म्याग्देका भूमिहिन तथा अव्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले भुमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण शुरु गरेको छ । गाउँपालिकाले आइतबार वडा नं. १ मा उपभोग गर्दै आएको जग्गाको निस्सा वितरण गरेको हो ।
म्याग्दे गाउँपालिका भरी कुल अव्यवस्थित वसोवासीमा १ हजार १५३ जना, भुमिहिन सुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले फर्म भरेका मध्ये म्याग्दे-१ मा अव्यवस्थित तर्फ ११७ जना, भुमिहिन सुकुम्वासी तर्फ १५ जना र भुमिहनि दलित तर्फ २५ जना गरी कुल १५७ जनालाई निस्सा वितरण गरिएको छ ।
वडाध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा आयोजित निस्सा वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, राष्ट्रिय भुमि आयोगको जिल्ला सदस्य सर्वदा खनाल घिमिरेले भुमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण गरेका थिए ।
लगत संकलन कार्यविधिीको अनुसूचि ३ र ४ बमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जग्गा प्राप्तिको लागि शुरुवाती चरण शुरु भएको बताए । सुकुम्वासी र भुमिहिनलाई जग्गाको स्वामित्व दिलाउने कामको शुरुवात भएको छ । अब प्रक्रिया अन्तर्गत अन्य काम अगाडि बढ्ने र निस्सा वितरणको आधारमा नै काम अगाडी बढ्ने हुँदा अब जग्गाको नाँपजाँचको काम शुरु हुने बताए ।
यस्तै, गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पालिकाले बिभिन्न गतिविधि गर्दै आएको बताए । निस्सा बितरणका शुरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनका कारण रोकिएको हुँदा ढिलो भएको बताए ।
‘पालिकाले जग्गाको वर्गिकरण पनि गरिसकेको र केही समयपछि जग्गाको समस्या समाधान हुन्छ’, उनले भने, ‘पालिका जनताको आवश्यकतालाई मध्यनजर गरेर कार्यक्रम ल्याएको हुँदा सकारात्मक सुझावको अपेक्षा राखेका छौ ।’
राष्ट्रिय भुमि आयोगकी जिल्ला सदस्य सर्वदा खनाल घिमिरेले तनहुँमा भुमि आयोगको काम प्रभावकारी ढंगले अगाडी बढेको बताइन् । आयोगको काम निर्वाचनका कारण ढिलाइ भएता पनि अब सरकारले यो समस्या समाधानका लागि लागिपरेको बताइन् । म्याग्देले पुस १८ गतेसम्म ७ वटै वडाका भुमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण गर्ने भएको छ ।










