तनहुँको व्यासमा डेंगु नियन्त्रणका लागि “खोज र नष्ट गर अभियान” सुरु
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर अभियान’ सुरु गरेको छ । डेंगु संक्रमण बढ्न थालेपछि नगरपालिकाले शनिबारदेखि यो अभियान सुरु गरेको हो । डेंगु संक्रमण हुनेको संख्या बढ्दै गएपछि नियन्त्रणका लागि तनहुँका स्थानीय तहहरुले विभिन्न कार्यक्रम बनाई संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि अभियान सञ्चालन गरेका छन् ।
व्यास नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुवात गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानले कोभिड-१९ को संक्रमणपछि अहिले पुनः डेंगुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको बताए । उनले भने, ‘कोभिड संक्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेंगुले दुःख दिन थाल्यो । हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।’
डेंगु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए। ‘लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरु जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुवात गरेका छौ’, उनले भने ‘प्रत्येक वडामा पनि जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु गरिएको छ ।’
‘सबै जागौ, सबै लागौ : वरिपरि जमेको पानी हर्टाई डेंगु भगाऔ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघसंस्था, शिक्षकलाई परिचालन गरिने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिइन् । व्यास नगरपालिकाले शनिबार मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फालेको छ ।
यस्तै, जिल्लाको आँवुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिकाले पनि डेंगु संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजी गरेर नष्ट गर्ने अभियान चलाएका छन् ।










