तनहुँको विमलनगरमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध, वैकल्पिक बाटो प्रयोगका लागि आग्रह

तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ करिब २०ः३० बजेको समयमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
विमलनगरको चुनपहरास्थित सडकभन्दा माथिबाट सुख्खा पहिरो खस्दा डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको र पहिरो हटाउने कार्य अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सडकको बीच भागमा ठूला ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरा हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार सडक खण्डमा अचानक माथिबाट सुख्खा पहिरो खसि दुबै तर्फी बाटो पूर्ण रुपमा अवरोध भएको उक्त स्थानमा प्रहरी चौकी डुम्रेबाट प्रहरी नायव निरिक्षक विजयनाथ यादव (९८५६०९०१७२) को कमाण्डमा ट्राफिक सहित १३ जनाको टोली खटाएर बाटो खेलाउने कार्य अगाडि बढाइएको छ ।
यस्तै, तनहुँ प्रहरीले गोरखाको च्याङ्ली हुँदै नयाँपुल निस्कने वैकल्पिक बाटो प्रयोगका लागि आग्रह गरेको छ ।










