कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छ : पौडेल
भञ्ज्याङ समाचारदाता/आँबुखैरेनी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन्। तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको बताए ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै त्यसलाई खलबलाउने प्रयास भइरहेको दाबी गरे । ‘नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबलाउने कोसिस भइरहेको छ’, पौडेलले भने, ‘लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ ।’ उनले खराब व्यक्तिको हातमा सत्ता पुग्यो भने देश बर्बादीतर्फजाने भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै पौडेलले तनहुँको छिम्केश्वरीलाई पर्यटनको केन्द्रबिन्दु बनाउने बताए । उनले जिल्लाको सबैभन्दा उचाइमा अवस्थित छिम्केश्वरी धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ भएकाले यसको बृहत्तर विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।
छिम्केश्वरीको गुरुयोजना निर्माण गरेर यस ठाउँलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाइने छ’, उनले भने, ‘आँबुखैरेनी तनहुँ र गोरखाको केन्द्र हो, लमजुङ र मनाङको पनि प्रवेशविन्दु हो । गण्डकी प्रदेश छिर्ने नाका पनि हो, यसलाई नमूना बनाएर सन्देश दिनुपर्छ ।’










