शुक्लागण्डकीमा रड प्रहारबाट एकको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा शुक्रबार दिउँसो रड प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी अनुसार मृत्यु हुनेमा देवघाट गाउँपालिका-२ क्वादी घर भई हाल दुलेगौडा बस्दै आएका २४ वर्षीय विरम आले हुन् ।
आले दुलेगौडास्थित रिमाल अटो केयरमा काम गर्दथे । सोही अटो केयरमा काम गरिरहेको अवस्थामा सर्लाही गौरीशंकर नगरपालिका-५ वगरवा घर भई हाल दुलेगौडा बस्दै आएका २५ बर्षीय नबिनकुमार चौधरीले पछाडीबाट रडले आलेको टाउको समेतको भागमा हिर्काई घाइते बनाएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । घाइते आलेलाई तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचारपश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको खड्काले बताए ।
उक्त घटनामा संलग्न रहेका चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










