भटमासफाँटबाटै भटमास हराउने चिन्ता

गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीको कालो भटमास भन्दै अहिले पनि पोखरा आसपासका क्षेत्रमा बिक्री वितरण हुँदै आएको छ । विडम्बना उक्त फाँटमा भने प्राचीनकालदेखि फल्दै आएको कालो भटमास अहिले पाउन मुस्किल भइसकेको छ ।

पछिल्ला वर्षमा कृषिप्रतिको बढ्दो अनिच्छासँगै यहाँको कालो भटमास नाममा मात्रै सीमित बन्ने चिन्ता बढेको स्थानीयवासी सरस्वती कुमाल बताउनुभयो । पछिल्ला वर्षमा धेरैले खेती गर्न छोडेका कारण यस क्षेत्रमा भटमासका साथै बोडी, मास आदि पनि कम हुँदै गएको उहाँको भनाई छ ।

“गाउँमा धेरै युवा रोजगारीका लागि विदेश गएका छन्, घरमा बस्ने अधिकांश महिला छोराछोरी पढाउन भन्दै सहरतिर झरेका छन्”, उहाँले भन्नुभयो, “उब्जाउ राम्रो हुने भए पनि गाउँमा काम गर्ने परिपाटी नै हराइसकेको छ ।” राम्रो पोषक अन्नमा पर्ने भटमासलाई उत्पादनका दृष्टिले सजिलो खेतीका रुपमा लिइन्छ ।

भटमास खेती आयआर्जनको राम्रो विकल्प हुनसक्ने र व्यवस्थितरुपमा मिलाएर लगाउन सकेमा यसबाट अन्य खेतीभन्दा बढी फाइदा लिन सक्ने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउनुभयो । उहाँले भन्नुभयो ,“परिश्रम पनि अन्य खेतीमा जस्तो खासै गर्नु नपर्ने तथा धेरै मल आवश्यक नहुने भएकाले ग्रामीण भेगका बाँझिएका जग्गालाई अधिकतम उपयोग गर्नसक्नुपर्छ ।”

अधिकांश स्थानमा भटमास खेती लगाउन सकिने र अन्य कोदो तथा मकैभन्दा यसबाट १५ देखि २० गुणासम्म बढी फाइदा लिन सकिने स्थानीय कृषकको भनाइ छ । भटमासको राम्रो उत्पादन हुने भएकाले नै प्राचीनकालदेखि भटमासफाँटका रुपमा चर्चित यस क्षेत्रमा व्यावसायिक गाईपालन, बङ्गुर पालनसँगै, ड्रागन फलको खेती सुरु गरिए पनि आसपासका धेरै स्थानमा खेती नगर्दा जग्गा बाँझै अवस्थामा रहेको उनीहरू बताउँछन् ।

झण्डै एक दशक अघिसम्म बारीभरि लटरम्म फल्ने कालो भटमाससँगै यस क्षेत्रमा पाइने घैया धान पनि लगभग लोप भइसकेको अर्की स्थानीय देउकुमारी कुमालले बताउनुभयो ।

सिँचाइको सुविधा नभएका पाखामा लगाउन सकिने घैया धान यस क्षेत्रमा एक दशकअघिसम्म राम्रै फल्ने गरेको बताउँदै उहाँले पछिल्ला वर्षमा भने लगभग हराइसकेको जानकारी दिनुभयो । खानमा मिठो तथा पोषक घैया धान सामान्यतः मकै बालीभित्र वैशाख–जेठको समयमा छर्ने गरिन्छ । अर्को धानजस्तो पानी आवश्यक नहुने भएकाले सिँचाइको अभाव रहेका स्थानमा घैयाको उत्पादन गरी भात खाने गरिन्छ ।

पौष्टिक तत्वको मात्रा धेरै हुने घैयामा विभिन्ना औषधिय गुण पनि हुने गर्दछन् । घैया धानको चामलको भात बास्नादारका साथै स्वादिष्ट हुने भए पनि पछिल्ला पुस्ताका लागि यो एकादेशको कथाजस्तै बन्ने अवस्थामा पुगेको छ ।

च्याङ्लीको भटमास फाँट पानीको चरम अभावयुक्त स्थान भएका कारण पनि प्राचीनकालदेखि यहाँका स्थानीय भटमास, मासका साथै घैया खेतीमा लागेको हुनसक्ने अर्की स्थानीय सविना कुमालले बताउनुभयो । पानीको अभावका कारण पनि खेतीतर्फ कृषक आकर्षित नभएको हुनसक्ने उहाँले बताउनुभयो । यस क्षेत्रमा पानीको समस्या प्राचीनकालदेखि रही आए पनि त्यसको अझै समाधान हुन नसकेको समाजसेवी एवं च्याङ्लीस्थित भटमासफाँटमा गण्डकी ड्रागन फ्रुट तथा कृषि फार्म सञ्चालन गर्दै आउनुभएका केवि कुमाल भनाइ छ ।

“यहाँ वर्षौंदेखि पानीको समस्या छ, सिँचाइको त कुरै छाडौँ खानेपानी पनि पाइँदैन”, उहाँले भन्नुभयो, “गाउँको नजिकै रहेका पानीका कुवामा रातको २ बजेतिर पुगेर पानी ल्याउनुपर्ने बाध्यता कायमै छ ।” खानेपानीका लागि गाउँमा एक दुईवटा धारोको व्यवस्था भए पनि नियमित पानी नआउँदा समस्या पर्ने गरेको उहाँले बताउनुभयाने ।

नगरपालिकाबाट बर्सातको पानी सङ्कलन गर्ने गरी सात लाख लिटर क्षमताको ट्याङ्की बनाउने योजनाको चर्चा भए पनि त्यो अझै पनि कार्यान्वयनमा आउन नसकेको उहाँले बताउनुभयो । “बर्सातको पानी सङ्कलन गरे पनि हिउँदमा कृषकले तरकारीलगायत विभिन्न खेती गर्न सक्थे”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा व्यावसायिक रुपमा गाई पालन, बङ्गुरपालन आदि गरिरहेको व्यवसायीलाई पानीको व्यवस्था भएमा ठूलै राहत मिल्ने थियो ।”

पृथ्वी राजमार्गको डुम्रे बजारमा तीन किलोमिटर तल नयाँ पुलबाट जम्मा डेढ किलोमिटर दूरीमा रहेको च्याङ्लीको भटमासफाँट खानेपानीलगायतका कारण राजमार्गको यति नजिकजस्तै भएर पनि दुर्गमजस्तै बनेको उहाँले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker