तनहुँमा राष्ट्रिय परिचयपत्रसहितका सेवा अब टोकन प्रणालीबाट, मोबाइलबाटै पालोको जानकारी लिन सक्ने

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रसहित विभिन्न सेवा प्रवाहलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन टोकन प्रणाली लागू गर्ने भएको छ।
कार्यालयले साउन ३१ गते आइतबारदेखि राष्ट्रिय परिचयपत्र सेवामा नयाँ टोकन प्रणालीमार्फत सेवा प्रवाह गर्ने जनाएको छ। नयाँ व्यवस्थासँगै सेवाग्राहीले सेवा लिन लामो समयसम्म लाइनमा बस्नुपर्ने छैन। टोकन लिएपछि आफ्नो पालो नआएसम्म अन्यत्र बसेर वा आफ्नो काममा लागेर पालो कुर्न सकिनेछ।
सेवाग्राहीलाई उपलब्ध गराइने टोकनमा रहेको क्यूआर कोड (QR Code) स्क्यान गरी आफ्नो मोबाइलबाटै सेवाग्राहीको पालो कहाँसम्म पुगेको छ र आफ्नो पालो आए–नआएको जानकारी लिन सकिने व्यवस्था गरिएको छ। यसले सेवाग्राहीलाई कार्यालय परिसरमै लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता हटाउने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ १ गतेदेखि राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता तथा नयाँ नागरिकताको प्रतिलिपिसम्बन्धी सेवा समेत टोकन प्रणालीबाटै प्रवाह गरिनेछ।
राष्ट्रिय परिचयपत्र सेवा सार्वजनिक बिदाका दिनमा समेत सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ। टोकन प्रणाली कार्यान्वयनसँगै सेवा प्रवाहमा हुने भीडभाड र अव्यवस्था कम हुनुका साथै सेवाग्राहीको समयको बचत हुने अपेक्षा गरिएको छ।
नयाँ प्रणालीमा सेवाग्राहीले टोकनमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो पालोको अवस्थाबारे जानकारी लिन सक्ने भएकाले घरमै बसेर, बजारमा खाजा खाँदै वा अन्य काममा व्यस्त रहेकै अवस्थामा समेत आफ्नो पालो अनुगमन गर्न सक्नेछन्।










