गण्डकीमा गाँजा खेती गर्न पाइने

गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक पारित

पोखरा : गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने कानुनी बाटो खुलेको छ । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकले ‘गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरेसँगै यसको व्यावसायिक उत्पादन र उपयोगका लागि कानुनी आधार तयार भएको हो ।

तर लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ३ ले गाँजा र औषधोपयोगी गाँजालाई समेत लागुऔषधको परिभाषाभित्र राखेको छ । ऐनको दफा ४ ले गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसारपसार गर्न, सञ्चय गर्न वा सेवन गर्न निषेध गरेको छ ।

विधेयकमाथि दफावार छलफलका लागि उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले प्रस्ताव प्रस्तुत गरेकी थिइन् । छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिंखडा र बिन्दु पौडेलले भाग लिँदै विधेयकका सबल र दुर्बल पक्षबारे धारणा राखेका थिए । सांसदहरूले उठाएका प्रश्न र जिज्ञासामाथि मन्त्री रिमालले स्पष्ट पारेपछि सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे ।

यसअघि प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बुधबार उक्त विधेयकको परिमार्जित प्रतिवेदन सदनमा पेस गरेका थिए । विधेयक पारित भएसँगै यसलाई प्रदेशको समृद्धिको ‘गेम चेन्जर’ योजनाका रूपमा हेरिएको सभापति अर्यालले बताए ।

नेपाल कानुन समाजलाई मस्यौदा तयार गर्न दिएर प्रारुप तयार पारिएको, विज्ञ रसंघ सरकारका सहसचिवस्तरका अधिकारीबीच छलफल गरेरै विधेयक तयार पारिएको उनको भनाइ छ । ‘संघ सरकारले पनि यससम्बन्धी ऐन बनाउन केही तयारी गरेको रहेछ । अहिले पनि बुढानिलकण्ठमा गाँजाबाट औषधि बनाउने उद्योग नै छ,’ उनले भने, ‘सर्वोच्चको नजिरले पनि गाँजा खेतीलाई रोकेको छैन । संघ सरकारसँग समन्वय गरेर जान सकिन्छ भन्नेमा छौं । संघ सरकार नै खिलापमा गयो भने कार्यान्वयन गर्न कठिन हुन्छ ।’

पारित विधेयकमा गाँजा खेतीलाई दुरुपयोग हुन नदिन र व्यवस्थित बनाउन कडा अन्तर्राष्ट्रिय मापदण्ड तय गरिएको छ । औद्योगिक प्रयोजनका लागि उत्पादन गरिने गाँजाको बोटमा नशालु पदार्थ ‘टेट्रा हाइड्रो क्यानिबिनोल’ (टीएचसी)को मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । औषधीय उत्पादन, अनुसन्धान र निर्यातका लागि गरिने यस्तो खेती पूर्ण रूपमा प्रदेश सरकारको प्रत्यक्ष निगरानी र नियन्त्रणमा रहनेछ । गाँजाको जरा, काण्ड, बोक्रालाई औद्योगिक प्रयोजनमा प्रयोग गर्ने भनिएको छ । सरकारले तोकेको निश्चित क्षेत्र र पूर्वसहमति प्राप्त जग्गाको क्षेत्रफलका आधारमा मात्रै अनुमतिपत्र (लाइसेन्स) लिएर खेती गर्न पाइने प्रावधान विधेयकमा छ ।

त्यसैगरी, उत्पादित गाँजाको बोट कटान र बिक्री वितरण गर्नुअघि अनिवार्य रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्रको साझेदारीमा प्रयोगशाला स्थापना गर्नेछ भने स्थापित शैक्षिक तथा अनुसन्धान संस्थाहरूलाई पनि परीक्षणको जिम्मेवारी दिन सकिनेछ ।

विधेयकमा गाँजाको सम्भावित दुरुपयोग र कुलत रोक्न विशेष व्यवस्था गरिएको छ । गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि चिकित्सा सेवासहितको उपचार केन्द्र र दुरुपयोग गर्नेहरूका लागि कानुनी कारबाहीका साथै पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने जिम्मेवारी सरकारलाई सुम्पिएको छ ।

यो विधेयकलाई अन्तिम रूप दिन संसदीय समितिले लामो समय गृहकार्य गरेको थियो । २८ कात्तिक ०८२ मा अर्थ तथा विकास समितिमा पठाइएको यस विधेयकमाथि ११ पटकसम्म बैठक बसेर व्यापक परिमार्जन गरिएको हो । २५ माघ ०८२ देखि १२ असारसम्म सरोकारवाला, मन्त्रालयका सचिवहरू तथा बागलुङ र म्याग्दीका गाउँपालिका अध्यक्षहरूसँग परामर्श गरिएको थियो ।

विधेयकलाई व्यवहारिक र वैज्ञानिक बनाउन प्रा.डा. पन्ना थापा, डा. गणेश ऐरी र डा. निर्मल लामिछानेलगायतका विशेषज्ञको राय समेटिएको समितिले जनाएको छ । ‘कुनै प्रदेश र संघले नबनाएको ऐन बनाएका छौं । भोलि अरुले बनाउँदा यसबाट सिक्न मिल्ने गरी बनाउनुपर्छ भनेर बनाएका छौं,’ समितिका सभापति अर्यालले भने, ‘सबै प्रक्रियाले बाँधेर गर्दा बाहिर समाजमा नकारात्मक प्रभाव पर्दैन भन्ने हाम्रो बुझाइ छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker