“सुन्तलाबाटै बार्षिक २० लाख कमाउँछन् उपाध्यक्ष घिमिरे”
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-२ जोगीथुमका बालकृष्ण घिमिरेले सुन्तलाबाटै वार्षिक २० लाख रुपैयाँ बढि कमाउँदै आएका छन् । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष समेत रहेको घिमिरे देशमा उत्पादन र जीविकापार्जनका लागि वातावरण बनेन भन्ने युवाहरुको लागि गतिलो उदहारणका पात्रा समेत हुन् ।
२०५३ सालदेखि सुन्तला खेती गरेका घिमिरेले देशमा नै कृषिमा अपार सम्भावना रहेको बताउँछन् । उपाध्यक्ष घिमिरेको सुन्तला फर्ममा अहिले ८५० वटा सुन्तलाको बोटले उत्पादन दिन्छन् । म्याग्दे-२, जोगीथुम, कालीखोलामा ६० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका उपाध्यक्ष घिमिरेले यो वर्षमा २० लाख रुपैयाँ बराबरको सुन्तला बेचेका छन् ।
२०३५ सालमा नै कृषिको जेटीए अध्ययन गरेका घिमिरेले ८ वर्षसम्म शिक्षक पेशामा संलग्न बने । नेपाली कांग्रेसको नेता समेत रहेका घिमिरे २०४९ सालमा गाविस अध्यक्ष समेत बने । राजनीति र समाजसेवामा सक्रिय घिमिरेले २०५३ सालदेखि व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् ।
‘नेपालको हावापानी यति राम्रो र उर्वर छ, कि उत्पादन हुँदैन कि भन्ने चिन्ता छैन, हामीमा आत्माविश्वास र कामप्रति इमान्दार रहने हो भने आत्मनिर्भर बन्न कुनै गाह्रो छैन’, उपाध्यक्ष घिमिरेले भने, ‘यति राम्रो उर्वर भुमि छाडेर हामी भने मरुभुमिमा भविष्य खोजिरहेका छौ, यो भन्दा दुःखद् पक्ष के हुन सक्छ ?’
हामीमा समस्या भनेको काममा विश्वास नहुनु हो । घिमिरे भन्छन्, ‘परिश्रम नगर्ने तत्काल फल खोज्ने परिपाटीले हामी परनिर्भर बनेका छौ। अर्काको आलोचना गरेर नै जीवन अभ्यस्त गर्ने बानीले हामीलाई झनझन गरिवी बनाएको छ । जबसम्म उत्पादन र कर्ममा लाग्दैनौ, कसैले पनि सधै सित्तैमा दिदैन । विदेशमा गर्ने दुःख नेपालमा मात्र गर्ने हो भने नेपाल जस्तो र्स्वर्ग देश अन्त छैन ।’
जनताले तत्काल परिणाम खोज्ने परिपाटीले समग्र देशलाई नै असर गरेको बताउँदै घिमिरेले भने, ‘नकारात्मक प्रवृत्तिले हाम्रो मानसिकतामा जरा गाडेको छ । सकारात्मक सोच र कर्ममा तल्लिन हुने हो भने मासिक पचास हजार कमाउन विदेशिनु पर्दैन ।’

‘सुन्तला खेती गरेर आर्थिक रुपमा सवल त बनियो नै यसले मानसिक र आत्मिक रुपमा नै सन्तुष्टि दिएको छ’, उनले भने, ‘सुन्तला र्फममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, गर्वको महशुश हुन्छ । हरियाली र लटरम्म फलेका सुन्तला देख्दा गरे के हुँदो रहेनछ जस्तो लाग्छ ।’
‘सुन्तला खेती गर्न गाह्रो पनि छैन । वर्षमा ६ महिना यसको हेरचाह गर्ने हो भने वर्ष दिनलाई मनग्य आम्दानी दिन्छ’, उनले भने, ‘सुरुको तीन वर्ष यसको बढि रेखदेख गर्नु पर्दछ, अनि फल दिईसेकपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिन्छ । फेरी सरकारले कृषिलाई विभिन्न अनुदान समेत दिन्छ । केही गरेर आत्मनिर्भर बन्ने सोच भएका युवलाई सम्भावना असिमित छन् ।’
‘फर्ेममा आएर काम गर्दा फुर्तिलो र नविन सोचको विकास हुन्छ । जब शरिर फुर्तिलो बन्छ, सम्भावनाका ढोकाहरु खुल्दछन् । वर्षेनी २० लाखको सुन्तला विक्री गर्दै आएको छु’, उनले भने, ‘सुन्तला विक्रीका लागि कुनै समस्या छैन । देशभरबाट सुन्तला खरिदका लासग अग्रिम बुक गर्न आँउछन् । यति हो कि काममा निरन्तरता र धैर्य गर्न सक्नुपर्यो ।’
२०७४ सालको स्थानीय तहको निर्वाचनमा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष पदमा जित हासिल गरेका घिमिरे ०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि पुनः उपाध्यक्ष पदमै निर्वाचित भए । राजनीति र समाजसेवालाई सँगसँगै अगाडी लगेका उपाध्यक्ष घिमिरेले सुन्तला खेती बाहेक इट्टाभट्टाको कारखाना समेत खोलेर सयौलाई रोजगारी दिईरहेका छन् । उनले भने, ‘हाम्रो देशको समस्या भनेको वेरोजगारी हो, रोजगारी सिर्जना राज्यको मात्र दायित्व हैन, व्यक्ति आफै अग्रसर बन्नुपर्दछ ।’
पालिकाका उपाध्यक्ष भएर समेत युवाशक्तिलाई उत्पादन र कृषिमा लाग्न प्रेरित गरेता पनि त्यो सफल नभएकोमा उनि चिन्ता व्यक्त गर्छन। घिमिरे भन्छन्, ‘बिना कर्म सफल हुने मनसायले मस्तिष्कमा जरा गाडेको छ । कसैमा आश्रति हुने सोच जबसम्म रहन्छ तब सफल हुन सकिदैन । त्यसका लागि इच्छाशक्ति चाहिन्छ ।’
सुन्तला खेती अवलोकनका लागि विभिन्न स्थानबाट आएता पनि स्थानीय वासिन्दाले कृषिको महत्वलाई अझै नबुझेको घिमिरे बताउँछन् । राष्ट्रिय गाँउपालिकाको गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेर केन्द्रीय सदस्य समेत बनिसकेका घिमिरे देशलाई समृद्ध र आत्मानिर्भर बनाउने हो भने कृषि र उत्पादन बिना सम्भव नभएको बताउँछन् ।










