प्रतिकूलताबीच पौडेलसंग भिड्दै एमाले उम्मेवार राना

भञ्ज्याङ समाचारदाता/तनहुँ

२०४८ सालको निर्वाचनमै तनहुँ-१ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भिड्न ठीक्क परेका थिए, एकबहादुर राना । तर, त्यो मौका फुत्कियो । नेकपा (एमाले)बाट टिकट पाएका उनले चुनावी तालमेल हुँदा राष्ट्रिय जनमोर्चालाई छाड्नुपर्‍यो ।

अहिले सातौं पटक उठेका पौडेललाई रानाले पहिलो पटक चुनावी मैदानमा भेट्दैछन् । सामान्य पहिरन र शालीन स्वभावका उनको पनि पौडेलको जस्तै लामो राजनीतिक संघर्षको इतिहास छ । ‘राजनीतिका खाइखेली खग्गू’ पौडेलसँगको स्पर्धालाई आफ्नो पक्षमा पारेर इतिहास रच्न लालायित छन् उनी । तर, यो सहज भने छैन ।

एक त अहिले एमालेले विभाजनको असर खेपिरहेको छ । त्यसमाथि यो चुनावमा सत्तारुढ दलहरूले गठबन्धन गरेका छन् । र, कांग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धनतर्फका साझा उम्मेदवार छन् । स्थानीय तह चुनावको मतले पनि एमालेलाई गठबन्धन भन्दा कमजोर देखाएको छ ।

अघिल्लो चुनावमा माओवादीसँग मिलेर आफ्नो दलका कृष्ण कुमार श्रेष्ठ -किसान)लाई जिताएका एकबहादुर राना अहिले सत्ता गठबन्धनसँग एक्लै भिड्नुपरेको छ । माओवादीसहित पाँचदलीय गठबन्धनको चुनौती उनका लागि पहिलो प्रतिकूलता बनेको छ ।

६५ वर्षीय राना तत्कालीन नेकपा (माले)का संस्थापक केन्द्रीय सदस्य हुन् । पेशाले शिक्षक उनी २०३५ सालदेखि राजनीतिमा क्रियाशील छन् । २०४५ सालमा शिक्षकको १४ वर्षे जागिर छाडेर पार्टीको काममा पूर्णकालीन भएका थिए उनी ।

रानाले २०५१ सालको निर्वाचनमा तनहुँ-१ मा टिकट पाएका थिए, जहाँ वहालवाला शिक्षामन्त्री गोविन्दराज जोशी नेपाली कांग्रेसका उम्मेदवार थिए । रानालाई पहिलो गाँसमै ढुंगा लाग्यो । २०५६ सालको निर्वाचनमा जोशीका अगाडि राना कमजोर सावित भए ।

जोशीसँग रानाको तेस्रो भिडन्त २०६४ को चुनावमा पनि भयो । त्यतिबेला चाहिं जोशी र राना दुवै पराजित भए । नेकपा (माओवादी)का सुरेश आले मगर विजयी भएर पहिलो संविधानसभामा गए ।

२०७० र २०७४ को निर्वाचनमा एमालेले रानाको नाम समानुपातिक सूचीमा राख्यो, तर अन्तिमतिर । फेरि पनि उनी सांसद बन्न पाएनन् । यसपटक उनलाई त्यो मौका छ, तर अनुकूलताभन्दा बढी चुनौतीका बीचमा ।

गत स्थानीय तह निर्वाचनमा तनहुँ-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा पनि पौडेलको पार्टी कांग्रेस नै अगाडि छ । उक्त निर्वाचनमा कांग्रेसले ३३ हजार १०६, एमालेले २० हजार ८७९, माओवादी केन्द्रले ८ हजार १२४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ हजार ६३० र नेकपा (एकीकृत समाजवादी)ले ८९२ पाएका छन् ।

त्यस्तै, ३ हजार ९९२ मत स्वतन्त्र उम्मेदवारहरूको पक्षमा खसेको छ । यसअनुसार पनि प्रतिकूलतामा रहेका रानाले विजयी बन्न एमालेको मत जोगाउँदै राप्रपा, स्वतन्त्र र गठबन्धनको समेत उल्लेख्य संख्यामा भोट तान्नुपर्ने देखिन्छ ।

गठबन्धनको बलले ढुक्क रामचन्द्र

संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक-पटक मन्त्री र सभामुख समेत भइसकेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल जिन्दगीमा एकपटक प्रधानमन्त्री बन्न लालायित छन् । जिल्ला तनहुँ र निर्वाचन क्षेत्र नं. १ मा भने उनका घोषित ‘दुश्मन’ गोविन्दराज जोशी सधैं घातका लागि तयार अवस्था रहेका हुन्छन् । यसपटक पनि स्थिति उही छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेका जोशीलाई रामचन्द्रकै कारण आफ्नो राजनीतिक जीवनमा अवरोध आएको भन्ने छ । अघिल्लो चुनावमा पौडेल विरुद्ध उठेका उनको उम्मेदवारी पौडेल समूहकै उजुरीपछि खारेज भएको थियो । त्यसपछि जोशीले नेकपा (एमाले)का उम्मेदवार किसान श्रेष्ठलाई सघाएर पौडेललाई हराए ।

त्यसबापत कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी गरेको कारबाही फुकुवा नभएपछि जोशीले पौडेल विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । तनहुँ-१ मा यसपटक एमालेका एकबहादुर गुरुङ, जसपाका पासाङ थापा मगर, राप्रपाका विनोदकुमार घर्तीलगायत अन्य १४ जना पनि प्रतिस्पर्धामा छन् ।

२०७४ मा जोशीका कारण हारेका पौडेल यसपटक पहिलाको गल्ती नदोहोर्‍याउने र जोशीलाई आफ्नो जितको मेसो बनाउने रणनीतिमा छन् । ‘अघिल्लो निर्वाचनमा जोशीको उम्मेदवारी कायम हुन दिनुपर्ने रहेछ । खारेज भएपछि उनको समूहको मत किसान श्रेष्ठलाई गयो’ पौडेलले भने, ‘यसपालि जनताले तपाईंले जितेर देशको नेतृत्व गर्नर्ुपर्छ भनिरहेका छन् ।’

अघिल्लो निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेका थिए । यसपटक पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । जोशीपुत्र दीपकराज समेत लडेको गत स्थानीय तह निर्वाचनमा तनहुँ-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ ।

स्थानीय निर्वाचनको परिणामले पौडेललाई बलियो स्थितिमा देखाउँछ, तर ढुक्क हुने अवस्था छैन । स्थानीय चुनाव अघिदेखि नै रामचन्द्रलाई हराउन भन्दै मतदाताको घरदैलोमा पुगेका जोशीको उम्मेदवारी चुनौती बनेको छ । जोशी गृहमन्त्री बन्दा तनहुँका थुप्रैलाई सेना-प्रहरी र शिक्षा मन्त्री भएको बेला शिक्षकको जागिर लगाइदिएको चर्चा अहिले पनि हुन्छ ।

कांग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङ एमाले प्रवेश गरेर तनहुँ-१ (२) को उम्मेदवार बनेका छन् । उनले कांग्रेसको विशेषगरी जनजाति समुदायको भोट काट्ने सम्भावना छ । तनहुँ कांग्रेसका पूर्वजिल्ला सचिव विश्व बास्तोलाले पौडेलविरुद्ध दिएको उम्मेदवारी भने फिर्ता लिएका छन् ।

रामचन्द्र-गोविन्दराज दुश्मनी

तनहुँ, रिस्तीमा जन्मिएका पौडेल र रूपाकोटका जोशीबीच विद्यार्थीकालदेखि नै मिल्ती भएन । पञ्चायती व्यवस्था विरुद्धको सुरुवाती संघर्षकालमा पौडेलले बीपी कोइरालालगायत नेतासँग निकट भएर काम गरे । त्यसबाट उनको राजनीतिक जीवनमा लाभ पुग्ने भयो। बीपीले केन्द्रमा रामचन्द्रलाई जिम्मेवारी दिंदा जिल्लामा सक्रिय गोविन्दराजले असन्तुष्टि जनाउने गरेको पुराना कांग्रेसहरू बताउँछन् ।

नेविसंघको संस्थापक सदस्य भएका पौडेल २०४० सालमा केन्द्रीय प्रचार समिति संयोजक, पार्टीको केन्द्रीय सदस्यहुँदै २०४८ सालमा तनहुँ-१ बाट निर्वाचित भएर सांसद भए । स्ववियु सभापति, तरुण दल सदस्य, पार्टीको तनहुँ जिल्ला उपसभापति, तनहुँ बार एशोसिएसनको अध्यक्षहुँदै अगाडि बढेका जोशी पनि २०४८ मै तनहुँ-२ बाट निर्वाचित भएर संसदमा पुगेका थिए ।

स्थानीय विकास मन्त्री हुँदै रामचन्द्र पौडेल प्रतिनिधिसभामा सभामुख बने । जोशी पनि २०५१ सालमा शिक्षामन्त्री र २०५५ मा गृहमन्त्री भए । त्यसपछि सामान्य प्रशासन, जलस्रोत, स्थानीय विकासलगायतका मन्त्रालय सम्हाले। पौडेल पार्टी उपसभापति र सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापति बने । जोशी पार्टीको सह-महामन्त्रीसम्म भए । यी दुइ नेताको आन्तरिक लर्डाईंका लागि तनहुँ कांग्रेस भने विभाजित हुँदै गयो । पार्टीमा केन्द्रमा प्रभाव भएका पौडेल र जिल्लामा दह्रो बनेका जोशीबीचको एकअर्कालाई सिध्याउने खेलबाट टिकट बाँडफाँटमा पनि भाँडभैलो भयो ।

‘पौडेलप्रति सधैं असन्तुष्ट रहे जोशी, जोशीप्रति सधैं पूर्वाग्रही बने पौडेल’ तनहुँका एकजना पुराना कांग्रेस भन्छन्, ‘भ्रष्टाचार मुद्दा लागेपछि २०७० मा जोशीले टिकट पाएनन् । समानुपातिक सूचीमा रहेको नाम पनि काटियो ।’

त्यसबापत पौडेललाई हराउन दिलोज्यानले लागेका छन् जोशी । लाग्छ, उनको मिहिनेत आफ्नो जितभन्दा पौडेलको हारको लागि हो । गत स्थानीय तह निर्वाचनको नतिजा र सत्ता गठबन्धन भने पौडेलको दाहिना छन् ।

पौडेललाई जिल्लामै रोक्ने जोशीको प्रयास

नेपाली कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल र गोविन्दराज जोशीको पाँचदशक पुरानो सम्बन्ध कहिल्यै सहज भएन । २०२७ सालमा भद्रगोल जेलमा पौडेल र जोशी एक महिनाजति एउटै खाटमा सुते । २०३६ मा पोखरा र २०४२ मा गोरखा जेलमा पनि नौ-नौ महिना सँगै बसे । दमौली जेलमा पनि केही समय सँगै बिताए ।

खुला संसारमा भने दुइ नेताबीच कहिल्यै मिल्ती भएन । पाँच दशक लामो सहयात्रामा कृतघ्न सम्बन्धमा बसे । यो क्रमले यो चुनावसम्म पनि निरन्तरता पाएको छ । पौडेल र जोशीको टकरावले जिल्लामा कांग्रेसको जनाधार खस्किंदै गएकोमा तनहुँका कांग्रेस दुवैसँग निराश छन् । अब दुवै नेताले विश्राम नलिए ससम्मान बिदाइ समेत नहुने उनीहरू बताउँछन् ।

तनहुँको रूपाकोटमा जन्मिएका ७३ वर्षीय जोशी २०२४ सालमा गण्डकी विद्यार्थी मञ्चबाट राजनीतिमा आएका हुन् । त्रिभुवन मावि तनहुँको संस्थापक प्रधानाध्यापक उनी ६ वर्षसम्म स्वयंसेवी रहे । उनले आदिकवि भानुभक्त क्याम्पसमा पनि दुइ वर्ष स्वयंसेवी शिक्षण गरे । १२ वर्षको वकालती पेशामा उनी तनहुँ बार एशोसिएसनको अध्यक्ष र पश्चिमाञ्चल बारको उपाध्यक्ष पनि भए ।

राजनीतिक, सामाजिक र कानुनी कामको बलमा उनले मतदातासँग बलियो सम्बन्ध बनाए । २०४८ मा तनहुँ-२ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका जोशीले २०५१ मा तनहुँ-१ बाट विजयलाई निरन्तरता दिए । पौडेलले आफूलाई सधैं प्रतिकूल निर्वाचन क्षेत्रमा पठाउने गरेको उनको आरोप छ ।

जोशीले कार्यकारी जिम्मेवारीका पनि धेरै अवसर पाए । २०४८ देखि २०५१ सम्म शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्री बने । २०५५ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भए । गृहपछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाए ।

२०५६ मा तनहुँ-१ बाट निर्वाचित जोशी कृष्णप्रसाद भट्टराइ नेतृत्वको सरकारमा जलस्रोत मन्त्री भए । भट्टराइपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गृहमन्त्री भए । केही समयपछि मन्त्रिपरिषद् हेरफेर हुँदा स्थानीय विकासमन्त्री भए ।

२०५७ मा पोखरामा भएको कांग्रेसको १०औं महाधिवेशनबाट जोशी सहमहामन्त्री भए । भ्रष्टाचार मुद्दा लागेपछि भने उनी कांग्रेसबाट पाखा लाग्दै अहिले पार्टी सदस्यताविहीन छन् । र, उनको एकमात्र उद्देश्य तनहुँमा रामचन्द्र पौडेललाई हराउने । जोशीले यसबीचमा राजनीतिमा पुनःस्थापित हुन गरेका हरेक प्रयास असफल भए । पौडेलविरुद्ध २०७४ मा तनहुँ-१ मा बागी उम्मेदवार बनेपछि त उनीसँग कांग्रेसको साधारण सदस्य पनि रहेन ।

चुनावी अंकगणित

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एमाले)का किसान श्रेष्ठसँग कांग्रेसका वरिष्ठ नेता पौडेल करिब ७ हजार मतको फरकले हारे । २०४८ यता लगातार विजय हासिल गर्दै आएका पौडेलको त्यही नै पहिलो पराजय थियो । र, त्यसमा जोशीको ठूलो भूमिका थियो । यसपटक पौडेललाई सजिलो बनाउन नेकपा (एकीकृत समाजवादी)का श्रेष्ठलाई सत्ता गठबन्धनले बारा-४ पठाएको छ । र पनि जोशीले उम्मेदवारी दिएर पौडेललाई हैरान बनाइरहेका छन् ।

गत स्थानीय तह चुनावको नतिजा भने उनी अनुकूल छैन । तनहुँ-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले ३३ हजार १०६, एमालेले २२ हजार २१०, नेकपा (माओवादी केन्द्र)ले ८ हजार ४७४ र नेकपा (एकीकृत समाजवादी)ले ८९२ मत पाएको छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेका जोशी भने कांग्रेसका बागी उम्मेदवार छन् र उनको उद्देश्य पनि रामचन्द्र पौडेललाई हराउनमा केन्द्रित छ । अघिल्लो चुनावमा पौडेलविरुद्ध उठेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

त्यसपछि नेकपा (एमाले)का उम्मेदवार किसान श्रेष्ठलाई सघाएका उनी पौडेललाई हराउन सफल भएका थिए । त्यसबापत कांग्रेसको अनुशासन समितिले पाँच वर्ष पार्टी सदस्यसमेत नरहने गरी गरेको कारबाही फुकुवा भएको छैन । पटक-पटक मन्त्री बनेका जोशीले ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमा दोषी ठहर गरेको विशेषको फैसलाविरुद्ध जोशी सर्वोच्च अदालत गए । यो मुद्दाको अझै किनारा लागिसकेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker