भानुमा चक्लाबन्दी कार्यक्रम सुरु
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले जग्गा चक्लाबन्दी कार्यक्रम सञ्चालन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग र भानु नगरपालिकाको सहकार्यमा भानु-४ को चुँदी कुमालगाउँमा चक्लाबन्दी कार्यक्रम सञ्चालन गरिएको हो ।
यहाँको करिब १७१ रोपनी क्षेत्रफलमा चक्लाबन्दी गर्न लागिएको वडा अध्यक्ष अर्जुनबहादुर बोहोराले बताए । जग्गा चक्लाबन्दी गरी कृषिमा आधुनिकीकरण गरौं, खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनौं भन्ने नारा सहित खमलटारी बडहरे कृषक समूहले जग्गा चक्लाबन्दीको कार्यक्रमलाई अगाडि बढाएको समूहका अध्यक्ष बिनोद ओझाले बताए ।
जग्गाको आली काँल्ला कम गरी आधुनिक प्रविधि भित्र्याइ कम लागतमा बढी भन्दा बढी उत्पादन लिने उद्देश्यले चुँदीफाँटमा चक्लाबन्दी कार्यक्रम शुरु गरिएको उपप्रमुख उमा गोतामेले बताइन । उनले भनिन्, ‘यो कार्यक्रम पश्चात प्रविधिको प्रयोग गरी कम लागतमा राम्रो प्रतिफल लिन सकिनेछ ।’
भानुको चुँदीफाँट, पुर्कोटको बडहरे फाँट, सतिघाट फाँट लगायतका फाँटहरुमा चक्लाबन्दी कार्यक्रम मार्फत थोरै लागतमा बढी उत्पादन लिने योजना सहित कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।