सडक स्तरोन्नतिका लागि व्यासलाई ७५ करोड, शुक्लागण्डकीलाई ५९ करोड रुपैंया सहयोग
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले सडकको स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त गरेका छन् । विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा व्यासले ७५ करोड ३ लाख रुपैयाँ र शुक्लागण्डकीले ५९ करोड रुपैयाँको योजना सञ्चालनका लागि सहयोग सम्झौता गरेका छन् । व्यास नगरपालिकाका ३ वटा मुख्य सडकको स्तरोन्नतिका लागि ७५ करोड ३ लाख रुपैंया सहयोग प्राप्त हुने गरी नेपाल सरकार र विश्व बैंकविच सम्झौता भए अनुसार उक्त सडकहरुका लागि उक्त सहयोग प्राप्त हुने बताइएको छ ।
सहयोग सम्बन्धमा व्यास नगरपालिका र नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना विच शुक्रबार काठमाण्डौमा सम्झौता भएको छ । सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख बैंकुण्ठ न्यौपानेले हस्ताक्षर गरेका छन् ।
उक्त सडक अन्तरगत घाँसीकुवा, फराकचौर, माझँफाट, कलेस्ती हुँदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनिटार, चिन्तुटार, मादिवेशी, शेखटार हुँदै शिशाघाट जोडिने मार्ग र केशवटार, कुलुङ, छाब्दी, कर्लुङ हुँदै छिर्कने निस्कने मार्गको स्तरिकरण (कालोपत्रे) गर्ने कार्यक्रम रहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी गराएका छन् ।
यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिकामा ५९ करोड रुपैयाँको योजना सञ्चालन हुने गरी सम्झौता भएको छ । नगरपालिकाका तर्फाट नगरप्रमुख किसान गुरुङ र शहरी विकास भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सम्झोतापत्रमा हस्ताक्षर गरेका थिए । आयोजनामार्फत प्राप्त रकमले शुक्लागण्डकीका ग्रामीण भेगका सडक निर्माण तथा सुधार गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले दुलेगौंंडा लामागाउँ मोटरमार्ग, थप्रेक मोटरमार्ग र तिनखोले बयाम भुजिकोट मोटरमार्ग निर्माणमा उक्त रकम लगानि गरिने भएको छ ।
योजना अन्तरगत लैङ्गकि समानता लगायत पूर्वाधार निर्माण र शासकीय सुधारका विषयमा पनि कार्यक्रम गरिनेछ । हाल वहाल रहेका जनप्रतिनिधिहरु निर्वाचित हुने बित्तिकै नेपाल सरकार र विश्व बैंकविच सम्झौता भएअनुसार काम अगाडी बढ्नुपर्नेमा कोभिड लगायत विविध कारणले नगरपालिकासंगको सम्झौता ढीलो हुन पुगेको बताइएको छ ।
शुक्रबार देशभरका ३३ नगरपालिकासंग आयोजनाका तर्फबाट सम्झौता गरिएकोमा आयोजनाका तर्फाट करिब १४ अर्व रुपैयाँ बजेटमा यो कार्यक्रम सञ्चालन हुदैछ । गण्डकी प्रदेशका पोखरा महानगरपालिका सहित व्यास, शुक्ला, बाग्लुङ र स्याङ्जाको पुतलिबजार नगरपालिकासंग सम्झौता गरिएको छ । योजना सम्पन्न गर्ने अबधि ५ वर्षको रहने बताइएको छ ।
आयोजनाले व्यास नगरपालिकाको ग्रामिण र शहरी क्षेत्रलाई पर्यटनका माध्यमबाट विस्तार गर्ने कार्यलाई सहयोग पुर्याउने छ । मादी उपत्यकाको वारीपारी क्षेत्र तथा छाब्दी, कुलुङ पर्यटन क्षेत्रको विकास हुने पनि व्यास नगरपालिकाले लक्ष्य लिएको छ ।
शहरी क्षेत्रमा जनघनत्व बढ्दै गइरहेको र बसाइसराइको त्रि्रता आइरहेको अबस्थामा यो योजना सम्पन्न भएपछी गाँउ छोडि शहर जानेक्रम रोकिने अपेक्षा गरिएको छ । आयोजनाको कार्यान्वयनको चरणमा बृहत शहर विकास अभियान अन्तरगत स्याङ्जा, पोखरा, शुक्लागण्डकी र व्यास क्षेत्रलाई शहरी क्षेत्रमा विकसित गर्न सम्बन्धित मन्त्रालय र विभागले प्राथमिकतामा पनि राखेको छ ।










