भट्टराइको स्मृतिमा पत्रकारिता अक्षयकोष स्थापना
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-३ निवासी स्व. हरिभक्त भट्टराइको स्मृतिमा उनका परिवारले अक्षयकोष स्थापना गरेका छन् । स्व. भट्टराइका धर्मपत्नी सीता भट्टराइ, छोराहरु उत्तम र सुमन, बुहारीहरु इश्वरी र यमुना भट्टराइ तथा छोरी मञ्जु केसीले बुवाको स्मृति दिवसको दिन पारेर नेपाल पत्रकार महासंघमा एक लाख दश हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेको उपस्थितिमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई छोरा सुमन भट्टराइ र बुहारी यमुना भट्टराइ हस्तान्तरण गरे ।
सुनमनले भने, ‘बुबा समाजसेवामा लागिरहनुभएको अवस्थामा नै स्वर्गवास हुनुभयो । त्यसैले जीवन्त रहने पत्रकारिता पेशालाई प्रोत्साहन गर्ने लक्ष्य सहित अक्षयकोष स्थापना गरेका हौं ।’ पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने गरी भट्टराइ परिवारले अक्षयकोष स्थापनार्थ उक्त रकम प्रदान गरेको शाखा अध्यक्ष पौडेलले बताए । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताए ।










