भानुको खुल्ला तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम

भानु : तनहुँको भानु–१ भन्सारमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम भएको छ । प्रथम बने सँगै दिदीबहिनीले ३५ हजार रुपैयाँ नगद र प्रमाण–पत्र प्राप्त गरेको छ ।
भानु नगर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शनिबार भानु–१ भन्सारमा आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा गरमबास मोई समूह दमौली द्धितीय बनेको छ भने भानु हरियाली कृषक समूह र पूर्कोट ल्याण्ड स्टार बोर्डिङ स्कूल बाईसजाँगर तेस्रो भएका छन् ।
जनजागृति तालदेवी महिला समूह र पूर्कोट युनेस्को क्लबले सान्त्वना स्थान प्राप्त प्रतियोगितामा द्धितीय हुने समुहलाई २५ हजार रुपैयाँ, तृतीय हुने २ समुहलाई १०÷१० हजार रुपैयाँ, सान्त्वना हुने दुई समुहलाई ५÷५ हजार रुपैयाँ नगद र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । यस्तै, प्रतियोगितामा उत्कृष्ट नृत्य तर्फ चण्डेश्वरी आमा समूह भानु–४ तिलाहारकी सोनिका रानाभाटले ५ हजार प्रमाणपत्र प्रदान गरिएको छ ।
भानु महिला उद्यमी विकास समितिकी सभापति पुनम श्रेष्ठको अध्यक्षतामा आयोजित प्रतियोगिताको शुभारम्भ गर्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले देशको कला, सँस्कार सँस्कृति जगेर्ना गर्न नेपाली पर्वहरु कोशेढुँगा भएको भन्दै प्रतियोगिताले महिलाहरुमा नेतृत्व बिकास, आय आर्जन र सामूहिक सहकार्यमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख उमा गोतामेले गाउँघरमा भएका प्रतिभाहरुलाई प्रस्फुटन गराउँदै मौलिक कला संस्कृतिको संरक्षणका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको चर्चा गरिने । विशेष गरी महिलाहरुको पर्व हरितालिका तीजले महिलाहरुमा एकता, सिर्जनशिलता र उर्जा प्रदान गर्नुका साथै महिलाहरुको आय आर्जनमा टेवा पु¥याउन समेत मद्दत पुग्ने उनले बताइन् । उक्त प्र्रतियोगितामा २८ समुहका सहभागिता रहेको भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।
कर्यक्रममा भानु–१ की अध्यक्ष कान्छीमायाँ तामाङ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेशका पूर्व सदस्य मंगल प्रसाल श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघ तनहुँका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, रिलायबल नेपाल लाईफ ईन्सुरेन्स् शाखा कार्यालय दमौलीका शाखा प्रमुख जगदिश काफ्ले लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।