भानु नगरपालिकाको कृषि उत्पादन र पशुपालनमा जोड, तीन वर्षभन्दा बढि कृषियोग्य जमिन बाँझिएमा अन्यलाई अनुदानमा दिने

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले विकासको मूल आधार कृषि र पशुपालनलाई लिइएको छ । परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई सामुहिक र सहकारीमा आधारित प्रणालीमा प्रतिस्थापन गरी स्वरोजगारको सिर्जना गर्नुपर्ने आवश्यकता औलाउँदै नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

नगरको आर्थिक समृद्धिको प्रमुख स्रोत कृषि नै भएको र पर्यटन क्षेत्रको पूर्वाधार, साना तथा लघु उद्यम विकास मार्फत आत्मनिर्भर हुन सकिन्छ भन्ने कुरामा जोड दिदै आर्थिक विकास गर्ने नीति अगाडि ल्याएको छ । नगरपालिकाले कृषियोग्य जमिन तीन वर्ष भन्दा बढी समयसम्म बाँझो रहेको अवस्थामा कृषि उत्पादन गर्नको निमित्त आवाश्यक कागजपत्र एवं कार्यविधिको आधारमा संघ तथा प्रदेश सरकारसंग आवश्यक समन्वय गरी प्रत्यक्ष अनुदान उपलब्ध गराउने नीति लिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।

‘कृषिजन्य उत्पादन तथा पशुपालनका पकेट क्षेत्र पहिचान गरी पाइलट प्रोजेक्टका रुपमा सामुहिक तथा व्यवसायिक कृषि उत्पादनमा आधारित कार्यकमलाई जोड दिएका छौ’, उनले भने, ‘गत आर्थिक वर्षमा शुरू गरिएको चाक्लाबन्दी अभ्यासलाई आत्मसात गरी अन्य सम्भावित स्थानको पहिचान गरी प्रदेश सरकारको समन्वयमा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिनुका साथै कृषकको मनोवल वृद्धि गर्ने खालका कार्यक्रम संचालन गर्नेछौ ।’

कृषकहरुको उत्पादनलाई प्रोत्साहन गर्न तथा उपभोक्ताहरुलाई गुणस्तरीय कृषि उपज उपलब्ध गराउन कृषि बजार सञ्चालनको प्रबन्ध मिलाउने नीति लिएको नगरपालिकाले खाद्य तथा पोषण सुरक्षाको प्रमुख आधारको रुपमा रहेका निकै कम खेती गरिने रैथाने जातका बालीहरु कोदो, फापर, चिनो, कागुनो लट्टे आदि स्थानीय बालीहरूको प्रवर्द्धनमा जोडदिंदै अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको नगरप्रमुख त्रिपाठीले बताए ।

‘एक वडा एक पकेट उत्पादन-एक गाउँ एक उत्पादन’को नीति अनुरुप कृषिवालीको प्रकृतिको आधारमा नगर भित्रका कृषियोग्य जमिनको पहिचान गरी नगरपालिकाका क्षेत्र भित्रका प्रत्येक वडालाई कम्तिमा एक कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति नगरपालिकाले लिएको छ । कृषिमा घरेलु तथा स्थानीय प्रविधिलाई परिमार्जन गरी नवीनतम प्रविधि, यान्त्रिकीकरण, चक्लाबन्दीमा जोड दिई किसान क्लब गर्ने योजना नगरपालिकाले अगाडि ल्याएको नगरप्रमुख त्रिपाठीले बताए ।

परम्परागत र निर्वाहमुखी अवस्थामा रहेका साना कृषकहरुलाई समूहमा आवद्ध गराइ कृषि तथा पशुपन्छीको साना व्यवसायिक उत्पादन केन्द्र स्थापनामा जोड दिइने भएको छ । पशुपन्छी तथा बालीनालीका रोग किराहरुको अग्रीम पहिचान तथा स्वस्थान नियन्त्रणका लागि रोग पहिचान तथा निग्रानी प्रणाली विकास गरी आवश्यक वाली संरक्षण तथा महामारी रोग नियन्त्रण सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने नीति ल्याइएको छ ।

यस्तै, भानुको चिनारीको रुपमा रहेको पारकोटे (पूकोटे) भैसीको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन नीति लिएको नगरपालिकाले नगर भित्र रहेका सार्वजनिक तथा व्यक्तिका बाँझो जमिनमा स्थानीय प्रजातिका फलफूल लगाउन कृषकहरुलाई प्रोत्साहन गरिने भएको छ ।

नगरपालिकाले माछा उत्पादन र उपभोगलाई जोड दिदै नयाँ मत्स्यपोखरी निर्माण कार्यलाई प्रोत्साहन गर्ने भएको छ । कृषि वीमा कार्यक्रमलाई प्रोत्साहित गर्दै उत्पादित उपभोग्य वस्तुहरुको विक्री वितरणको लागि कृषि बजारको व्यवास्थापन गर्ने, स्थानीय किसानहरुको व्यवसाय प्रबर्द्धन र जीवनस्तर सुधारका लागि दुध उत्पादनमा अनुदान दिने र चिस्यान केन्द्र स्थापना गर्ने कार्यक्रमलाई विशेष प्राथमिकताका साथ संचालन गर्ने, नगरपालिका क्षेत्रलाई कच्ची कुलोरहित क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारसंग समन्वय गरी सिंचाई योजनाहरु संचालन गर्ने भएको छ ।

पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि घाँसमा आधारित पशुपालन र नस्ल सुधारको लागि त्रितम गर्भादान कार्यक्रम प्राथमिकतापूर्वक सञ्चालन गर्ने, कृषि विकास, पशु विकास, दुध उत्पादन तथा सहकारीको प्रवर्द्धन र विकासका लागि सम्भाव्य बस्तिहरुको पहुँचमा ल्याउन नगरपालिका भित्र रहेका दर्तावाला सहकारी तथा कृषक समूहहरुलाई संस्थागत विकास र व्यवसायिक तालिम प्रदान गर्ने, नगरपालिकामा उपलब्ध जनशक्तिबाट मात्र यो कार्य सम्भव नभएमा विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी सहकार्यात्मक कार्यक्रमहरु संचालन गर्ने नीति ल्याइएको नगरप्रमुख त्रिपाठीले बताए ।

पशुपालक किसानको जीवनस्तर उकास्नका लागि उन्नत पशु बिउको व्यवस्था गर्ने, पशु रोग पहिचान र खोप कार्यक्रमलाई निरन्तरता दिने, पशु सुधार र पशु वीमामा अनुदान कार्यक्रम र दुग्ध उत्पादकका लागि प्राविधिक सहयोगको व्यवस्था गर्ने, व्यवसायिक मौरीपालन कार्यक्रमलाई प्रोत्साहन स्वरुप मौरी घार वितरण गरिनुका साथै भानु नगरपालिकामा उत्पादित मह लगायत अन्य स्थानीय उत्पादनको ब्रान्डिङ्ग गरी बिक्री वितरण गर्ने कार्यलाई प्रोत्साहन गरिने भएको छ ।

यस्तै, नगरपालिकाले कर्स्यादी खोलाको चन्द्रावतीदेखि साजबोटे चुँदी खोलासम्म तटबन्धनको पञ्चवर्षीय योजना बनाइ कृषि जमिनको संरक्षणको निमित्त संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गर्ने, पशुपालन व्यवसायलाई प्रोत्साहित गर्दै यस नगरपालिकालाई दुध मासु र अण्डामा आत्मनिर्भर बनाउँदै लगिने भएको छ ।

नगर स्तरमा उत्पादित वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन गर्न नगरको उत्पादन, हाम्रो पहिचान कार्यक्रमको थालनी गरी कार्यान्वयनका लागि नगर भित्र उत्पादित वस्तु उपयोग गर्ने नीति लिने, कृषि उपज उत्पादन गरी भण्डारणको लागि कोल्डस्टोर निर्माण गर्न प्रदेश र संघ सरकारसंग आवश्यक सहकार्य र समन्वय गरी लागत साझेदारी मोडलमा स्थापना गर्न आवश्यक पहल गर्ने, ‘एक घर एक करेसावारी’ भन्ने नाराका साथ तरकारी उत्पादनमा जोड दिने, आफ्नो उत्पादन उपभोगको नीति अवलम्बन गरिने भएको छ ।

नगरपालिकाले कृषि क्षेत्रको प्रवर्द्धनका लागि मिनिट्रेलर खरिद तथा वितरण र मौरीपालन व्यवसायलाई विशेष प्राथमिकताका साथ सञ्चालन गर्ने, पशुको अवस्था पहिचान र पशु वीमाको व्यवस्था गरी व्यवसायिक पशुपालन तथा कृषिमा युवाको आकर्षित गरी किसानलाई आत्मनिर्भर गर्राई भानुको आव्हान, सामुहिक खेती प्रणालीलाई प्रोत्साहन गरिने नीति नगरपालिकाले लिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker