तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण

नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा शनिबार दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय महासचिव प्रा डा प्रकाशराज रेग्मीको नेतृत्वमा आउनुभएका मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्य, डा अजय अधिकरी र डा विनायक गौतमले मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गर्नुभएको हो ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गरिएको हो । सो अवसरमा प्रतिष्ठानका आजीवन सदस्यको स्वास्थ्य परीक्षण गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँका उपाध्यक्ष एवं नेशनल एपोलो अस्पतालका सञ्चालक चूडामणि दाहालले जानकारी दिनुभयो । बिरामीको इसिजी, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिएको थियो ।

त्यसैगरी सो अवसरमा दमौलीका करिब १५ चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएपछि थप उत्साहित भएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो ।

खानपिनमा ध्यान दिऔँ : जिसस प्रमुख वाग्ले

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मुटुरोगबाट बच्न खानपिनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । “खानपानकै कारण हामीले रोगलाई निम्त्याइरहेका छौँ”, उहाँले भन्नुभयो, “अस्वस्थ खानपानलाई छाड्न सके रोगबाट बच्न सकिन्छ ।” नेपालमा पनि बालबालिकादेखि वृद्धवृद्धासम्म मुटुरोग बढ्दै गएको अवस्थामा ९५ प्रतिशत मुटुका बिरामीको नेपालमै उपचार हुने व्यवस्था रहेको उहाँले औँल्याउनुभयो । राज्यले मुटुरोगको उपचारका लागि निःशुल्क व्यवस्था गरे पनि प्रक्रिया झन्झटिलो रहेकाले मानिस पैसा तिरेर अन्यत्र अस्पताल धाउनुपरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव प्रा डा रेग्मीले चुरोट र सुर्ती सेवन स्वास्थ्यका लागि अत्यधिक हानिकारक रहेको बताउनुभयो । मानिसमा जाँड, रक्सीको तुलनामा सय गुणा बढी असर धुम्रपानले गर्ने हुँदा यसतर्फ सचेत हुँदै वर्षमा कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्न उहाँले जोड दिनुभयो ।

मानिसमा हृदयघात हुनुभन्दा पूर्व मुटुमा पीडा हुने, पसिना आउने, वाक्वाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्नेलगायतका लक्षण देखिने हुँदा समयमै सचेत भई नजिकको स्वास्थ्य संस्थामा जानुपर्ने बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker