स्थानीय निर्वाचनका कारण विद्यालय भर्ना अभियान प्रभावित
भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय निर्वाचनले अहिले सबै क्षेत्र क्षेत्र चुनावमय बनेको छ । वैशाख ३० गते हुने निर्वाचनको आजबाट मौन अवधि पनि सुरु भएको छ । तर, निर्वाचनका कारण विद्यालय भर्ना अभियान भने प्रभावित हुन पुगेको छ । स्थानीय निर्वाचनको घरदैलो र नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना अभियान संगसंगै सुरु भएका कारण विद्यालयहरुले प्रभावकारी रुपमा भर्ना अभियान चलाउन सकेका छैनन् ।
एकातिर राजनीतिक दलका नेता, कार्यकर्ता तथा उम्मेद्वारहरु आ-आफ्नो पक्षमा मत माग्न दौडधुप गरिरहेका छन् भने अर्कोतिर विद्यालयका शिक्षकशिक्षिकाहरु आफ्नो विद्यालयमा विद्यार्थीलाई भर्ना गराउन घरदैलोमा पुगेमा पनि त्यो प्रभावकारी बन्न सकेको छैन । कोभिडका कारण विगत दुइ वर्षदेखि विद्यालय शिक्षा प्रभावित हुँदै आएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गरी भौतिक रुपमै विद्यालयको अन्तिम बार्षिक परीक्षा सकाएर अहिले बालबालिकाको विद्यालय भर्ना गर्ने समय भएको छ ।
नयाँ वर्षसंगै सुरु हुने नयाँ शैक्षिक सत्र कोभिडका कारण पठनपाठन समयमा नसकिदा एक महिना ढिला गरी भर्ना अभियान सुरु भयो । अघिल्ला शैक्षिक सत्रमा भन्दा यो वर्ष केही दिन ढिला गरी भर्ना अभियान सुरु गरिएको व्यास नगरपालिका-१२ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण अधिकारीले बताए । उनले भने, ‘ढिला गरी भर्ना अभियान सुरु भएको छ । यहि समयमा स्थानीय निर्वाचन पनि भएको हुँदा प्रभावकारी ढंगले भर्ना अभियान सञ्चालन गर्न समस्य आएको छ ।’
‘झण्डासहित चुनाव प्रचारप्रसारमा हिडेका राजनीतिक दलका नेता कार्यकर्ताहरु देखेपछि भर्ना अभियानमा हिडेका शिक्षकशिक्षिकाहरुले बाटो नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘निर्वाचन आचारसंहिताका कारण राजनीतिक दलका प्रचारप्रसार समूह देखेपछि आफै तर्किनुपर्ने अवस्था छ । यो अवस्थामा भर्ना अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने चुनौति थपिएको छ ।’
‘विद्यालयबाट एक ठाउँमा जान निस्किएपनि त्यस ठाउँमा पहिले नै राजनीतिक दलहरु प्रचारप्रसार गरिरहेका छन् भने ठाउँ बदलि अर्कै ठाउँमा भर्ना अभियान चलाउन जान्छौं’, उनले भने, ‘भर्ना अभियानमा खटिएका अन्य शिक्षकशिक्षिकालाई पनि राजनीतिक दलको घरदैलो भएको टोलमा नजान भनेका छौं ।’ कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा तीन सय जना विद्यार्थीहरु छन् ।
मत आफ्नो पक्षमा ल्याउनका लागि भएको घरदैलो कार्यक्रमले प्रत्यक्ष असर नगरेपनि अप्रत्यक्ष रुपमा भर्ना अभियानलाई असर गरिरहेको भानु नगरपालिका-१३ ठुलोढुङ्गास्थित अरनिको माध्यमिक विद्यालयका प्रधानध्यापक शैलेन्द्र शाहले बताए।
‘परीक्षा सकिए र नतिजा सार्वजनिक गरिसकियो । बैशाख १५ गतेबाट भर्ना अभियान सुरु गरेका छौं’, उनले भने, ‘शिक्षकहरु भर्ना अभियानका लागि घरदैलो गर्दैगर्दा केही विद्यार्थीका अभिभावक चुनाव प्रचारप्रसारमा हिडेको हुँदा भेटघाट हुन सकेको छैन ।’
विद्यार्थीलाई विद्यालयतर्फ आकर्षित गराउन विद्यालयमा दक्ष शिक्षकद्वारा पठनपाठन, विद्यार्थीलाई दिवा खाजा सेवा र आइसिटि शिक्षाको पनि तयारी गरिएको उनले बताए । ‘यो पटक विद्यार्थीको नतिजा राम्रो निस्किएको छ । चारैतिर चुनावको रौनक भएपनि हाम्रा शिक्षकहरु निरन्तर भर्ना अभियानलाई लिएर घरदैलो गर्दै हुनुहुन्छ’, शाहले भने, ‘नयाँ शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थीको संख्या केही बढि नै हुन्छ भन्ने अपेक्षा गरेका छौं ।’
नयाँ शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी संख्या बढाउने लक्ष्यका साथ भर्ना अभियान चलाएका विद्यालयहरुले अभियानको क्रममा अधिकांश विद्यार्थीका अभिभावकसंग भेटघाट गर्न नपाउदा विद्यार्थी संख्या थप गर्न नसकिने हो कि भन्ने चिन्तामा छन् । ऋषिङ गाउँपालिका-३ दुबुङ स्थित शान्ति माध्यमिक विद्यालयका प्रधानध्यापक हर्कबहादुर थापाले विद्यालयले पहिलेका वर्षजसरी भर्ना अभियान संचालन नगरेको बताए ।
‘कोरोना संक्रमण हुनुभन्दा अगाडिका बर्षमा घरघरमा शिक्षकहरु जानुहुन्थ्यो र विद्यालयको विशेषता, पठनपाठन हुने विषयलाई विस्तारमा अभिभावकलाई बुझाएर आउनुहुन्थ्यो र त्यही आधारमा विद्यार्थीहरु यस विद्यालयमा भर्ना हुन आउथ्ये’, उनले भने, ‘अहिले टोल टोलमा मात्र अभियान संचालन गरेका छौं ।’
यस्तै, नयाँ शैक्षिक सत्र सुरु भएसंगै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकशिक्षिकाहरु भर्ना अभियान लिएर घरघरमा आउने तर यसपालि भर्ना अभियान भन्दा चुनाव प्रचारप्रसारमा हिड्ने धेरै देखेको व्यास-१ हाइस्कुलटारकी पुजा थापाले बताइन् ।
‘दुइ वर्ष अगाडि दिनमा एउटा दुइवटा विद्यालयबाट विद्यालयमा उपलब्ध हुने सेवासुविधा सहितको पर्चि लिएर आउने गर्दथे’, उनले भनिन्, ‘अहिले भने विद्यालयबाट भर्ना अभियान लिएर आउने केही देखिएको छैन, बरु राजनीतिक दलका झण्डा र प्रतिवद्धता पत्र लिएर हिड्ने धेरै देखिएका छन् । ती प्रतिवद्धतामा शिक्षा र बालबालिकाको क्षेत्रमा समेटिएको पनि देखिदैन ।’
नजिकिएको स्थानीय निर्वाचनको महोल गर्मिएसंगै विद्यालय र भर्ना अभियानलाई प्रत्यक्ष असर पारेको उनको बुझाइ छ । ‘ठाउँ सानो राजनीतिक दलहरु धेरै छन्, एउटा टोलमा फलानो राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनाव प्रचार प्रसारमा हिडेछन् भने अर्को टोलमा अर्को राजनीतिक दल देखा पर्छन्’, उनले भनिन्, ‘राजनीतिक दलको प्रचारप्रसार भएको ठाउँमा भर्ना अभियान लिएर जना पनि नमिल्ने होला ।’
जिल्लाका १० वटै पालिकाले ‘सबै बालबलिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने मुल नाराका साथ भर्ना अभियान सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षण गर्न विद्यालयमा शैक्षिक गुणस्तर, शिक्षक हुन सरकारले तोके अनुसारको मापदण्ड पार गरी आएका अनुभवी शिक्षक, प्राविधिक शिक्षा, विज्ञान प्रयोगशाला, आइसिटिमैत्री विद्यालय, पुस्तकालय, आवश्यक शैक्षिक सामाग्री व्यवस्थापनमा लागिपरेको भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले बताए ।
‘विद्यालय बाहिरा रहका बालबालिकालाई पनि विद्यालयमा भर्ना गराइ पठनपाठनमा सहभागी गराउनका लागि नगरपालिकाले तत्थाङ्क लिएको थियो’, उनले भने, ‘उक्त तत्थाङ्क अनुसार नगरपालिकाभित्रका करिव १० जना बालबालिका शिक्षाबाट बञ्चित हुनुपरेको देखिएको छ । उनीहरु पनि कोही अपाङ्गता र केही आमा बुबा मजदुरी गर्ने र समयसमयमा ठाउँ बदि्लरहने हुँदा भर्ना लिएका छैनन् ।’
यस्तै जिल्लामा ४४१ वटा सामुदायिक र १३४ वटा संस्थागत विद्यालय छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यलयको अनुसार १३ हजार ४३७ विद्याथी संस्थागत र ६० हजार ९९४ सामुदायिक विद्यालयमा गरी ८४ हजार ४९१ जना बालबालिकाले विद्यालयमा भर्ना लिएका छन् । यीमध्ये ३५ हजार ०७७ जना विद्यार्थीले विद्यालय छाडेका (ड्रप आउट) छन्।










