बन्दीपुर अस्पताल : सेवा लिन कार्यालय समय कुर्नुपर्ने बाध्यता हटाउँदै

नियमित समय कुर्नुपर्दैन, आधाभन्दा बढी सेवाग्राही अतिरिक्त समयमा

बन्दीपुर : स्वास्थ्य सेवा लिन कार्यालय समय कुर्नुपर्ने बाध्यता हटाउँदै बन्दीपुर अस्पतालले सञ्चालन गरेको विस्तारित ओपीडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । अस्पतालको पछिल्लो तथ्याङ्कले नियमित समयभन्दा बाहिर स्वास्थ्य सेवा लिने नागरिकको संख्या उल्लेख्य रहेको देखाएको छ ।

बन्दीपुर गाउँपालिकाअन्तर्गतको बन्दीपुर अस्पतालमा २०८२ वैशाख १ गतेदेखि सञ्चालन हुँदै आएको विस्तारित निःशुल्क ओपीडी सेवाअन्तर्गत गत साउन महिनामा ५० दशमलव २० प्रतिशत रहेको छ भने गएको भदौ महिनामा ५४ दशमलव ६० प्रतिशत सेवाग्राहीले बिहान, बेलुकी तथा सार्वजनिक बिदाका दिन सेवा लिएका छन् ।

एक महिनाको अवधिमा अतिरिक्त समयमा सेवा लिने सेवाग्राहीको हिस्सा ४.४ प्रतिशत बिन्दुले बढेको अस्पतालले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । अस्पतालले नियमित सेवासँगै बिहानदेखि बेलुकासम्म सेवा उपलब्ध गराउँदा कामकाजी नागरिक, विद्यार्थी, मजदुर, व्यवसायी तथा गृहिणीका लागि स्वास्थ्य सेवा लिन सहज भएको देखिन्छ ।

अस्पतालले हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अनिल गिरीले जानकारी गराए । उनका अनुसार सार्वजनिक बिदा तथा शनिबार र आइतबारका दिनसमेत सेवा निरन्तर रहने व्यवस्था गरिएको छ ।

नियमित कार्यालय समयमा अस्पताल पुग्न नसक्ने नागरिकलाई लक्षित गरी सुरु गरिएको विस्तारित सेवाले पछिल्लो समय अस्पतालको सेवा उपयोग गर्ने महत्वपूर्ण माध्यमको रूप लिँदै गएको तथ्याङ्कले पुष्टि गरेको छ ।

अस्पतालले कर्मचारी वर्ग, विद्यार्थी, ज्याला–मजदुरी गर्ने वर्ग, व्यापार–व्यवसायमा संलग्न नागरिक तथा गृहिणीलाई लक्षित गरेर सेवा समय विस्तार गरेको हो । यी वर्गका नागरिकलाई नियमित कार्यालय समयमा स्वास्थ्य संस्था पुग्न समय व्यवस्थापन गर्न कठिन हुने भएकाले बिहान र बेलुकाको समय तथा सार्वजनिक बिदाको दिन स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

अस्पतालको अभिलेखअनुसार गत साउनमा कुल सेवाग्राहीमध्ये ५०.२० प्रतिशतले अतिरिक्त समयमा सेवा लिएका थिए । भदौमा यो हिस्सा बढेर ५४.६० प्रतिशत पुगेको छ । अर्थात् अस्पतालमा उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने सेवाग्राहीमध्ये आधाभन्दा बढीले नियमित समयबाहेकको समयमा सेवा उपयोग गरेका छन् ।

यो तथ्याङ्कले स्वास्थ्य संस्थाको सेवा समय नागरिकको दैनिक कार्यतालिकासँग जोडिन थालेको देखाउँछ । काम, अध्ययन, व्यवसाय वा घरायसी जिम्मेवारीका कारण दिनको नियमित समयमा अस्पताल पुग्न नसक्ने नागरिकका लागि बिहान र बेलुकाको समय विकल्प बनेको छ । त्यस्तै, सार्वजनिक बिदाका दिनसमेत ओपीडी सञ्चालन हुँदा बिदाको दिनलाई स्वास्थ्य उपचारका लागि उपयोग गर्न सकिने अवस्था बनेको छ ।

विशेषगरी दैनिक ज्याला–मजदुरी गर्ने नागरिकका लागि काम छाडेर स्वास्थ्य संस्थामा जानु आर्थिक रूपमा समेत कठिन हुन सक्छ । व्यवसायी तथा कर्मचारीलाई पनि कार्यालय वा व्यवसायको समय छाडेर उपचार लिन सहज हुँदैन । विद्यार्थीका लागि अध्ययनको समय व्यवस्थापन गर्नुपर्ने हुन्छ भने गृहिणीका लागि घरायसी कामका कारण नियमित समयमा अस्पताल पुग्न कठिन हुन सक्छ । यस्ता वर्गलाई लक्षित गरेर अस्पतालले सेवा समय विस्तार गरेको डा. गिरी बताउँछन् ।

निःशुल्क ओपीडी सेवा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनुको अर्को महत्वपूर्ण पक्ष भनेको सार्वजनिक बिदा र सप्ताहन्तमा समेत सेवा उपलब्ध हुनु हो । स्वास्थ्य समस्या देखिएपछि नियमित कार्यालय खुल्ने दिन वा समय कुर्नुपर्ने अवस्था नहुँदा सेवाग्राहीले आफ्नो अनुकूल समयमा अस्पताल पुग्न सक्ने अवस्था बनेको छ ।

साउन र भदौ महिनाको तथ्याङ्कले विस्तारित सेवा समयको उपयोग क्रमशः बढ्दै गएको देखाए पनि दुई महिनाको तथ्याङ्कबाट दीर्घकालीन प्रवृत्तिबारे निष्कर्ष निकाल्न भने पर्याप्त आधार नहुन सक्छ । तर लगातार दुई महिनामा आधाभन्दा बढी सेवाग्राहीले अतिरिक्त समयमा सेवा लिनुले अस्पतालले तय गरेको विस्तारित सेवाको आवश्यकता र उपयोगिताबारे महत्वपूर्ण संकेत भने दिएको छ ।

स्वास्थ्य संस्थाको सेवा नागरिकको आवश्यकता र जीवनशैलीअनुकूल बनाउनुपर्ने बहस भइरहेका बेला बन्दीपुर अस्पतालको यो अभ्यास स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्य सेवामा समय व्यवस्थापनको एउटा उदाहरणका रूपमा देखिएको छ। स्वास्थ्य संस्था खुल्ने समय र सेवाग्राहीको दैनिक व्यस्तताको समय नमिल्दा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न सेवा समय विस्तार प्रभावकारी माध्यम बन्न सक्ने तथ्याङ्कले संकेत गरेको छ ।

अस्पतालले नियमित ओपीडीसँगै अतिरिक्त समयको सेवा सञ्चालनलाई निरन्तरता दिँदै आएको छ । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म हरेक दिन सेवा उपलब्ध हुने भएकाले सेवाग्राहीले आफ्नो सुविधाअनुसार अस्पतालमा पुगेर निःशुल्क ओपीडी सेवा लिन सक्नेछन् ।

बन्दीपुर अस्पतालको भदौ महिनाको तथ्याङ्कले एउटा स्पष्ट तस्वीर देखाएको छ– स्वास्थ्य सेवा लिन नागरिक अस्पतालको समयअनुसार मात्र होइन, आफ्नो समयअनुसार पनि अस्पताल पुग्न चाहन्छन् । अतिरिक्त समयमा सेवा लिने सेवाग्राहीको हिस्सा आधाभन्दा माथि पुग्नुले अस्पतालको सेवा समय विस्तारको आवश्यकता र नागरिकको उपयोगबीचको सम्बन्धलाई तथ्याङ्कमार्फत उजागर गरेको छ ।

अस्पतालको विशेषज्ञ चिकित्सकीय सेवा

अस्पतालले यही असोज महिनाको १७ गते शनिबार विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । अस्पतालले हाडजोर्नी तथा नशा रोग विेशषज्ञ सेवा, इन्टरनल मेडिसिन विशेषज्ञ -सुगर, प्रेसर, दम, मुटु रोगी, मृगौला तथा विविध दीर्घरोगीहरु एवं अन्य सेवाग्राहीहरुलाईं) उपचार सेवा प्रदान गर्ने भएको छ । यस्तै, असोज २४ गते शनिबार अस्पतालबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा र बालेरोग विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।

अस्पताले कात्तिक कहिनाको १४ गते शनिबार अस्पतालबाट रेडियोलोजिष्टद्वारा भिडियो एक्स–रे सेवा, नाक, कान तथा घाँटी रोग विशेषा सेवा, कात्र्तिक २१ गते शनिबार छाला तथा यौन रोग र मानसिक रोग विेशषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।

यस्तै, अस्पतालले विशेषज्ञ तथा चिकित्सकीय परामर्शलाई गाउँस्तरसम्म पु¥याउने उद्देश्यले असोज महिनामै पालिकाका विभिन्न वडामा रहेका आधारभूत स्वास्थ्य संस्थामार्फत स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गर्ने भएको छ । निर्धारित तालिकाअनुसार वडा नं. २ को कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा असोज १४ गते बुधबार र वडा नं. ५ को कल्चोक आधारभूत स्वास्थ्य सेवा केन्द्रमा असोज १६ गते शुक्रबार स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

त्यसैगरी, वडा नं. ६ को साराङघाट सहरी स्वास्थ्य सेवा केन्द्रमा असोज २० गते मंगलबार र सोही वडाको धरमपानी स्वास्थ्य चौकीमा असोज २१ गते बुधबार चिकित्सकीय परीक्षण तथा परामर्श सेवा सञ्चालन गरिनेछ ।

अस्पतालले विशेषज्ञ सेवा तथा चिकित्सकीय परामर्शलाई अस्पतालको पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीसम्म पु¥याउने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाएको छ । कार्यक्रम सञ्चालनका क्रममा प्राप्त हुने रचनात्मक तथा सकारात्मक सुझावका आधारमा अस्पतालका सेवाहरूलाई थप सेवाग्राहीमैत्री र प्रभावकारी बनाउँदै लैजाने प्रयास जारी रहने मेडिकल सुपरिटेन्डेन्ट डा. गिरीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker