रोटरी क्लव अफ दमौलीको २३औं पदस्थापना, अध्यक्षमा रमेशकुमार श्रेष्ठ
भञ्ज्याङन्यूज

रोटरी क्लब अफ दमौलीको २३औं पद हस्तान्तरण तथा सपथ ग्रहण गरिएको छ । क्लवले शनिबार दमौलीमा एक कार्यक्रमका बीच पदस्थापन गरेको हो ।
वर्ष २०२२/०२३ का अध्यक्ष रामलाल श्रेष्ठले वर्ष २०२३/०२४ का अध्यक्ष रमेशकुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा वर्ष २०२३/०२४ का पदाधिकारी तथा डाइरेक्टरलाई सपथ ग्रहण गराइएको थियो ।
अध्यक्ष श्रेष्ठलाई असिस्टेन्ट गभर्नर इश्वर प्रसाद कर्माचार्यले सपथ गराएका थिए भने अन्य पदाधिकारीलाई अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर नोमिनि बिनोद कोइरालाले विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले नेतृत्व गर्ने संस्था भएकाले रोटरीले समाजमा छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

समयको माग अनुसारका कार्यक्रमहरु ल्याउन सक्नुपर्ने बताउँदै उनले भने, ‘अहिले समाजमा मानसिक स्वास्थ, वातावरणीय प्रदुषण जस्ता विषय ठुला चुनौतीका रुपमा देखिएकाले त्यस्ता समस्या न्यूनीकरण र नियन्त्रणमा सहजिकरण गर्ने खालका कार्यक्रममा रोटरीले योगदान गर्न सक्नुपर्दछ ।’
पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले रोटरी क्लव अफ दमौलीले यस बर्षअगाडि सारेका योजनाको जानकारी दिँदै ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर, वातावरणीय सरसफाई, शिक्षा लगायतका कार्यक्रमलाई बढी प्राथमिकता दिने प्रतिवद्धता जनाए ।
सोही अवसरमा निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा रोटरी क्लब दमौलीका पूर्व अध्यक्ष तथा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेल, जोन १५का असिस्टेन्ट गभर्नर इश्वरप्रसाद कर्माचार्य, रिजन ४की ट्रेनिङ कोआर्डिनेटर लक्ष्मी थापा गिरी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, रोटरी क्लब अफ गोरखाका अध्यक्ष ज्ञानहरी अर्याल, क्लबकी प्रेसिडेन्ट नोमिनि बिणा कैनी, प्रेसिडेन्ट इलेक्ट जीवनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष दामोदर भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, क्लवले उक्त अवसरमा रोटरी क्लब अफ दमौलीको नियमित प्रकाशन रोटरी कोसेलीको विमोचन गरिएको थियो ।










