सशस्त्र प्रहरीको सहयोगमा डढेलो नियन्त्रण

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको भानु नगरपालिका-४ स्थित आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल २३ नं मनकामना गणबाट खटिएको सशस्त्र प्रहरीको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको हो । प्रहरीले स्थानीयवासीसँग सहकार्य गरेर वनमा लागेको डढेलो नियन्त्रणमा लिएको हो । डढेलो नियन्त्रणका लागि गणका प्रहरी निरीक्षक तुलसीराम केसीको नेतृत्वमा ३७ जना प्रहरी खटिएको प्रहरी उपरीक्षक सञ्जय भट्टराइले जानकारी दिए । हिउँदे समय शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय तनहुँले स्थानीयस्तरमै पुगेर सचेतनामूलक कार्यक्रम अगाडि बढाएको छ ।

चैत वैशाखको समयमा वन जङ्गलमा अत्यधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको डिभिजन प्रमुखकोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिमसमेत गठन गरिएको छ ।

“यो समय भने जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौँ”, उनले भने, “डढेलो लागेको थाहा पाउनेबित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ ।” वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए । “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासंघ लगायतलाई आग्रह गरेका छौँ”, उनले भने, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।”

जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आ-आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० वटा स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन र छ धार्मिक वन रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker