोस भन्न नचाहने, गठबन्धन विफल होस भन्ने तत्वको सक्रियता बढेको बताउँदै उनले यस्ता तत्वहरुलाई स्थानीय तहको चुनावको मैदानबाटै सखाप पार्न र गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् ।

यस्तै, गृहजिल्लाको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति सम्झौताको दस्तावेज भएको बताएका छन् । गृहजिल्लामै गठबन्धन भाँडिएपछि वरिष्ठ नेता पौडेलले भने, ‘राजनीतिमा सम्झौता पनि गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्न सक्नुपर्छ ।

हामीले एउटा महानगरपालिकामा हाँसिया हतौडामा छाप लगायौ भने प्रचण्डले तीन वटा नगरपालिकामा रुखमा छाप लगाउँछन् यो कुरा नेता तथा कार्यकर्ताले बुझ्नुपर्छ ।’ ‘सर्वनाश हुनु भन्दा अर्धनाश जाती भनेर गठबन्धन गरिएको हो’, नेता पौडेलले भने, ‘हामीले जति प्राप्त गर्र्छौ त्यतिमा विजयी हाँसिल गर्र्छौ, भोलीको संसदमा पनि हामीले विजयी हाँसिल गर्ने गरी यो गठबन्धन भएको छ ।’

‘अस्थिरताको अन्त्य गर्न, नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक छ । भ्रष्टचार मेट्नका लागि पनि यो गठबन्धन प्रयोग गर्ने र देशबाट कमिसन तन्त्रको खेलबाट जनताको शोषण भएको छ’, उनले भने, ‘राजनीतिमा भ्रष्टाचार घुसेको हुँदा एउटा स्वच्छ समाजसेवी मानिसले चुनाव जित्ने अवस्था नभएकाले त्यस्तो वातावरण बनाउन संघर्ष गर्नुपरेको छ ।’

यस्तै, नेता पौडेलले यो देशको विकासको पहिलो बाधक भ्रष्टाचार, दोश्रो बाधक अस्थिरता भएको भन्दै अब राजनीतिक अस्थिरता र भ्रष्टाचारको सामना हामीले गर्नुपरेको बताए । जिल्लामा गठबन्धनका कुरा नगर्न जिल्लाका नेताहरुले टेलिफोन गरेको भन्दै उनले कहाँबाट यो हावा चल्यो भन्दै प्रश्न गरेका थिए ।

‘राजनीतिक स्थिरता नभएकाले विकास भएन, यति लामो संघर्षले यो व्यवस्था ल्याऔं, समाजवाद ल्याउँछौ भनेर संविधान बनाऔं, साझा दस्ताबेज भनेर बनायौं तर यो बीचमा त्यो व्यवस्था खलबलाउन केपी ओलीलाई प्रयोग गरियो’, उनले भने, ‘ओलीलाई निमित्त नायक बनाइयो, राजा महेन्द्रले १७ सालमा गरे, ज्ञानेन्द्रले ०५९ सालमा गरे अहिले ओलीलाई प्रयोग गरेर त्यही बाटोमा हिडाउन खोजिएको छ ।’

नेपालमा राजनीतिक स्थिरतालाई कायम हुन नदिने मुलुकलाई स्थायी रुपमा राजनीतिक स्थिरता कायम गरी विकास गर्ने मौका नदिने जहिले पनि नेपालीलाई गरिवि र अविकसित मुलुक बनाइ राख्न केपी ओलीलाई प्रयोग गरी यो मुलुकलाई अस्थिरता तर्फ लग्न ग्राइन्डिजानइन चलेको समेत नेता पौडेलले बताएका छन् ।

उच्चस्तरी राजनीतिक संयन्त्रका संयोजक समेत रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा सत्तारुढ दलबीच आंशिक रुपमा मात्रै गठबन्धन भएको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र बीच पटक पटक छलफल भएपनि जिल्लामा पूर्णरुपमा गठबन्धन हुन नसक्दा सत्तारुढ दलबीच नै विवादको वातावरण बनेको छ ।

यता, तनहुँको सदरमुकाममा रहेको जिल्लाकै पुरानो व्यास नगरपालिकामा गठबन्धन नहुँदा गठबन्धन दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेले भने कांग्रेसकै नेता गोविन्दाराज जोशी समुहसंग तालमेल गरी कांग्रेसका उम्मेदवार एवं निवर्तमान मेयर बैकुण्ठ न्यौपानेसंग चुनावी प्रतिस्पर्धा गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker