शिक्षकहरुको क्षमता अभिवृद्धि प्रशिक्षण
भञ्ज्याङ न्यूज

तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले शिक्षकहरुको क्षमता अभिवृद्धि प्रशिक्षण गरेको छ । बिगतका वर्षहरुमा आफ्ना विद्यालयमा कार्यरत शिक्षकहरुको मात्रै क्षमता अभिवृद्धि गर्दै आएको सत्यवतीले यस वर्ष छिमेकी विद्यालयका शिक्षकहरुलाई समेत सहभागि गरी शनिबार क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले एउटा विद्यालयले अवलम्बन गरेका राम्रो कुरा अन्य विद्यालयले पनि अनुशरण गर्दै शैक्षिक गुणस्तरमा वृद्धि गर्नुपर्ने बताए । नगरप्रमुख न्यौपानेले सत्यवतीको सरह अन्य विद्यालयले शिक्षा प्रदान गर्न सक्नु पर्ने बताउँदै सत्यवती विद्यार्थी धेरै भएर भर्ना गर्न नसक्ने अवस्था आएको छ, त्यसको विकल्प सोच्नु पर्ने बेला आएको बताए । उनले सत्यवतीको शिक्षकहरु अन्य विद्यालय सारेर गुणस्तरीय प्रदान गर्न सकिने भएकोले त्यसतर्फसोचाई आएको बताए ।
व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठले यस प्रकारका अभिमुखिक कार्यक्रमले शिक्षकहरूबीच सम्बन्ध र सहकार्य विकास गरी शिक्षण सिकाइमा सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अभिमुखिकरण कार्यक्रममा सहभागि शिक्षकलाई व्यास नगरपालिकाका प्रमुख न्यौपाने, गण्डकी प्रदेश शिक्षा निर्देशक अम्बिका आचार्य, शिक्षा विभाग उपसचिव डा. गणेशप्रसाद भट्टर्राई लगायतले सहजिकरण गरेका थिए।
पाठ्यक्रम समय समयमा परिवर्तन हुने सोही अनुसार शिक्षक पनि परिवर्तन हुन जरुरी रहेकाले प्रशिक्षण सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले बताए । उनले भने, ‘गुणस्तरीय शिक्षाका लागि शिक्षक योग्य, सक्षम, शैक्षणिक कलाकौशलले निपुर्ण हुन जरूरी भएकोले प्रशिक्षणको आयोजना गरिएको हो ।’
सबैलाई शिक्षकको पेशागत क्षमता विकासका रूपमा लिने गरिन्छ नेपालमा सरकारले शिक्षकको पेशागत विकासलाई महत्वका साथ कार्यान्वयन गर्दै आएको भएतापनि जति फलदायी हुनु पर्ने हो त्यती नभएकोले तालिमप्राप्त शिक्षकहरूबाट समग्र शिक्षाको गुणस्तर कायम हुनसकेकोले यस्ता प्रशिक्षणलाई व्यापकता दिइनु पर्ने कार्यक्रममा सहभागि शिक्षकहरुले बताएका थिए ।