भानुका जनप्रतिनिधि, शिक्षक/कर्मचारीलाई आफ्ना छोरोछारी अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध

तनहुँको भानु नगरपालिकाले शैक्षिक सत्र २०८० देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गारउन अनुरोध गरेको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज पौडेलले एक सूचना जारी गर्दै नगर कार्यपालिकाको चैत्र २४ गतेको निर्णयानुसार नगरपालिकामा कार्यरत सरकारी कर्मचारी, जनप्रतिनिधिहरु, विद्यालयका शिक्षक/कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका छोरातोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा नै भर्न गराउन सूचित गरेका छन् ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले यो निर्णय गरेको भन्दै पौडेलले भने, ‘अहिले नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु भएको छ । यही भर्ना अभियानसंगै नगर कार्यपालिकाको निर्णयलाई कार्यान्वयन गराउन सूचना जारि गरिएको हो ।’

‘समयमै भर्ना समयमै ज्ञान ः गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ देशव्यापी रुपमा विद्यार्थी भर्ना अभियान तथा घलदैलो कार्यक्रम सञ्चालन भैरहेको छ । भानु नगर कार्यपालिकाले पनि सामुदायिक विद्यालयको सुधार तथा गुणस्तर अभिवृद्धि गरी राज्य र समुदायबाट भएको लगानीको सदुपयोग गर्न तथा नगर कार्यपालिकाको निर्णयलाई र्सार्थक तुल्याउनु हामी सबैको कर्तव्य भएको उनले बताए ।
‘विद्यालय शिक्षाको जगको रुपमा रहेको बालविकास केन्द्रलाई स्रोतपूर्ण, बालमैत्री र सिकाइमैत्री बनाई बालबालिकाको आकर्षण वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिक सत्र २०८० देखि प्रत्येक सामुदायिक विद्यालयका बाल विकास केन्द्र -शिशु कक्षा, नर्सरी, केजी कक्षामा) न्यूनतम् ३० जना वा सो भन्दा बढी बालबालिका भर्ना गरेमा एक एक बाल विकास केन्द्रको सहयोगी कार्यकर्ताको कोटा थप गर्ने नगर शिक्षा समितिले नीतिगत निर्णय गरेको छ’, नगर शिक्षा अधिकारी समेत रहेका पौडेलले भने, ‘सबै विद्यालयहरुलाई व्यापक रुपमा घरदैलो अभियान सञ्चालन गरी नेपाल सरकार र समुदायको तर्फाट बालबालिकाका लागि निःशुल्क प्रदान गरिदै आएका विभिन्न सुविधाहरुका बारेमा प्रचारप्रसार गर्न हामी लागि परेका छौ ।’
यस्तै, विद्यालय कक्षाकोठा तथा शिक्षण सिकाइ क्रियाकलापलाई थप बालमैत्री, सूचना प्रविधिमैत्री र बालकेन्द्रित बनाई विद्यालयलाई एक उत्कृष्ट सिकाइ गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता र ठोश पहलकदमीका साथ अभिभावकहरुको विश्वास आर्जन गर्ने खालका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नगरबासिलाई अनुरोध गरिएको छ ।
नयाँ शैक्षिक सत्रको शुरुवातदेखि नै कक्षाकोठा शिक्षण तथा प्राविधिक अनुगमन र सुपरीवेक्षणलाई सघन रुपमा अगाडि बढाउने प्रतिवद्धताका साथ आगामी शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वर्षो रुपमा विकास गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं नगर शिक्षा अधिकारी पौडेलले बताए ।










