महिलाहरुलाई समाजमा अझै पनि दोस्रो दर्जाको रुपमा हेरिन्छ : मन्त्री पुन
भञ्ज्याङ समाचारदाता (म्याग्दे)

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले महिलाहरुलाई समाजमा अझै पनि दोस्रो दर्जाको रुपमा हेर्ने गरिएको बताइन् । उनले गण्डकी प्रदेश सरकारमा पनि ७ जना मन्त्री हुँदा आफु मात्रै महिला मन्त्री रहेको बताइन् । तनहुँको म्याग्दे गाउँपालिका-४ छाङमा कालिका मोई समुहको सामुदायिक भवनको शिलान्यास समारोहमा बोल्दै मन्त्री पुनले सामान हकअधिकार र अवसरका लागि महिला दिदीबहिनीहरुले शिक्षालाइ महत्व दिनुपर्नेमा जोड दिइन् । शिक्षाको क्षेत्रमा अगाडी जान सकिएन भने अरुको अरौटे भरौटे हुनुपर्ने मन्त्री पुनको भनाई थियो ।
उनले महिलाहरु आयआर्जनमा जोडिन नसकेको र अझै पनि श्रीमानको कमाइमा चल्नु परेको अवस्था रहेको बताइन् । मन्त्री पुनले सामुदायिक भवन बनेपछि महिला दिदीबहिनीहरुले विभिन्न खालका तालिमहरु संचालन गर्ने र तालिम अनुसारको उद्यममा जोडिनु पर्ने उल्लेख गरिन् । आफुले कमाउन सकियो भने आँट नै छुट्टै हुने भएकाले यहि भवनबाट हजारौ नागरिकलाई सीपमुलक तालिम दिएर उद्यमी बनाउन आमा समहुले नेतृत्व गर्नेछ भन्ने विश्वास व्यक्त गरिन् ।
उनले स्वदेशी बस्तु उत्पादन गरेर विदेश निर्यात नगरेसम्म देश तथा प्रदेश कहिल्यै समृद्ध हुन नसक्ने बताउँदै गण्डकी प्रदेश सकारले विभिन्न क्षेत्रका जनशक्ति उतपादन गर्ने उद्धेश्यले तालिमहरु संचालनका लागि रुचि अनुसारको विषयमा सहभागी हुन दुइ पटकसम्म सुचना निकाल्दा प्रदेशभरिबाट जम्मा ३६ वटा स्थानिय पालिकाहरुले मात्र निवेदन दिएको जानकारी दिइन्। उनले कर्मचारी अभावले गर्दा लक्ष्य अनुसार काम गर्न नसकेको स्वीकार्दै जिल्ला जिल्लामा कार्यालय नहुदाँ सुचनाको आधारमा काम गर्नुपर्दा झनै समस्या भएको बताएकी थिइन्।
त्यस्तै उनले स्वास्थ्यको क्षेत्रमा मृगौला पीडितहरुलाई सरकारले एक लाख रुपैयाँ सहयोग दिने गरेकोमा त्यो एक लाखले विरामीका लागि उपचार गर्न पनि नपुग्ने र विरामी बचाउन पनि नसकिने हुँदा अब मृगौलालाई कसरी बचाउन सकिन्छ भनेर नागरिकहरुका लागि सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको सुनाइन् ।
कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले महिला भवन भनिए पनि महिलाहरुको मात्र पेवा नभएको बताइन् । उनले समाजमा बन्ने भवन सबैको साझा सम्पति भएको बताउँदै सबैले फाइदा लिन सक्नुपर्ने र संरक्षण गर्ने दायित्व पनि सवैको भएको बताइन् । उनले पुरुषहरुलाई अगाडी बढाउन पनि महिलाहरुकै मुख्य हात रहेको बताएकी थिइन् । गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले सामुदायिक भवनमा महिला तथा पुरुषहरुको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्नका लागि प्रयोग हुने बताए ।
समुहकी अध्यक्ष पुनम मगरको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर थापा, राष्ट्रिय मगर संघको केन्द्रीय महामन्त्री जीतराज राना लगायतले बोलेका थिए । भवन निर्माणका लागि संघीय समानिकरण अनुदानबाट बजेट प्राप्त भएको छ । कुल १२ लाख २२ हजार १९ रुपैयाँ लागतमा बन्ने भवनका लागि सरकारबाट ११ लाख अनुदान प्राप्त हुनेछ भने १ लाख २२ हजार १९ रुपैयाँ जनसहभागीताबाट पुर्ति गरिनेछ । स्थानीय उपभोक्ता समितिको सक्रियामा बन्ने भवन आगामी असार १५ गतेभित्र सक्ने लक्ष्य लिइएको छ ।










