आँवुखैरेनीको टोलटोलमै सामाजिक सुरक्षा भत्ता वितरण

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरुआत गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ को लाब्दी र भोटीश्वाराँमा पुगेर भत्ता वितरण कार्य सुरु गरेको हो ।

भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झण्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले स्थानीय तह निर्वाचनका बेला आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएमा गाउँगाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा पनि यो कुरा समेटिएको छ । सोही बमोजिम यतिबेला गाउँपालिकाले आव २०७८/०७९ को वैशाखदेखि असारसम्मको वितरण गर्न बाँकी सामाजिक सुरक्षा भत्ता टोलटोलमा पुगेर वितरण गर्न थालेको हो ।

‘मैले चुनावमा जनतासामु गरेका वाचा पूरा गर्दै टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण सुरुवात गराएको छु’, उनले भने, ‘पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहजरुपमा गाउँमै भत्ता पुर्‍याउन सकिन्छ भन्ने थियो, त्यो वाचा पूरा गर्न सफल भएको छु ।’

टोलटोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौं लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन्।

भत्ता टोलटोलमै पुगेर वितरण गर्नका लागि बैंकलाई आवश्यक सुरक्षाको प्रबन्ध, यातायात र स्वयंसेवकको व्यवस्था गाउँपालिकाले गरिदिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताए । उनका अनुसार गाउँपालिकाले अन्य वडामा पनि टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ ।

वडा नम्बर १ को देवीडाँडा आमा समूह भवन, चन्द्रोदय माविबाट पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिसकिएको छ भने सोही वडाको गुम्बा इलाका, मिलीजुली सहकारीबाट साउन ५ गते सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।

वडा नम्बर २ को पौवा, डुम्रीखर्क, अदुवाखर्कमा साउन ८ गते, एक्लेफाँट महिला समूह भवन, तिलाबारी आधारभूत स्वास्थ्य केन्द्रको भवन, नारीघाट, ढाँड, खानीखोला माधव मिश्रको घरमा साउन ९ गते र ढकालटार, उन्नति सहकारी भवन, पुरानो बसपार्क, ल्युतपाखामा साउन १० गते सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ३ को आँबुगाउँमा साउन ७ गते, वडा नम्बर ४ को भाँगे, अक्लाङ, लोप्राङ, घयाङििसङ काफलडाँडामा साउन १० र ११ गते, आमडाँडाबेसीमा साउन १२ गते र वडा कार्यालयबाट १३ र १४ गते सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । वडा नम्बर ६ को हिलेखर्क, पिउघरमा साउन १३ गते सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको भत्ताकार्ड नवीकरण पनि सोही क्रममा गरिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । आँबुखैरेनीमा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र एनसिसि बैंकसँग सम्झौता गरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker