भानुमा अधिकारका सवालबारे सार्वजानिक सुनुवाई
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सार्वजानिक सुनुवाइ गरिएको छ । इन्सेक तनहुँले मंगलबार वडा नम्बर ९ मा आयोजना गरेको उक्त कार्यक्रममा वडाध्यक्ष मिनबहादुर गुरुङले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा प्रथामिकताका साथ राखेर कार्यान्वयन गर्नुपर्ने बताए ।
नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गरिरहेको हुँदा त्यसक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयलाई प्राथमकिताका साथ राखी कार्यान्वयन गर्न उनले सुझाव दिने बताए ।
ज्येष्ठ नागरिकलाई घरै दैलोमै स्वास्थ्य सेवा उपलब्धता, प्राकृतिक प्रकोप पीडितलाई राहत, बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन, स्वास्थ्य र सरसफाईलाई उच्च प्राथमिकता, आधारभुत खानेपानीको उपलब्धता, व्यक्तिगत तथा सामुहिक सरसफाईको विशेष नीति, नमुना बाख्रा पालन, भैसी पालन तथा सिताके च्याउ खेतीलाई जोड, बिउ बिजन तथा अनुदान वितरण प्रक्रियालाई आधुनीकिरण तथा उत्पादनलाई निर्वाहमुखी भन्दा बजारमुखी बनाउने नीतिहरु सन्चालन गरिएको नगरपालिकाकाका वरिष्ठ अधिकृत शुनिल पाण्डेले बताए ।
मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल बिउ बैंकका केन्द्रीय अध्यक्ष एवं नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य सिताराम बजगाई, नेपाली काँग्रेस वडा नम्बर ९ का वडा सभापती गणेशमान श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष निलन सन्जिवा श्रेष्ठ लगायतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउँदा शिक्षा, स्वास्थ्य, खाद्यका विषयलाई प्राथमिकतामा राखी योजना बनाउनु पर्ने सुझाएको इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले बताए ।










