सम्पादकीय : कृषिमा आत्मनिर्भर बन्न सम्भावनालाई यथार्थमा बदलौं

तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमले कृषि, पशुपालन तथा पर्यटनलाई समृद्धिको मेरुदण्डको रूपमा लिएको छ, जुन वर्तमान समयको आवश्यकता र नागरिकको अपेक्षासँग मेल खान्छ। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै क्रमशः आत्मनिर्भरता तर्फ उन्मुख हुने प्रयास नगरपालिकाको यथार्थबोध र जिम्मेवारीप्रतिको सचेततालाई देखाउँछ । भानुले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न तीन तहका सरकारहरूबीच समन्वय गर्दै सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । यस्तो सामूहिक दृष्टिकोणले कृषि उत्पादनमा विविधता र परिणाममा स्थायित्व ल्याउने निश्चित छ । नगरले बिउ–विजन, डाले घाँस, भुई घाँस तथा रैथाने वालीको संरक्षण र प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राख्नुको अर्थ हो– कृषिमा दीर्घकालीन सोच राखिएको छ । बीउबिजनको आत्मनिर्भरताले अन्य पालिकामा समेत निकासीको बाटो खोल्ने र कृषकलाई सशक्त बनाउने दिशामा ठोस पाइला चालिएको देखिन्छ ।
नगरले ल्याएको अर्को सकारात्मक योजना हो– प्राङ्गारिक तथा जैविक मलको उत्पादन र प्रयोगमा प्रोत्साहन। रासायनिक मलको दीर्घकालीन दुष्परिणामका कारण अहिले विश्व नै जैविक कृषिको बाटो रोजिरहेको छ। यस्तो सन्दर्भमा भानु नगरको नीति प्रासङ्गिक र समयानुकूल छ। त्यस्तै, जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि जलवायुमैत्री प्रविधिको प्रयोगलाई प्राथमिकता दिनु दूरदर्शी सोच हो। माटो परीक्षणका आधारमा पकेट क्षेत्र निर्धारण गरेर खाद्यान्न, तरकारी तथा फलफूल उत्पादन गर्नसक्ने भूभागको पहिचान गरी व्यवसायिक कृषिको खाका तयार गर्नुले उत्पादनमा गम्भीर ध्यान दिइएको देखिन्छ । भानुले उपयोगमा नरहेका बाँझो जमिनमा सहकारी तथा सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । अहिले ग्रामीण क्षेत्रका अधिकांश खेत उपयोगविहीन छन्, युवाशक्ति वैदेशिक रोजगारीमा गइसकेका छन् । त्यस्ता जमिनमा सहकारी वा युवाको समूह बनाएर व्यावसायिक खेती गर्न प्रेरित गर्नुले खेत पनि फिर्ता चल्नेछन्, रेमिट्यान्सको विकल्प पनि विकास हुनेछ। भूमिको चक्लाबन्दी प्रोत्साहन गर्नेमार्फत साना टुक्रे जग्गालाई उत्पादनशील बनाउन सकिन्छ । भूमि व्यवस्थापनले कृषि मेशिनरीको प्रयोग सहज बनाउने मात्र होइन, उत्पादन लागत घटाएर प्रतिस्पर्धी कृषि उपजको उत्पादन गर्न पनि मद्दत पु¥याउनेछ ।
अदुवा, बेसार, चिया, अलैंची लगायत निर्यातमुखी उत्पादनमा जोड दिँदै कृषिलाई पर्यटनसँग जोड्ने नीति पनि सराहनीय छ। तनहुँ पर्यटनको सम्भावनायुक्त जिल्ला हो, विशेषगरी भानु क्षेत्रका डाँडाकाँडा, ऐतिहासिक सम्पदा, प्रकृतिक दृश्यावलीका साथै कृषि बगैचाले पर्यटक तान्न सक्ने क्षमतायुक्त छन्। चिया वा अलैंचीका बगैचाबाट दृश्यावलोकन गर्न, फलफूल टिप्न, स्थानीय जीवनशैली बुझ्न चाहने पर्यटकहरूको आकांक्षा कृषि पर्यटनमार्फत पूरा गर्न सकिन्छ । हालसालै बाँदर आतंकले धेरै कृषकको बाली नष्ट भएको सन्दर्भलाई ध्यान दिँदै नगरपालिकाले वनभित्र फलफूलका बोट बिरुवा लगाएर बाँदरलाई वनमै राख्ने प्रयास गर्न लागेको छ। वन्यजन्तु संरक्षणको भावना राख्दै किसानको बालीको सुरक्षा गर्नु व्यवहारिक र सन्तुलित सोच हो। यसले मानवनिर्भर समाधानभन्दा जैविक सन्तुलनमार्फत दीर्घकालीन समाधान खोजिएको बुझाउँछ।
कृषिमा भविष्य खोज्ने युवालाई विद्यालय तहमै आकर्षित गर्न “पढ्दै कमाउँदै“ कार्यक्रम लागू गर्ने नीति अत्यन्तै अभिनव र प्रयोगात्मक छ। विद्यालय तहका विद्यार्थीलाई कृषि शिक्षा, अभ्यास र आयस्रोतमा जोड्न सकिने यो प्रयोगले दीर्घकालमा कृषिको सम्मान र सम्भावनालाई पुनःस्थापना गर्न सक्छ। युवालाई पुस्तकमै सीमित नराखी खेतमा लगेर उत्पादनसँग जोड्ने यस्तो नीति राष्ट्रिय तहमा पनि अनुकरणीय हुनसक्छ । कृषिजन्य उत्पादनको प्रमुख चुनौती भनेकै बजार व्यवस्थापन हो । यसलाई मध्यनजर गर्दै कृषि एम्बुलेन्सको व्यवस्था गर्ने भनिएको छ। यसले उत्पादनलाई शीघ्र तरिकाले बजारसम्म पु¥याउन मद्दत गर्नेछ । उत्पादकबाट उपभोक्तासम्मको दूरी घटाउन यस्तो प्रविधिमा आधारित पूर्वाधार निर्माणका साथै हाटबजार सञ्चालन कार्यलाई अगाडि बढाएको छ ।
भानु नगरपालिकाले प्रस्तुत गरेको कृषि केन्द्रित नीति तथा कार्यक्रमले यथार्थमा आधारित, व्यावसायिक सोचसहितको समावेशी दिशा दिन खोजेको छ। यस्ता कार्यक्रमले बढ्दो कृषि उपज आयात घटाएर स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्ने बाटो खोल्नेछ । तर, नीति मात्र पर्याप्त हुँदैन—योजना कार्यान्वयन र अनुगमनमा कडाइ र पारदर्शिता आवश्यक छ। बजेट विनियोजन, लक्षित समूहको पहिचान, सीप अभिवृद्धि र सहकारीहरूको चुस्त व्यवस्थापनमार्फत मात्र यी कार्यक्रम सफल हुनसक्छन् । भानुको कृषि नीति अब केवल कागजमा सीमित नरही, व्यवहारमा उतार्ने क्रममा जनप्रतिनिधि, कर्मचारी, किसान र सरोकारवाला सबैको सामूहिक प्रयत्न आवश्यक छ। यदि यी कार्यक्रमहरू यथार्थमा लागू गरिए भने, भानु आत्मनिर्भर कृषि नगरका रूपमा उदाहरणीय बन्न सक्नेछ ।










