व्यास नगरपालिका : “शिक्षा क्षेत्रको विकासका प्रयास भएपनि अपेक्षित सुधार हुन सकेन”

शिक्षा क्षेत्रको विकासका लागि व्यास नगरपालिको समावेशी ढंगले कार्यक्रमहरु अगाडि बढाएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए । ‘म शिक्षा क्षेत्रबाट यता आईसकेपछि शिक्षाको विकासका लागि धेरै कामहरु अगाडि बढाएको छु’, उनले भने, ‘हाम्रो कानुनले पनि माध्यामिक तहसम्मको शिक्षालाई स्थानीय तह मातहत राखेको छ । तर, स्थानीय तहले शिक्षा क्षेत्रको विकासलाई धेरै प्रयास गर्दै आएपनि अपेक्षित सुधार गर्न सकेको अनुभुति भएको छैन । किन भने, नेपाल सरकारले संघीय आधारमा नै हामीलाई अधिकार प्रत्यायोजन गरेको हो ।’
‘अहिले विद्यालयहरुमा शिक्षक दरबन्दीलाई पूर्णता दिन निकै समस्या झेल्नुपरेको छ । व्यास नगरपालिकामा मावि र निमावि तहमा १०६ जना शिक्षकको कमि छ । संघीय सरकारले प्राविमा दरबन्दी बढि भएकाले त्यसबाट पुर्ति गर्नु भन्छ । प्राविको दरबन्दीबाट मावि र निमाविको पढनपाठन गराउनुपर्दा नतिजा राम्रो आउने अवस्था रहेन’, नगरप्रमुख न्यौपानले भने, ‘संस्थागत र सामुदायिक विद्यालयहरुमा एउटा स्थिति निर्माण गर्न व्यवस्थापन समितिसंग मिलेर काम गर्ने प्रयात्न गरिरहेका छौं । अहिले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय अनुगमनलाई व्यवस्थित बनाएका छौ । तर जनशक्ति अभाव छ । ३/४ जना कर्मचारीको भरमा ७ सयको हाराहारीका शिक्षकको अनुमगन गर्नुपर्ने छ, ७५ सामुदायिक र ४० को हाराहारीमा संस्थागत विद्यालयको अनुगमन गर्नुपर्ने अवस्था छ ।’
‘शिक्षक ऐनमा आउनुपर्ने ऐन नआउँदा शिक्षकहरुको आ–आफ्नै धाराण हुने, शिक्षक आवद्ध संघसंस्थाका आ–आफ्नै नीति भइकाले व्यवस्थापनको पाटो पनि जटिल बन्ने गरेको छ’, उनले भने, ‘दरबन्दीको कमिलाई पूर्ति गर्नका लागि नगरपालिकाले ३५ जना स्वयं सेवक शिक्षक व्यवस्थापन गरेको छ । अभिभावकविहिन विद्यार्थीहरुको हकमा कक्षा ७ सम्मका लागि समता विद्यालय संचालन गरी निःशुल्क रुपमा आवासीय पठनपाठनको व्यवस्था मिलाएका छौ । करिव ५५ जना विद्यार्थीलाई आवसीय रुपमा पढ्दै आउनु भएको छ ।’
स्थानीय तहलाई स्थानीय पाठ्यक्रम निर्माण गर्ने जिम्मा दिइएको छ । शिक्षा क्षेत्रको भौतिक व्यवस्थापन बाहेक प्रदेशलाई अन्य जिम्मेवारी दिएको छैन । ‘संघले ऐन पनि बनाउँदैन, पाठ्यक्रम पनि समयानुकुल बनाउँदैन, धेरै कुराहरु संघमा नै भर पर्नुपरेको छ’, उनले भने, ‘अहिले हामीले २ महिने ३ महिने सीपयुक्त तालिम दियौ भने मानिसहरु आउने अवस्था छ, तर ३ वर्षीय प्राविधिक शिक्षा नचल्ने अवस्थामा पुगेको छ ।’
विद्यालयहरुले स्थानीय आवश्यकतालाई ध्यान दिएर बाजा बजाउने, टपारी बनाउने, पढ्दै सिक्दै भन्ने कार्यक्रम गर्दै आएका छन् । त्यस्ता कार्यक्रमलाई पनि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । यसपटक नगरपालिकाले नीतिगत रुपमै ‘पढ्दै सिक्दै’ गर्ने कार्यक्रमलाई पनि विद्यालय तहबाटै सञ्चालन गर्ने गरी व्यवसायिकता प्रवर्द्धन, सांस्कृतिक मौलिकता प्रवर्द्धन जस्ता कार्यक्रमलाई अगाडि बढाएको छ ।
‘अहिले समता विद्यालय, विद्यालयका सहयोगी कर्मचारीको भार, इसिटि शिक्षकको भार पनि नगरपालिकालाई परेको छ । कतिपय विद्यालयका भौतिक पूर्वाधार व्यवस्थापनको जिम्मा पनि हामीलाई छ’, नगर प्रमुख न्यौपानेले भने, ‘बजार क्षेत्रका विद्यालयको आ–आफ्नो प्रतिस्पर्धा छन्, ग्रामीण क्षेत्रका विद्यालयको अवस्था दयनीय बन्दै गएको छ । कतिपय विद्यालयहरु मर्ज गर्नुपर्ने अवस्थामा पुगेका छन तर, भौगिलक विकट्ताका कारण मर्ज गर्न सक्ने अवस्थामा पनि हामी छैनौ । अहिलेको अवस्थामा शिक्षा क्षेत्रलाई सुधार गर्न निकै चुनौती आइलागेको छ ।’
‘अहिले विद्यार्थीमा पनि निराशाले जरो गाढेको छ । अस्थिर शैक्षिक परिवेशले सक्नेहरु पढ्नका लागि मात्र भएपनि विदेश जाने र उतै हराउने अवस्था सिर्जना भएको छ । त्यसैले शैक्षिक क्षेत्रलाई सामयिक रुपमा सुधार गरी विश्वासको वातावरण सिर्जना गर्नुपर्ने खाँचो छ’, उनले भने, ‘विद्यार्थीहरु उच्चा शिक्षाका लागि विदेश जाने नै भए । तर, विद्यालय तहको शिक्षालाई पनि विद्यार्थीले त्यति भर गरेको देखिएको छैन । यसमा संघ सरकारको ठुलो हात छ । शिक्षकहरु पनि अन्दोलनमा छन्, हामीले पनि धेरै कुरा उठाइरहेका छौं । संघ सरकार अलि अस्थिर र शिक्षा मन्त्री पनि समयसमयमा परिवर्तन भइराख्ने, यी अवस्थाले गर्दा शिक्षा क्षेत्रमा अपेक्षित सुधार हामीले पनि गर्न सकेका छैनौ । संघ सरकारले पनि साथ सद्भाव दिन सकेको छैन । त्यसैले ऐनमै सुधारको आवश्यकता छ ।’

व्यवहारिक र प्राविधिक शिक्षामा जोड : नगर शिक्षा अधिकारी आचार्य

जिल्लाको सदरमुकाम रहेको व्यास नगरपालिकाको बजार क्षेत्रमा बढ्दो जनघनत्वसंगै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थीको संख्या पनि धेरै रहेका छन् । नगरपालिकामा प्रारम्भिक बालविकास केन्द्र वा पूर्व प्राथमिक तहमात्र सञ्चालित ९ सामुदायिक र ६ संथागत गरी १५ वटा रहेका छन् । आधारभूत तह अन्तर्गत कक्षा १–३ मा १४ सामुदायिक र ३ संस्थागत गरी १७ वटा विद्यालय, कक्षा १–५ मा १६ सामुदायिक र ४ संस्थागत गरी २१ वटा विद्यालय, कक्षा १–८ मा १७ सामुदायिक ११ संस्थागत गरी २७ वटा विद्यालय रहेको नगरपालिकाको शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
शिक्षा शाखाको तथ्याङ्क अनुसार माध्यमिक तह (कक्षा १–१०) मा ११ सामुदायिक र २३ वटा संस्थागत गरी ३५ वटा विद्यालय रहेका छन भने माध्यमिक तह (कक्षा १–१२) मा १४ सामुदायिक र ३ संस्थागत गरी १७ वटा विद्यालय सञ्चालनमा छन् । माध्यमिक (कक्षा ९–१२) तर्फ एक संस्थागत विद्यालय गरी नगरपालिका क्षेत्रमा ७२ वटा समुदायिक र ४५ वटा संस्थागत गरी ११६ वटा विद्यालय सञ्चालनमा रहेका छन् । यस्तै, नगरपालिकामा १ सामुदायिक र ३ संस्थागत गरी ४ वटा क्याम्पस सञ्चालनमा छन् भने ८ वटा सामुदायिक सिकाई केन्द्र सञ्चालनमा छन् ।
व्यास नगरपालिकाका अनुसार शैक्षिक सत्र २०८१ को क्ष्भ्ःक्ष्क् च्भउयचत अनुसार सामुदायिक विद्यालयमा करिब बाह्र हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । तथ्याङ्क अनुसार कबिर ५१ प्रतिशत छात्रा र ४९ प्रतिशत छात्र विद्यार्थीको सहभागिता रहेको नगर शिक्षा अधिकृत केदारराज आचार्यले जानकारी गराए । शिक्षा शाखाको तथ्याङ्क अनुसार शैक्षिक सत्र २०८१ मा समुदायिक विद्यालय तर्फ छात्रा ५ हजार ३७६ र ५ हजार ३१५ छात्र गरी १० हजार ६९१ जना विद्यार्थी अध्ययन गरेका छन् । यता संस्थागत तर्फ ४ हजार ९९४ छात्रा र ६ हजार २७४ छात्र गरी ११ हजार २१८ विद्यार्थी अध्ययरत छन् । समग्रमा १० हजार ७३० जना छात्रा र ११ हजार ५८९ छात्र गरी २२ हजार ३१९ जना विद्यार्थीले व्यास नगर क्षेत्रका विद्यालयमा अध्ययन गर्दै आएका छन् ।
यस्तै, प्राविधिक धार तर्फ सत्यवती माध्यमिक विद्यालयमा कम्प्युटर इन्जिनियरिङ, निर्मल माध्यमिक विद्यालयमा र उदय माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङको पढाई हुने गरेको छ भने जनजुक्त शाही माध्यमिक विद्यायमा पशु विज्ञान विषय पढाउने गरिएको छ । नगरपालिका अन्तर्गत निर्मल माध्यमिक विद्यालयमा कक्षा ९–१० को खुल्ला विद्यालय समेत सञ्चालनमा रहेको शिक्षा अधिकृत आचार्यले जानकारी गराए ।
व्यास नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरुका कक्षाकोठामा आइसिटीको प्रयोग, प्रविधिमा आधारित सिकाइ, विद्यार्थीलाई प्रश्न सोध्नका लागि शिक्षकले प्रेरित गर्ने वातावरण, कक्षाकोठामा प्रशस्त शैक्षिक सामग्रीको उपलब्धता, शिक्षक तालिमको व्यवस्था, कक्षागत रुपमा अभिभावकसँग अन्तसक्रिया, विद्यार्थीलाई परियोजना कार्यमा जोड दिने जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उनले जानकारी गराए ।
नगरपालिकाले वडा नं. ७ मा वि.सं. २०७८ देखि अभिभावक विहिन तथा सडक बालबालिकाहरुको अभिभावकत्व ग्रहण गदैै व्यास नगर समता आवसीय विद्यालय सञ्चालनमा ल्याएको । उक्त विद्यालयमा आवासीय रुपमा निःशुल्क आधारभूत
तहसम्मको पठनपाठनको व्यवस्था गरिएको शिक्षा अधिकृत आचार्यले जानकारी गराए । उनले भने, ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कक्षा १–३ का विद्यार्थीहरुको एकीकृत मूल्याङ्कन गर्नका लागि मूल्याङ्कन अभिलेखिकरण पुस्तिका व्यवस्थापन, गविर तथा जेहन्दार तथा दलित विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यस्था, विषयगत शिक्षक समुह परिचालन सहित विद्यालय अनुगमन र निरीक्षण, शिक्षक डायरी निर्माण, वितरण र प्रयोग, आधारभूत तह कक्षा १–८ को स्थानीय पाठ्यक्रम (हाम्रो व्यासनगर) तयारी गरी कार्यान्वयनमा ल्याइएको छ ।’
यस्तै, शिक्षकहरुकलाई लक्षित गरी नगरपालिकाको शिक्षा शाखा मार्फत क्षमता विकास तालिम, पुनर्ताजगी तालिम, विविध विद्यार्थी तथा शिक्षक प्रतिभा पहिचान कार्यक्रम, आइटी स्रोत शिक्षकहरुका लागि क्षमता विकास तालिम, पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम सञ्चालन गरिएको छ । नगर शिक्षा शाखाले विद्यार्थीको पढाइमा सहजीकरण गर्न अभिभावकलाई तालिम, संगीत, खेलकुद र अतिरिक्त क्रियाकलापकलाई व्यवस्थित गर्ने कार्यक्रम, परामर्श एवं उपचार कक्षको निर्माण, विपद् व्यवस्थापनको जोहो, विद्यालयमा विद्यार्थी प्रतिभाको खोजी, उत्कृष्ट शिक्षक, विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था, बगैँचा, सभाकक्ष, छात्रावास, पुस्तकालय भवन आदिको निर्माण र वैकल्पिक विद्युतको व्यवस्था, प्रयोगशाला निर्माण, मर्मत, सञ्चालन र बिस्तार, विद्यालयको शैक्षिक, भौतिक, आर्थिक र व्यवस्थापकीय कार्यहरु समेत गर्दै आएको छ ।
शिक्षाको सहज पहुँच र समानता सुनिश्चितका लागि नगरपालिकाले अपाङ्तामैत्री भवनको व्यवस्थापन, अपाङ्गतामैत्री शौचालय, छात्रवृत्तिको व्यवस्था, आवसीय सुविधासहितको स्रोतकक्षाको व्यवस्था, अभिभावक सेचतना जस्ता कार्यक्रमहरुलाई पनि सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाले शिक्षाको गुणस्तर र परिणाममा सुधार ल्याउनका लागि सूचना प्रविधि प्रयोगशाला, पुस्तकालय र विज्ञान प्रयोगशालाको व्यवस्थापन, प्रधानाध्यापकहरुका लागि भत्ता वृद्धि, टोल शिक्षा समिति मार्फत शिक्षण सिकाईमा सहजता, अभिभावक शिक्षा, सिकाई उपलब्धी विश्लेषण, विद्यालयगत छात्रावास÷पठनपाठन, शिक्षक विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई पनि निरन्तर रुपमा अगाडि बढाएको शिक्षा अधिकृत आचार्यले जानकारी गराए । उनले भने, ‘विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ नगरपालिकाले सबै माध्यमिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला, पुस्तकालय र विज्ञान प्रयोगशालाको व्यवस्थापन, स्मार्ट बोर्डको व्यवस्थापन गरेको छ ।’
विद्यालय व्यवस्थापन प्रणाली तथा विद्यालयको प्रशासनिक दक्षता सुधारका लागि नगरपालिकाले खुला विज्ञापन गरी प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनौट गर्ने, प्रधानाध्यापक तािलम, लेखा व्यवस्थापन तालिम, अभिभावकबाट विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिावक संघ गठन गर्ने गरेको छ ।
यस्तै, प्राथमिक तहमा पढ्न र लेख्नको आधारभूत सीपको विकास तथा प्रारम्भिक शिक्षा र बालबालिकामा आधारभूत सीपहरूको विकासका लागि सुनाई, बोलाई, पढाई, लेखाईका लागि सहजिकरण, शिक्षक तालिम, खेल विधिबाट शिक्षण सिकाई, रमाईलो विद्यालय जस्ता कार्यक्रमलाई अवलम्बन गर्दै आएको छ । शिक्षा क्षेत्रको सुधारका लागि समाजिक सहभागिता र अभिभावकहरूको समावेशीकरणका लागि विद्यार्थीहरुको अभिभावकको सहभागितामा विद्यालय व्यवस्थापन समितिमा महिलाको सहभागिता गराउने, बाल क्लव गठन र सहभागिता गराउने, समुदाय र टोल शिक्षा समिति गठन गर्ने, अभिभावक शिक्षा सञ्चालन, शिक्षा समिति, सामाजिक विकास समितिमा अपाङ्गता र महिलाहरुको सहभागिता गराउन जस्ता कार्यक्रमलाई प्राथमिकता दिंदै आइएको छ ।
यस्तै, नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी र बजेटको व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्दै आएको छ । शैक्षिक क्षेत्रको विकासका लागि सरोकारवालाहरुको सुझाव, सल्लाह र माग अनुसार आवश्यकता र मौजुदा स्रोतको आधारमा बजेटको व्यवस्थापन गर्ने गरिएको शिक्षा अधिकृत आचार्यले जानकारी गराए । उनका अनुसार व्यास नगरपालिकाले चालु आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि ससर्त अनुदान तर्फ करिब ४९ करोड रुपैयाँ र आन्तरिक स्रोतबाट करिव ४ करोड रुपैयाँको हाराहारीमा बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले माग, आवश्यकता, महत्व र मौजुदा स्रोतको अधिनमा रहि बजेट व्यवस्थापन गर्ने गरेको छ । महिला र बालिकाहरूको शिक्षामा पहुँचलाई सहज बनाउन तथा लैंगिक समानता सुनिश्चित गर्नका लागि छात्रा छात्रवृत्ति, अपाङ्गता छात्रवृत्ति, आवसीय विद्यालय, दलित छात्रवृत्ति, विपन्न लक्षित छात्रवृत्ति, समावेशी शिक्षक व्यवस्थापन जस्ता कार्यक्रमलाई अगाडि बढाएको छ ।
विद्यार्थीहरूको सुरक्षा, स्वास्थ्यका साथै विद्यालय परिसर र वातावरणको सुधारका लागि नगरपालिकाले आत्मरक्षा सम्बन्धी विद्यार्थी सचेतना कार्यक्रम, विद्यालय नर्स कार्यक्रम, प्राथमिक उपचार सामाग्रि व्यवस्थापन तथा तालिम, भुकम्प प्रतिरोधि भवन निर्माण, हरियाली विद्यालय कार्यक्रम, छात्राहरुको लागि सेनेटरी प्याड व्यवस्थापन र विद्यालयहरुलाई सेनेटरी प्याड डिस्पोजन मेसिन व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन गरेको छ ।
निम्न माध्यमिक तह र माध्यमिक तहमा विषयगत शिक्षक दरबन्दी न्यून रहनुका साथै शिक्षा क्षेत्रको विकासका लागि पालिकाले विभिन्न समस्या र चुनौतीहरु झेल्दै पनि आएको छ । सार्वजनिक शिक्षा प्रणाली, विशेषतः सामुदायिक विद्यालयहरू, हाल विभिन्न बहुआयामिक समस्या र चुनौतीहरूमाझ संघर्षरत छन् । शिक्षामा गुणात्मक सुधार गर्ने सरकारी प्रयासबीच विद्यालय स्तरमै रहेका संरचनागत, व्यवस्थापकीय, र सामाजिक चुनौतीहरूले अपेक्षित नतिजा हासिल गर्न कठिनाइ भइरहेको छ ।
शिक्षा क्षेत्रमा सिकाइ उपलब्धिमा न्यून प्रगति, शिक्षक र विद्यार्थीको नियमितता अभाव, आचारसंहिता पालना नहुनु, र विद्यालयको भौतिक पूर्वाधार कमजोर हुनु प्रमुख समस्या हुन् । साथै, तहगत तथा विषयगत शिक्षकको अभाव, शिक्षक सरुवा व्यवस्थापनमा पारदर्शिता नहुनु र उनीहरूको पेशागत लगाव कमजोर हुनु शिक्षा प्रणालीको मेरूदण्डमै असर गरिरहेको छ ।
विद्यार्थीहरूको संख्या घट्दै गएको र समुदायको विद्यालयप्रतिको धारणा कमजोर हुँदै गएको सन्दर्भमा, स्थानीय तहको भूमिका झनै महत्वपूर्ण बन्दै गएको छ । सारांशमा, विद्यालय मर्मत सम्भारदेखि नेतृत्व क्षमता विकाससम्मका बहुआयामिक सुधार प्रयासहरू एकीकृत रणनीति, स्थानीय सहकार्य र दीर्घकालीन योजनाविना सम्भव देखिंदैन। शिक्षा प्रणालीमा दीगो सुधारका लागि यी चुनौतीहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता दिनदिनै बढ्दो छ ।
(भञ्ज्याङ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा भञ्ज्याङ दैनिकले वैशाख १ गते प्रकाशन गरेको विशेषाङ्कमा प्रकाशित)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker