कार्यसम्पादन मूल्याङ्कनमा तनहुँका १० पालिका मध्ये भिमाद उत्कृष्ट, भानु कमजोर
भञ्ज्याङ न्यूज

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद नगरपालिका उत्कृष्ट भएको छ । आयोगले आर्थिक वर्ष२०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा भिमाद नगरपालिका उत्कृष्ट भएको हो ।
आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा भिमाद नगरपालिका प्रथम भएको हो । भिमाद नगरपालिकाले ७१ दशमलव ९२ अङ्क प्राप्त गरेको छ। भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले आयोगको सूचकका आधारमा नगरपालिकाले उत्कृष्टता हासिल गरेको बताए ।
कार्यसम्पादन मूल्याङ्कनमा आँबुखैरेनी गाउँपालिका तेस्रो भएको छ । आँबुखैरेनीले ६३ दशमलव ६१ अङ्क प्राप्त गरेको छ । त्यस्तै व्यास नगरपालिकाले ५७ दशमलव ९०, म्याग्दे गाउँपालिकाले ५६ दशमलव २०, ऋषिङ गाउँपालिकाले ५३ दशमलव ९७, बन्दीपुर गाउँपालिकाले ५२ दशमलव ८६, देवघाट गाउँपालिकाले ४९ दशमलव ९२, घिरिङ गाउँपालिकाले ४८ दशमलव ५८, शुक्लागण्डकी नगर पालिकाले ४५ दशमलव ८७ र भानु नगरपालिकाले ४५ दशमलव ६७ अङ्क प्राप्त गरेको छ ।
विसं २०७९ असार १० गतेभित्र आर्थिक वर्ष२०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेस गरे/नगरेकोलाई पहिलो सूचक बनाइएको छ । आर्थिक वर्ष२०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेकोलाई दोस्रो सूचक बनाइएको छ ।
स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिकरूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेकोलाई तेस्रो सूचक बनाइएको छ । स्थानीय तहले आर्थिक वर्ष२०८०/०८१ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेकोलाई चौथो सूचक बनाइएको छ ।
स्थानीय तहले आर्थिक वर्ष२०७८/०७९ को बजेट कार्यान्वयनको वाषिर्क समीक्षा गरी तत्तसम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र र्सार्वजनिक गरे/नगरेकोलाई पाँचौँ सूचक बनाइएको छ। आव २०७८/०७९ को राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आव २०७८/०७९ को यथार्थ राजस्व संकलन रकम, आव २०७७/०७८ को यथार्थ राजस्व संकलन रकम, आव २०७८/०७९ मा कुल विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत खर्च रकम, आव २०७७/०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे/नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे नगरेकोलाई सूचक बनाइएको छ ।
शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ८ सम्मको औसत खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा रहेका विद्यार्थी संख्या, शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा रहेका विद्यार्थी संख्या, शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी संख्या, आव २०७८/०७९ मा चारपटक गर्भजाँच गर्ने महिलाको संख्या, आव २०७८/०७९ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित संख्या, पूर्णखोप पाएका बालबालिकाको संख्यालाई सूचक बनाइएको छ ।










