साउदीमा मृत्युदण्ड पर्खिरहेका तनहुँ ढोरफिर्दीका साहिल, राजनीतिक तहबाट हुने सहयोग नपाएको परिवारको गुनासो
सम्झना रसाइली/तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका तुलबहादुर विक संयुक्त अरब इमिरेट्स (यूएई)मा पसिना बगाइरहेका थिए । एक दिन जेठा छोरा साहिलले उनलाई फोनमा भने, ‘बुबा, तपाई धेरै वर्ष खाडीमा बस्नुभयो । फर्किनुस् । घरपरिवार हेर्ने जिम्मेवारी मेरो भयो ।’ त्यति बेला साहिल कक्षा ११ मा पढ्दै थिए ।
तुलबहादुर नफर्कंदै साहिल साउदी अरबको राष्ट्रिय कृषि विकास कम्पनी (नादेक)मा ड्राइभर र सेल्सम्यान लागि छनोट भए । चार दशकदेखि कृषि उत्पादन गरिरहेको यो कम्पनी साउदीको स्टक बजारमा सूचीवद्ध हुने पहिलो कृषि कम्पनी थियो । हवाई टिकट, भिसा, स्वास्थ्य परीक्षणदेखि म्यानपावर कम्पनीलाई बुझाउनुपर्ने सबै शुल्कको जिम्मेवारी नादेकले नै लिएको थियो ।
उनको न्यनूतम तलब नै १२ सय रियाल थियो । जबकि करिब डेढ दशकदेखि खाडी मुलुकमा काम गरिरहेका तुलबहादुरले न्यूनतम तलब १ हजार पाउँथे । छोराले राम्रो काम पाएपछि तुलबहादुर नेपाल फर्किए र घरमा श्रीमती, छोरी र कान्छा छोरासँग बस्न थाले ।
साहिलले हरेक महिनाजस्तो ७०÷८० हजार रुपैयाँ पठाइरहेका हुन्थे । उनकै कमाइबाट तुलबहादुरले छोरीको विवाह गरिदिए । ९ लाख ऋण थपेर भए पनि घर बनाए । साहिल परिवारसँग नियमितजसो कुराकानी गरिरहन्थे । तर उनी एकाएक सम्पर्क विहीन भए । लामो समयसम्म कुरा नभएपछि तुलबहादुरले साहिलसँगै काम गर्ने भक्तनारायण श्रेष्ठसँग सम्पर्क गरे । उनले फेसबुक मेसेन्जरमा सोधे, ‘साहिलसँग कुरा नभएको धेरै दिन भयो । फोन पनि अफ छ । कता गयो ?’
उताबाट ढिला गरी जवाफ आयो, ‘साहिललाई प्रहरीले पक्रेर लिएर गएको छ । उसले आफ्नै हाकिमको हत्या ग¥यो ।’ यो खबरले परिवार स्तब्ध भयो । श्रीमती पार्वती त बेहोस नै भइन् । तुलबहादुरको त ओठतालु नै सुक्यो । किनकि ‘खुनको बदला खुन’ अर्थात् ज्यानको बदला ज्यान साउदीको सरिया कानुनबारे उनी जानकार थिए ।
३ महिनापछि २०२० जनवरीमा तुलबहादुरलाई साहिलको फोन आयो । छोरासँग लामो कुरा गर्ने मन थियो, तर सकेनन् । ‘साइबर अपराध गरेकाले हत्या हुन गयो । मैले जानेर गरेको होइन भन्यो,’ तुलबहादुरले भने, ‘जेलभित्र भएका मान्छेलाई मैले कराउने कुरा भएन । आफ्नो स्वास्थ्य ख्याल गर्नु भनेर सम्झाएँ ।’
२०१९ अक्टोबर ८, मंगलबार बिहानैदेखि साहिल र उनका म्यानेजर अब्दुल अयाज (भारतीय) बीच विवाद भयो । कारण थियो, फेसबुकमा अपलोड भएका साहिलका अनौपचारिक तस्बिर र भिडियो ।

साउदीको अल–खोर्मा क्षेत्रस्थित अल–अरबाइन स्ट्रिटमा साहिल र अयाज एउटै क्याम्पमा बस्थे । कोठा भने अलग–अलग थियो । आफ्नो तस्बिर र भिडियो फेसबुकमा देखेपछि साहिल अयाजको कोठामा गए । साहिलको बुझाइमा अयाजले नै ती सामग्री फेसबुकमा अपलोड गरेका थिए । दुईबीच एकछिन् भनाभन चल्यो । त्यही भनाभन बढ्दै जाँदा साहिलले अयाजमाथि चक्कु प्रहार गरे । र, अयाजको मृत्यु भयो ।
‘आयजले मेरो फेसबुक अकाउन्टमा अश्लील तस्बिर पोस्ट गरिदियो । यसबारे कुरा गर्न म उसको कोठामा जाँदा भनाभन भयो । उसले मलाई हात हालेर धकेलिदियो,’ साहिलले प्रहरीसमक्ष दिएको बयानमा भनेका छन्, ‘आवेशमा आएर भान्सामा रहेको चक्कुले उसलाई प्रहार गरिदिएँ ।’
साहिल आफैंले प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए । प्रहरी पुग्दा साहिल आयजको मृत शरीरनजिकै बसिरहेका थिए । फिलिपिनो र नेपाली सहकर्मीले पनि साहिलबाट हत्या भएको साविती बयान दिए । यही बयान साहिलले तनहुँमा रहेको बुबा–आमालाई पनि सुनाए ।
साउदी अरबमा सार्वजनिक र निजी कानुन अभ्यासमा छ । सार्वजनिक कानुनअनुसार हत्याको अभियोग पुष्टि भए सिधै मृत्युदण्डको सजाय सुनाइन्छ । निजी कानुनमा भने अन्तिम निर्णय गर्ने अधिकार पीडित परिवारमा रहने व्यवस्था छ । पीडित परिवारले ‘ब्लडमनि’ लिई माफी दिएको खण्डमा दोषीले जीवनदान पाउँछन् । ‘ब्लडमनि’ बापत २ लाख रियाल (करिब ७२ लाख रुपैयाँ) तिर्नुपर्छ । पीडक र पीडित परिवारबीचको सहमतिमा यो रकम तलमाथि हुन सक्छ ।
पीडितको पक्षका प्रतिनिधि मोहम्मद शेख माही अब्दुल हफिजले पूर्णरूपमा निजी अधिकार प्रयोग गर्न माग गरे । त्यसपछि स्थानीय अदालतले त्यहाँको विदेश मन्त्रालयमार्फत भारतको हैदराबादमा रहेको पीडित परिवारको धारणा माग्यो । अयाजकी पत्नी जविना बेगमले ‘ब्लडमनि’ अस्वीकार गरिन् । हफिजको नाममा अख्तियारनामा पठाउँदै भनिन्, ‘हामी आफ्नो कुरा राख्न साउदी अरब आउन सक्दैनौं । हामीलाई ब्लडमनिमा कुनै चासो छैन । पीडक सजायको भागिदार हुनुपर्छ ।’
२०२१ सेप्टेम्बर अगाडि नै जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयले ताहिफस्थित अपराध अदालतको सातौं सुनुवाइ हुनु अगाडि नै पीडित परिवारसँग सम्र्पक गरी आममाफीका लागि प्रयास गर्न दिल्लीस्थित नेपाली दूतावासबाट थप पहल हुनुपर्ने भन्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो ।
अयाजको परिवारले ‘ब्लडमनि’ लिन अस्वीकार गरेपछि उपलब्ध प्रमाण, साहिलको स्वीकारोक्ति र पीडित परिवारको चाहनाबमोजिम साउदीको तल्लो अदालतले २०२१ नोभेम्बर १५ मा साहिललाई मृत्युदण्ड हुने फैसला सुनायो । यसलाई मक्का क्षेत्रस्थित पुनरावेदन अदालतले २०२२ फेब्रुअरी २ तारिखमा सदर ग¥यो । यसबीचमा पनि पीडित परिवारलाई भेट्न कोही पुगेन । महावाणिज्य दूतको कार्यालयले मुद्दा सर्वोच्च अदालतसम्म पु¥यायो ।
सर्वोच्चले पनि गत अप्रिल ४ मा मृत्युदण्डको फैसला सदर गरिदियो । त्यो फैसलाको जानकारी नेपाली महावाणिज्य दूतको कार्यालयले गत जुनमा साहिलका परिवारलाई दिएको थियो। ‘साहिललाई मृत्युदण्डको सजाय सुनाइएको छ । कहिले र कहाँ मृत्युदण्ड हुन्छ, थाहा छैन,’ तुलबहादुरले भने ।
साहिललाई मृत्युदण्ड सजाय तोकिएको थाहा पाएपछि तुलबहादुर छोराको जीवन रक्षाका लागि धेरै पटक काठमाडौं र पोखरा धाए, नेताहरूको दैलोदैलो पुगे । काठमाडौंस्थित भारतीय दूतावासमा पनि निवेदन दिए । ‘राष्ट्रपति रामचन्द्र पौडेल र स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेर पीडित पक्षसँग छलफल गराइदिने वातावरण बनाउन अनुनय–विननय गरेँ’ उनले भने, ‘दूतावासबाट हुने काम भयो । तर राजनीतिक तहबाट हुने सहयोग पाइएन ।’
हैदारबादमा रहेको पीडित परिवारसँग भेटेरै माफी माग्नका लागि आवश्यक सहयोग नमिलेको तुलबहादुरको गुनासो छ । ‘एउटा परिस्थितिमा घटना घट्यो । छोरा ६ वर्षदेखि जेलमै बसिरहेको छ । यस्तै घटनामा कति जनाले ‘ब्लडमनि’ दिएर माफी पाएका छन् । छोराको केसमा पनि भारतमा रहेको पीडित परिवारसम्म पुग्ने अवस्था भइदिए हुन्थ्यो । त्यहाँसम्म पुग्नै सकिएन,’ उनले भने ।
तुलबहादुर रोजगारीका लागि सन् २००१ मा साउदी अरब गएका थिए । त्यहाँभन्दा अझै राम्रो कमाइ हुने देखेर कतार छिरेका थिए । त्यसपछि यूएई गएका थिए । साउदी पुगेका छोराले पनि कमाउन थालेपछि तुलबहादुर घर फर्किएका थिए । छोरा जेल परेपछि भने पारिवारिक जिम्मेवारीले ५१ वर्षीय तुलबहादुरलाई फेरि वैदेशिक रोजगारीमा धकेल्यो ।
परिवारकै खर्च धान्न १ वर्षअघि माल्दिभ्स पुगे । तुलबहादुर माल्दिभ्स गएदेखि छोरालाई जेलबाट छुटाउन सकिन्छ कि भनेर आमा पार्वती नेतादेखि सरकारी निकायमा धाइरहेकी छन् । पार्वतीलाई नेपाल दलित संघ तनहुँका अध्यक्ष भरत लामगादे र गणेश लामगादेले पनि साथ दिइरहेका छन् । ‘२६ वर्षको छोरा जेलमा मृत्युदण्डको सजाय सुनेर बसेको छ । ३ महिनायता कुरा भएको छैन,’ आमा पार्वतीले भनिन्, ‘उसलाई बचाउन पाए हुन्थ्यो । बरु जति वर्ष जेलमा राखे पनि हुन्थ्यो । के दशा आइप¥यो !’
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार साहिललाई ताहिफ जेलबाट जेद्दामा सारिएको बताए । ‘साहिलको जीवनरक्षाका लागि निरन्तर कूटनीतिक पहल भइरहेको छ । माफीका लागि दिल्लीस्थ्ति दूतावासबाट पनि पहल भयो,’ उनले भने, ‘तर पीडित परिवार माफीका लागि सहमतिमै आउन चाहेन ।’ नेपाली महावाणिज्य दूतको कार्यालयले साहिलको पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि जेल प्रशासनसँग जेल भ्रमणको अनुमति मागेको छ ।