भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह

 काठमाडौ । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन ।

‘अहिलेको प्रणालीको प्रकृति हेर्दा गत बिहीबार भएको वर्षा र हिमपात जस्तै हुने देखिन्छ, तर तराई मधेशमा भने गाह्रो छ । भइहालेछ भने कतैकतै छिटपुटमात्र होला’, मौसमविद झाले भने ।

अहिले नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ । पानी र हिउँ पार्ने प्रणाली पश्चिम क्षेत्रमा शनिबार नै भित्रिसकेको छ । त्यो विस्तारै फैलिँदै जाने छ र बदली, वर्षा र हिमपात हुने छ ।

यसको असर सोमबारसम्म देखिने छ । सोमबार साँझदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद झाले जानकारी दिए ।

जनजीवन प्रभावित हुने

वर्षा र हिमपात ल्याउने मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्ने छ । चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्ने सम्भावना छ । त्यसैले सतर्कता अपनाउन महाशाखाका मौसमविदले आग्रह गरेका छन् ।

तापक्रम घटेर चिसो हुने क्रम शनिबारदेखि नै सुरु भइसकेको छ । जुम्लामा सबैभन्दा कम माइनस ६, जोमसोममा माइनस ५ र जिरीमा माइनस २ डिग्री सेल्सियस छ ।

शनिबार साँझ पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको छ । न्यूनतम तापक्रम सबैभन्दा धेरै जनकपुरमा १० डिग्री सेल्सियस छ ।

यसअघि १८ माघमा पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा समेत वर्षा र हिमपात भएको थियो । सोही दिन मौसमविदले शनिबार घाम लाग्ने र आइतबार फेरि वर्षा र हिमपात हुने प्रक्षेपण गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker