दमौलीमा पाँचौ आदिवासी जनजाति महोत्सवको तयारी अन्तिम चरणमा
भञ्ज्याङ समाचारदाता/दमौली

आदिवासी जनजाति महासंघ तनहुँको आगामि शुक्रबारदेखि सञ्चालन गर्न लागेको पाँचौ आदिवासी जनजाति तथा सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुर्याएको छ ।
व्यास-३ विपीवनवाटिकामा सञ्चालन गरिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सवका प्रवक्ता नन्दु थापाले बताए । उनका अनुसार महोत्सव स्थलमा स्टल निर्माण कार्य अन्तिम चरणमा पुगेको र रमाईलो मेला पनि जडान कार्य सुरु भएको छ ।
उनले भने, ‘महोत्सव स्थलमा स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको, ९० प्रतिशत स्टलहरु पनि बुकिङ भइसकेको छ । महोत्सवमा आउने कलाकालहरुको पनि टुङ्गो लागि सकेको छ भने प्रचारप्रसारलाई तीव्रता दिइएको छ ।’
महोत्सवका मूल संयोजक एवं महासंघका अध्यक्ष सुजित हिराचनले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको बताए । ६५ प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासंघले नै गरेको थियो । विसं २०६५ सालमा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबर्द्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार मुख्य आकर्षणको रुपमा रहेको महोत्सवका निर्देशक वषुन्धरा घर्तीले बताइन् ।










