उच्छृङ्खल गतिविधि बढ्दा असुरक्षित बन्दै तनहुँको मानहुँकोट

सुरक्षित वातावरण नबनाए मानहुँकोटको पर्यटनमा असर पर्ने जोखिम

  • नारायण खड्का/तनहुँ

तनहुँको सदरमुकाम दमौलीको शीर बनेर ठडिएको मानहुँकोट आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । शान्तिपूर्ण वातावरणमा प्रकृतिसंग रम्नेका लागि मानहुँकोट उत्कृष्ट गन्तव्य पनि हो । तर, पछिल्लो समय यहाँ बढ्दै गएको उच्छृङ्खल गतिविधिले मानहुँकोट असुरक्षित बन्दै गएको छ ।

मन्सुन बाहिरिएर चिसो मौसम सुरुभएसंग व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट देखिने मनोरम दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्न थालेका छन् ।

राती बास बसेर तथा बिहानै यहाँ पुगेर सूर्योदय र मानहुँकोटको बेसी क्षेत्र र दमौली बजारलाई ढपक्क ढाक्ने कुहिरो हेर्न आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

राती बस्ने गरी मानहुँकोट पुग्ने केही युवायुवतीहरुले मादक पदार्थ सेवन गरी उच्छृङ्खल तथा अमर्यादित गतिविधि गर्ने तथा अन्य आगन्तुकहरुलाई आक्रमण समेत गर्ने घटना बढ्दै जाँदा मानहुँकोटको पर्यटन क्षेत्र असुरक्षित बन्दै गएको छ ।

आज शुक्रबार बिहान पोखराबाट मानहुँकोट आएका युवाहरु माथि सांघातिक आक्रमण हुँदा मानहुँकोट असुरक्षित बन्दै गएको संकेत गरेको छ । पर्यटन क्षेत्रलाई जति सुरक्षित बनाउन सकियो त्यति पर्यटकको आगमन बढ्ने र भयरहित वातावरणमा रम्ने, घुम्ने गर्दछन । तर, मानहुँकोट पछिल्लो समय असुरक्षित बन्न थालेको गुनासो बढ्न थालेको छ ।

पोखराका विभिन्न ठाउँबाट मानहुँकोट घुम्न आएका १३ जना युवामाथी तनहुँको व्यास नगरपालिका स्थित बेलवास लगायतका ठाउँका युवाहरूको समुहले शुक्रबार बिहान आक्रमण गरेको बताइएको छ ।

लमजुङको भुजुङ घुम्न पोखराबाट हिडेका १३ जना युवाहरुको समुह मानहुँकोटबाट सूर्योदय र दमौली बजार क्षेत्रमा लाग्ने कुहिरोको मानोरम दृष्य अवलोकनका लागि शुक्रबार बिहान करिब ५ः३० बजेको समयमा मानहुँकोट उक्लिएको पोखराका युवराज गुरुङले बताए ।

आक्रमणबाट घाइते समेत भएका गुरुङ सहित पोखराबाट आएका १३ जना युवाहरु मोटरसाइकल पार्किङ गरी कोटमा पुगेका थिए । गुरुङले भने, ‘हामी मानहुँकोटको डाँडामा पुगेर निकै रमाइलो मान्दै फोटो भिडियो खिच्दै थियौ, तर त्यही बिचमा मादक पदार्थ सेवन गरेर बसेका केही युवाहरुको समूह आएर किन हल्ला गरेको ? किन भिडियो खिचेको भन्दै विवाद गर्न थाले, हामीले के भयो, किन झगडा गर्न आएको मात्रै भनेका थियौं तर एक्कासी हामी माथी आक्रमण सुरु भयो ।’

उच्छृङ्खल युवाहरुको समुहले आक्रमण गर्दा घाइते भएका मानहुँकोट घुम्न आएको एक युवक । तस्विर सौजन्य : विकास खनाल

‘बिहान करिब पउने छ बजेको समयमा हामी माथि उनीहरूले धारिलो हतियारले आक्रमण गरे, केहीले लाठी, हेलमेटले समेत हाने’, उक्त घटनामा घाइते भएका विपिन गुरुङले भने, ‘यहाँको प्राकृतिक सुन्दरताका विषयमा सुनेर घुम्नका लागि हामी पहिलोपटक आएका थियौं, यहाँको भुगोल पनि हामीलाई त्यति थाहा नहुँदा भाग्न पनि सकिएन । हामीलाई घेराबन्दीमा पारेर आक्रमण गरियो ।’

आक्रमणमा परी पाँच जना युवाहरु घाइते भएको तनहुँ प्रहरीले जनाएको छ । उनिहरुको दमौली अस्पतालमा उपचार भएको थियो । आक्रमणबाट जोगाउन स्थानीयले पनि कुनै सहयोग नगरेको र प्रहरी पनि घटनाको करिब एक घण्टापछि मात्रै आएको घाइते युवाहरुले गुनासो गरेका छन् । आक्रमणमा परेका दुई युवाहरुको टाउँकोमा ५÷६ वटा टाँका लगाइएको र हात, निधार, गाला, गोडा लगायत शरिरका विभिन्न भागमा चोट लागेको घाइते युवाहरुले बताएका छन् ।

पीडित युवाहरूका साथमा रहेको नगद, घडी, मोवाइल, बेरूवा औठी, एटीएम कार्ड लगायतका सामान समेत लुटपाट भएको बताइएको छ । आक्रमण गर्ने युवाहरु बिहीबार रातीनै मानहुँकोट गएर रातभरी मादक पदार्थ सेवन गरी होहल्ला गरेको बताइएको छ ।

व्यास नगरपालिकाले मानहुँकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भन्दै आवश्यक पूर्वाधार तयार गर्दै गरेपनि यहाँ आउने पर्यटकको सुरक्षा र पर्यटन क्षेत्रको शान्तिसुरक्षाका विषयमा खासै चासो देखाएको छैन ।

पोखराबाट घुम्न आएका युवाहरुलाई आक्रमण गरी आक्रमणकारी भागेपछि सोही समुहका एकजना दिनेश रामदाम मादक पदार्थले लठ्ठिएका कारण भाग्न नसकेको अवस्थामा प्रहरीले पक्राउ गरेको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए ।

उनले भने, ‘घटना भएको करिब १५ मिनेटमा हामीलाई सूचना प्राप्त भएको थियो । सूचना प्राप्त हुन साथ हाम्रो टोली घटनास्थल पुगेको थियो भने, त्यहाँबाट भाग्न सक्ने नाकाहरुमा पनि हामीले चेकजाँच गरेपनि आक्रमण गर्ने युवाहरु पक्राउ पर्न सकेका छैनन् । बेलवासका दिनेश रामदामलाई घटनास्थलबाट नियन्त्रणमा लिएका छौ । घाइते युवाहरुले पनि आक्रमण गर्ने युवाहरुका विरुद्ध जाहेरी दिनु भएको छ । फरार युवाहरुको खोजीमा हामी लागिरहेका छौं ।’

आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास भएको मानहुँकोटमा असुरक्षा बढ्दै गएको भन्ने गुनासो आउन थालेको हुँदा सरोकारवाला निकायसंग समन्वय गरी रातीको समयमा प्रहरीको एउटा टोली खटाउने तयारी भएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

मानहुँकोटमा अन्य दिनको तुलनामा विदाका दिन तथा शुक्रबार र शनिबार पर्यटकको बढी घुइँचो हुने गरेको छ । दसैंसंगै यहाँ पर्यटक पुग्ने क्रम बढेको छ । दसैंका बेला विद्यालय तथा कार्यालयहरू बिदा हुने भएकाले आन्तरिक पर्यटक घुम्नका लागि पुगेका छन् ।

यहाँबाट देखिने सूर्योदय, कुहिरो, उत्तरतर्फको हिमश्रृंखला, पहाडको तरेलीले पर्यटक लोभ्याउने गर्दछ । यो ठाउँ कोरोनाको समयदेखि चर्चामा आएको हो । यहाँको पर्यटन प्रवद्र्धन गरी स्थानीयको आयआर्जनसँग जोड्दै धेरै पर्यटक भित्र्याउने गरी व्यास नगरपालिकाले योजना बनाएको छ ।

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ नयाँ र आधुनिक होटल सञ्चालन हुन थालेका छन् । विगतमा एउटा पनि नरहेको यस ठाउँमा अहिले एक दर्जन बढी होटल सञ्चालित छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छभने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ निर्माण गरी व्यवस्थित गरिएको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने आन्तरिक पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः फर्किएर व्यवसाय गर्न थालेका छन् । यसअघि खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र गरिएको छ । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।

व्यास नगरपालिकाले मानहुँकोटमा पर्यटन प्रवद्र्धनमा आवश्यक पूर्वाधार बनाएसंगै अब तत्काल यहाँको सुरक्षाका लागि पनि आवश्यक पहल गर्नुपर्ने देखिन्छ । यस्तै, मानहुँकोटको पर्यटनसंग जोडिएका व्यवसायीहरुले पनि यहाँ आउने पर्यटकहरुलाई लक्षित गरी सम्बन्धित निकायसंग समन्वय गरी सुरक्षित वातावरण सृजना गर्नुपर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker