अनुगमनमा दुर्व्यवहार गर्ने विरुद्ध प्रशासन कार्यालयबाट पाँच दिन म्याद थप

दमौली : तनहुँको व्यास नगरपालिका–३ तरकारी लाइनमा बुधबार अनुगमन गर्ने क्रममा दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तरकारी लाइनस्थित पिन्टु (काले) किराना पसलका सञ्चालकलाई पक्राउ गरी उनिहरु विरुद्ध पाँच दिनको म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले तीन जना विरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट अभद्र व्यवहारमा पाँच दिनको म्याद थप गरिएको जनाएको छ । प्रहरी नायब उपरिक्षक अशोक थापाका अनुसार जवाहित साह, मायादेवी साह र राजु साहलाई पाँच दिनको म्याद थप गरिएको छ ।
प्लाष्टिक झोला अनुगमनका क्रममा बुधबार व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई तथानाम गालीगलौच गर्ने उनीहरुलाई बिहीबार बिहान नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । बिहीबार नै सो पसल बन्द गराइएको छ ।
नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिंह नेपालीको नेतृत्वमा बुधबार प्लाष्टिक झोला अनुगमनका क्रममा पुगेको टोलीमाथि उनीहरुले दुर्व्यवहार गरेका थिए ।










