“लालपुर्जा पाइन्छ कि भन्ने आश छ, पूर्ण विश्वास छैन”

- राजकुमार आले (दुलेगौंडा)
जग्गाको भोगचलन गरेको करिब ६ दशक भइसक्यो । तर यो जग्गा मेरो हो भनेर निर्धक्क भन्न सक्ने प्रमाण तनहुँ शुक्लागण्डकी-२ र ७ का बासिन्दासंग छैन । सरकारले जग्गाधनी लालपुर्जाको सपना दखाएको वर्षौ भइसकेको छ । घरहरु थपिदै छन् । वस्ती बाक्लिदै गएको छ । तर लालपुर्जा कहिले पाउने हो ? अझै टुङ्गो छैन । अहिले भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा दिलाउने गरी सरकारले भुमिसम्बन्धी आयोग गठन गरी प्रक्रिया शुरु गरेको छ ।
भुमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले विहीबार शुक्लागण्डकी-२ हलेदी, वडा नं. ७ भोटेपानी र शान्तिनगरका अव्यवस्थित बसोबासीहरुसंग अन्तरक्रिया गरेका छन् । यसअघिको कार्यक्रमहरुमा जग्गाको विषय लिएर आउने जोकोहिलाई पनि स्थानीयले भव्य रुपमा फूलमाला र अबिरजात्रा गरी स्वागत गर्थे । तर यसपटक भने कुनै रौनक देखिएन । केन्द्रीय सदस्य रानाको स्वागतका लागि कसैले माला उनेनन् । अविरको जोहो गरेनन् । सामान्य रुपमा लिने हो भने टिका र माला मात्रै त नलगाएको हो ।
तर यस पछाडीको कथा भिन्न छ । अथितिलाई स्वागत नगर्नुले स्थानीयको आक्रोश झल्किन्छ। केन्द्रीय मन्त्रीदेखि नेतासम्मले उनीहरुलाई लालपुर्जा दिने मिति धेरै पटक तोके । धेरै आश्वासन बाँडे । ढाँटे । नेतामन्त्रीहरुहरुको बोलीमा विश्वास गरेका स्थानीयको हातमा अहिलेसम्म लालपुर्जा परेको छैन । गत बर्ष भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले उनीहरुको बीचमा ‘दशैँको रातो टिका निधारमा र रातो लालपुर्जा हातमा हुन्छ’ भनेर भाषण गरेकी थिइन् । बोल्ने तर बोलेको कुरा पुरा नगर्ने नेता र मन्त्रीहरुसंग उनीहरु निकै आक्रोशित छन् । स्थानीयमा नेता तथा मन्त्रीप्रति सम्मानको भाव हराउँदै गएको छ । अझै पनि पुर्जा पाउने विश्वासिलो आधार नभएको यहाँका बासिन्दाको गुनासो छ ।
भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुसंगको अन्तरक्रियामा केन्द्रीय सदस्य रानाले आगामी असारभित्रै शुक्लागण्डकीवासीले लालपुर्जा पाउने दाबी गरे । उनले यहि माघ महिनाको पहिलो हप्ताबाट नै घरघरमा पुगेर फाराम वितरण गरी ३५ दिनभित्र तथ्यङ्क संकलन गरिने बताए । यसअघि अस्थिर सरकारका कारण आयोगहरु अपरिपक्क भएको हुँदा काम हुन नसकेको भन्दै उनले अहिलेको परिपक्क आयोगले लालपुर्जा हातमा थमाउने दाबी गरेका छन् ।
‘यसपाली शुक्लागण्डकीका अव्यवस्थित बसोवासी पहिचान गरी लालपुर्जा वितरण हुन्छ । फरकै पदैन । ढुक्क हुनुहोस्’, उनले भने, ‘पहिला सरकार ढलेपछि आयोग पनि ढल्थ्योे, तर अहिले स्थिर सरकार छ । सरकार ढलेपनि आयोग ढल्दैन । अदालतमा मुद्दा हाले पनि नलाग्ने गरी भुमि सम्बन्धि कार्यविधि, मापदण्ड, तथ्य संकलन र पहिचानका आधारहरु तयार गरिएको छ ।’
तर स्थानीय जनताले भने आजभोलि आयोगका सदस्य तथा मन्त्री, नेताहरुको चिल्लो कुरामा भर्रपर्न छाडेका छन् । लालपुर्जा दिलाइ दिन्छौ भन्दै धरै नेता र मन्त्रीहरु आउनुभयो, सबैलाई भव्यरुपमा स्वागत र सम्मान् गरियो । तर अहिलेसम्म लालपुर्जा हात परेको छैन स्थानीय शिवबहादुर वि.क. बताउँछन् । उनि भन्छन्, ‘अब लालपुर्जा हात परेपछि मात्रै फूलमालाले स्वागत र सम्मान् गरिन्छ । सास भइञ्जेल आश लाग्ने हुने, यस पटकपनि लालपुर्जा पाइन्छ भनेर ढुक्क हुने वातावरण बनेको छैन ।’
त्यस्तै अर्का स्थानीय पम्फा थापा मगरले लालपुर्जा हात नपरेसम्म पूर्ण रुपमा विश्वस्त हुन नसक्ने बताइन् । ‘आयोग गठन भयो भनेर हामीले थुप्रै पटक फाराम भरिसक्यौँ, लालपुर्जाको आश गर्दागर्दै कतिको नाती पनाती भइसक्यो, कति मरेर गइसक्यो’, उनले भनिन्, ‘अहिले पनिकुनै विश्वास छैन, किन भने पहिला जनताको माँझमा आएर मिठो कुरा गर्ने, तर काम कहिल्यै हुदैन । सरकारले आफुहरुलाई बारम्बार आश देखाएर झुक्याइरहेको छ ।’
कार्यक्रममा शुक्लागण्डकी-७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले आफु सधै जनताको पक्षमा रहेको बताए । ‘जनतालाई काम चाहिएको भन्दै नेताहरुले गर्ने चिल्लो कुराको पछि नलागि विरोध गरिन्छ’, उनले भने, ‘वडा नं. ७ का भोटेपानीदेखि दोभानसम्मका जनतालाई संधैभरि लालपुर्जा दिन्छौ भनेर झुक्याइरहन पाइदैन । जनता निराश छन्, लालपुर्जा लिएर आउनु भयो भने उहाँहरुसंग समन्वय गरेर भोटदेखि राजनीतिक सबै कुरामा योगदान गर्न तयार छौं, होइन भने आश्वासन मात्र नदिनुहोला ।’
अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी लालपुर्जा दिलाउँछौं भनेर राजनीतिक दलहरुले करिब छ दशक अघिदेखि चुनावी नारा बनाउँदै आएका छन् । यसबीचमा कयौं पटक लालपुर्जा दिलाउने भन्दै आयोगहरु पनि गठन भए । ति आयोगहरु फाराम भराउनमा मात्रै सिमित बन्यो । तर भुमिहिनहरुको लालपुर्जा पाउने सपना, सपना नै बनिरहेको छ ।










