ओझेलमा परेको बेनीकोट

देव बस्न्यात

तनहुँको व्यास नगरपालिका वडा नं. १३ मा अवस्थित बेनीकोट ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास हुने पर्खाइमा छ। वि.सं. २०७१ मंसिर १६ को मन्त्रीपरिषदको निर्णय र २०७१ पौष २८ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम सिङ्गो पोखरीभञ्ज्याङ गाउँपालिका व्यास नगरपालिकामा समाहित गरियो । वेनीकोटकोे वरपर सिमलस्वाँरा, रिपथोक, डाँडाथोक, शिखरडी, कोटगाउँ, भञ्ज्याङ, माझथर, छाप, गुदीफच्याङ, आँपस्वाँरा, आलेगाउँ, जामुनेडाँडा, छापथोक, जबदरी, चिसापानी, बेलचौतारा, आशापानी र छाब्दी लगायतका गाउँहरु रहेका छन् । व्यास नगरपालिका वडा नंं. १३ मा अनुमानित १०२१ घरधुरी र ४७२५ जनसंख्या रहेकोमा जसमध्ये बेनीकोटमा मात्र लगभग २०० घरधुरी र १००० को हाराहारीमा जनसंख्या रहेका छन् ।
बेनीकोटमा मात्र १ घर गुरुङ, २५ घर दलित र १७४ घर मगरहरुको बसोबास रहेको छ । सेतीमादी, व्यास, छाब्दी खोलाको बेनीसंगै सटेर रहेको बेनीकोट समुन्द्र सतहदेखि ९३० मिटरको उचाइमा रहेको छ । यही कोटको नजिकै भएर खिरखादी र करादी खोला सेती नदीमा मिसिन पुगेका छन् । ठूलो सुसाइ (कराएको आवाज)का साथ बग्ने खोला भएकाले नै यहाँको खोलालाई करादी (कराउने पानी) नाम दिएकोे हो भनिन्छ । यही खिरखादी (खिरजस्तो मिठो पानी)  र करादी खोलाको पानी व्यास–१ भादगाउँमा खानेपानीको रुपमा सशुल्क वितरण गरिएको छ ।
बेनीकोटकमा हालसम्म डिग्री पास गर्ने व्यक्ति एक जना हुनुहुन्छ भने स्नाताक उत्तीर्ण गर्नेहरु पनि हातको औंलामा गन्न सकिन्छन् । यहाँको आर्थिक स्थितिलाई हेर्ने हो भने कृषि पछि रेमिट्यान्स हो । यहाँका प्रत्येक घरका कमसेकम एक जना भारतीय गोर्खा सैनिक तथा ब्रिटिस सैनिकमा जागिर गर्न पुगेका छन् । सैनिक रोजगार पछि अरब एवं अन्य  मुलुकहरुबाट आउने रेमिट्यान्स नै गाउँको मुख्य अम्दानीका श्रोतहरु हुन् । बैदेशिक रोजगारीमा जापान जानेहरुको संख्या चने अति नै न्यून रहेको छ । स्वदेशी र बैदेशिक रोजगारीबाट प्रतिवर्ष यस गाउँमा  दुइ करोड रुपैयाँको हाराहारीमा रकम भित्रिने अनुमान गरिएको छ ।

बेनीकोटको नामाकरण

तीन नदीको संगमलाई त्रिवेणी भने झै दुइ वा दुइ भन्दा बढी नदीको जुटेको संगम भएका स्थानलाई संस्कृत शब्दमा वेणी र नेपाली शब्दमा बेनी भनिन्छ । बेनी भन्नाले महिलाको शिरमा बाटेको कपाल एवं कपालको आँठाको मेलले बनेको चुल्ठोलाई जनाउँछ । तनहुँ जिल्ला बेनीकोट वरपरको भूगोललाई हेर्दा यस स्थानमा सेती, मादी, बुल्दी (व्यास), छाब्दी र तार खोलाहरुको संगम रहेका छन् । यिनै नदीहरुको स्थललाई बेनी पुकारिए झैं यिनै नदीहरुको बेनी नजिकै रहेको चुचुराको कोट हुनाले पनि यस स्थानको नाम वेणीकोट÷बेनीकोट भनिएको हुनु पर्दछ। जसरी दुइ वा दुइ भन्दा बढी नदीहरुको संगमले बनेको ठाउँलाई बेनी भनिन्छ त्यसरी नै दुइ वा दुइ भन्दा बढी डाँडाहरु पनि नारीहरुको कपालको चुल्ठो जस्तो मेल भएको देखिएको डाँडाको चुचुरो  भएकाले पनि यस कोटलाई डाँडाहरुको बेनी भनिएको हुनु पर्दछ । त्यसै गरी शस्त्रअस्त्र भण्डारण गरिने स्थान तथा ऐतिहासिक राजाहरुको दरवार भएको स्थानलाई कोट भनिने हुँदा यहाँ बेनी र कोट शब्दहरु एक आपसमा संयोजन हुन पुग्दा यस स्थानलाई वेणीकोट तथा बेनीकोट भन्ने गरिएको होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

शक्तिको आरध्यदेवी मौलाकाली

यही बेनीकोटमा बाइसी एवं चौविसेकाल पूर्व यहाँ थुमथुमे राजाहरुको शासन रहेको थियो । सो समयमा पाल्पाका राजा मुकुन्द सेनले आफ्नो बल र बुद्धिले बेनीकोट र कुलुङलाई आफ्नो अधिनमा राखेपछि बन्दीपुरको मुच्चुकलाई आफ्नो नियन्त्रणमा लिएका थिए । हाल पनि बेनीकोटमा सेनकालीन राजाहरुको कालिकाको पूजा गर्ने स्थान मौला, खुँडा, खड्ग–तरवार लगायतका युद्धका सरसामाग्रीहरु राख्ने गरेको र शक्तिस्वरुपा दूर्गादेवी मौलाको पूजाआरधना गर्दै आइरहेको पाउँदछौं । यहाँ स्थित कोट मन्दिरमा खड्गकालिकाको पूजाआरधना हुने गर्दछ । वडादसैं र चैते दसैंमा मौलाकालीको पूजाआराधना गर्ने समयमा खवासहरुबाट मालसिरी गीत गाउने चलन अझै पनि जीवन्त रहेको छ । खड्गकाली मन्दिरबाट खड्ग झिकेर खड्ग जात्रा देखाउने प्रचलन रहेकोमा अहिले आएर स्थगित हुन पुगेको छ । हरेक वर्ष वडादसैं र चैतेदसैंमा ख्गदेवीलाई अष्टमीका दिन सर्वप्रथम राँगा एवं बोकाहरु र नवमीको दिन सुंगुरको बलि दिने परम्परा रहेको पाउँदछौं ।
सरकारी तबरबाट यहाँको मन्दिरमा पूजा खर्च नआउने भएकाले बेनीकोट वरपरका वासिन्दाहरुले प्रत्येक घरघरबाट रकम उठाइ जीब एवं अचल बलि खरिद गरेर भगवतीलाई चढाउने परम्परा रहेको छ । पूजामा प्रत्येक घरको सहभागिता रहने हुँदा प्रत्येक घरधुरीहरुमा बलिको प्रसादलाई बिलोभाग लगाइ प्रसाद वितरण गर्ने परम्परा रहेको छ । वडादसैंको दिन मुखियाले टिको फुकेको बढाइ गरे पछि मात्र गाउँका सबैले टिका जमरा लगाउने प्रचलन रहेको पाउँदछौं । हाल यस मन्दिरमा जीतबहादुर थापा पुलामी मगर धामीको रुपमा रहेका छन् । भक्तालुहरुले अर्पण गरेको बलि शुद्ध छ छैन भनि धामीले भन्ने गरेको स्थानीय अगुवा लेखबहादुर रानाले जानकारी गराए

पुजारीको छनोट

मगर समुदायमा कोटघरका पूजारीहरु छनोट गर्दा महिलासंग सम्वन्ध कायम नगरेका १३ वर्ष भन्दा कम उमेरका किशोरहरु छनोट हुने गर्दछन् । बेनीकोट कालिकाका पूजागर्नका लागि यहाँका मुखियाले नै पूजारी र बास्टे केटाहरुको छनौट गर्ने परम्परा यद्धपि रहेको छ । यसरी छनोट भएका पुजारी तथा बास्टेहरुलाई घटस्थापनाको  अघिल्लो दिनै नङकेश र नुवाई धुवाई गराई पवित्र शुद्ध गराउने पुरानो परम्परा यथावत अँगालेको पाउँदछौं । यसरी छनोट गरिएका पुजारी तथा बास्टे किशोरहरुले हरेक दिन बिहान नुवाइ–धुवाई गरी एक छाक खाना खाएर हविष्य बसी मौलाकालिकाको पूजाआजा गर्ने परम्परा छ । अल्पज्ञान भएका र पूजाविधि थाहा नभएका  किशोरहरुबाट पूजाबिधिमा त्रुटि हुने डरले किशोर पुजारीहरुको सहयोगका लागि गाउँका बूढापाकाहरु पनि संगसंगै बसेर पूजाविधि सिकाउने गर्दछन् । पुजारीको रुपमा नियुक्त भएका किशोरहरु गाउँका बूढापाकाहरु सँगसँंगै मन्दिर प्राङ्गणमा रहने गर्दछन् । पुजारीहरुको सुरक्षा र सहयोगार्थ जोसिला युवा एवं बृद्धहरु पनि रातभर पूजारी एवं बास्टेहरु संगसँगै  मन्दिरमा रहने गर्दथे तर आजकल यो प्रचलन बिस्तारै लोप हुँदै गएको छ ।

ऐतिहासिक स्थल

सिञ्जा साम्राज्यको पतन पश्चात विशाल पाल्पा राज्य गठन हुनु पूर्व नेपालका विभिन्न स्थानहरुमा थुमथुमे राज्यमा थुमथुमे राजाहरुले शासन गरेको इतिहास भेटिन्छ। पाल्पा राज्य स्थापना भए पछि नै चौविसी क्षेत्रमा रहेका थुमथुमे राज्यहरुको अस्तित्व समाप्त हुन पुगेको थियो । पाल्पाका राजा मणिमुकुन्द सेनले काठमाण्डौ उपत्यका आक्रमण गर्न लागेको सन्दर्भमा होस या उनले आफ्ना भाइ छोरा र भतिजहरुले कसरी राज्य सञ्चालन गर्दैछन् भनेर गरेको अध्ययन भ्रमण, स्वदेश तथा विदेशमा तीर्थव्रत गर्न जाँदाको समय, बन्दीपुर, सिञ्च्याङगढी, चितवन राजपुर मकवानपुर क्षेत्रमा आइजाइ गर्दा दमौली नजिकको बेनीकोटमा पनि पाल्पाका राजा मणिमुकुन्द सेनले मुकाम दरवार बनाई बसोबास गरेको कुरा पनि जनश्रुत्तिमा सुन्नमा पाइन्छ। मणिमुकुन्द सेनको ऐतिहासिक गढी भएकाले पनि बेनीकोट अत्यन्त महत्व पूर्णस्थलको रुपमा हेर्ने गरिन्छ ।

शिद्धथान, झाँक्रीथान र जलवाराही मन्दिर

बेनीकोट नजिकै झाँक्री थान, शिद्धथान, वराजु तथा बाजे बज्यैथान र जलवाराही मन्दिरहरु रहेका छन् । किरातीहरुको भाषामा सुम्निमा भन्नाले पार्वती र पारोहाङ भन्नाले महादेव भने झैं मगरभाषामा प्रयोग हुने शिद्ध शब्दले आर्य भाषामा महादेव भन्ने बुझाउँछ । बेनीकोटको रिपको पश्चिम तर्फको डाँडामा लगभग ५ फिट उचाइको पुरुष आकृतिको शिद्धको शिला रहेको छ । हरेक साउन महिनाको पूर्णिमामा बाहेक अन्य पूर्णिमाहरुमा बेनीकोट निवासी जनसमुदायले शिद्धबाबाको कोरी पूजा र बैशाख र मार्ग महिनाको पूर्णिमाको बेलामा पाठा, पाठी र परेवाहरु समेतको बलि दिएर पूजाआजा गर्ने परम्परा रहेको छ । यहाँ पूजा गर्न जाने कुनै पनि व्यक्ति शुद्धजल तथा चोखो पानीले स्नान गरेर वा पानीले छर्केर मात्र भित्र शिद्धगुफा भित्र प्रवेश गर्नु पर्ने मान्यता रहँदै आएको छ । उनै शिद्ध भगवान गुफाको भित्रीबाटो प्रयोग गरेर बेनीकोटबाट सेती नदी पुगेर नुहाउने गर्दथे भन्ने जनश्रुति पनि सुन्न पाइन्छ । हालसम्म यस सिद्धस्थानमामगर बाहेकका अन्य थरका महिलाहरु, दलित, इसाई र मुस्लिम धर्मालम्बीका मानिसहरु प्रवेश गर्न हुँदैन भन्ने मान्यता रहेको छ । शिद्धथानमा प्रवेश गर्न परेमा यहाँका स्थानीय निवासीहरुसंग सरसल्लाह गर्नु पर्ने मान्यता रही आएको छ । पूर्णिमाको दिन बाहेक अन्य दिन मन्दिर भित्र प्रवेश गर्ने बेलामा शिद्धभगवानलाई आव्हनका साथ पूजाआजा गरेर मात्र गुफाभित्र प्रवेश गर्नु पर्ने मान्यता रहेको छ। कसैले जबरजस्ती गरेमा कुनै अनिष्ट हुन सक्ने यहाँका जनताहरुको बुझाई रहेको छ ।
शिद्धथान जस्तै यहाँ झांक्रीथान पनि बेनीकोट भञ्ज्याङ माथि डाँडामा रहेको छ । यहाँ वर्षको दुइपटक झाँक्रीको पूजाआजा हुँदै आएको छ । विशेष गरेर मंसिरको पूर्णिमाको दिन यहाँ बोका, कुखुरा र परेवाहरुको बलि दिएर पूजाआजा हुने गर्दछ । झाँक्रीलाई झारफूकका तथा जडिबुटीका देवता पनि मान्ने गर्दछन् । झाँक्रीले मानिसका बच्चा बच्चीहरुलाई उसको घरमा लगेर औषधी र झारफूक विद्या सिकाइ दिन्छन भन्ने हाम्रो जनविश्वास रहेको छ। शिद्ध र झाँक्री दुबै भगवान शिवजीको अंश भएकाले पूजाको बेला बलि नचढनु पर्ने हो तर यहाँका जनसमुदायमा बलि प्रथाले जरोगाडेको पाउँदछौं ।
बेनीकोट नजिकै हात्तीसुडेको पूल र नयाँपूलको बीचको वायाँ तर्फ जलवाराही मन्दिर रहेको छ। जल वाराही मन्दिरमा छाब्दी वाराहीमाइको मन्दिरमा जस्तै पानीको कुण्ड, पानीमा पौडी रहेका माछा र रजवामहरु खेली रहेको अनुपम दृष्यहरु देख्न पाउँदछौं । छाब्दी वाराही मन्दिरमा झंै यहाँ हाँस कुखुरा र बोकाको बलि चढाउने परम्परा रहेको छ। जलवाराही मन्दिरबाट बेनीकोट जान परेमा शिद्ध भगवानको बलि सहितको पूजा गरेर गएमा कुनै अनिष्ट नहुने विश्वास रहिआएको छ। बाटो अप्ठ्यारो भएकाले पनि अनपेक्षित दूर्घटना हुन सक्ने भएकाले  प्रायः कुनै पनि व्यक्तिहरु यो बाटो जाने हिम्मत नगर्ने स्थानीय शिक्षक भीमबहादुर थापा बताउँछन् ।

पर्यटन पूर्वाधार

पर्यटनको पूर्वाधार यातायात हो । यातायातको सुविधा भएमा पर्यटन व्यवसाय मौलाउन समय लाग्दैन । यातायातका साथै गाँस वासको लागि होमस्टे र होटलहरुको सुविधा पनि हुनु पर्दछ । यातायातको सहज पहुँच नभएकाले पनि यहाँको पर्यटन व्यवसाय त्यति मौलाउन नसकेको अवस्था हो । तनहुँको सदरमुकाम दमौली बजार नजिकै भएर पनि बेनीकोटमा पर्यटन पूर्वाधारका कुनै योजनाहरु हालसम्म तर्जुमा हुन सकेका छैनन् । बेनीकोट मगर बाहुल्य बस्ती हो । हुन त प्रकृति र संस्कृतीको सङ्गमस्थल हो बेनीकोट । यहाँको प्रमुख नाचहरुमा कौरा, सोरठी, मारुनी र झ्याउरे नाचहरु पर्दछन् । बेनीकोटको कौरा नाच अतिनै प्रसिद्ध रहेको छ । यहाँको स्थानीहरुसंग सम्पर्क गरेर १२ महिना कौरा गीत र नाचबाट मनोरञ्जन लिन सकिन्छ ।
यहीबाट दमौली बजार, सुखौरा फाँट, सेतीमादी उपत्यका, मुकुन्देश्वरी, कुलुङकोट, केशवटार, छिम्केश्वरी, धरम्पानी सिञ्च्याङगढी, घण्टाचुली, डाँडाखुदी, मानहुँ, गलेखामकोट, ऋषिङ, तनहुँसुर, देवचुली एवं वरचुली लगायतका महाभारत पर्वत श्रृङ्खला र धौलागिरी, निलगिरी, अन्नापूर्णा, माछापुच्छ«े, मनास्लु, बौद्ध लगायतका हिमाल र हिमालबाट बहेर आउने सेतीमादी तथा महाभारत पर्वत श्रृङ्खलाबाट निस्कने बुल्दी, सांगे, गुणादी, छाब्दी नदीहरुमा जलविहारका साथ नदीहरुको नालीवेलीको अनुपम दृष्यहरु पनि अवलोकन गर्न सकिन्छ । नेवार र मगर संस्कृतिको दोभान मानिने बेनीकोट सुन्तला, अदुवा, अर्गानिक सागपात, मध्यपानका लागि पनि प्रसिद्ध स्थान मानिन्छ । यहाँका कृषकहरुले वर्षको धन्नै दुइ करोड रुपैयाँ बरावरको सुन्तला उत्पादन गर्ने हुँदा यहाँ सुन्तालाबारी होमस्टे सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । बेनीकोट प्रशस्त कोदो मकै उत्पादन हुने स्थान भएकाले पनि यहाँ प्रशस्त मात्रामा स्थानीय रक्सी उत्पादन हुने गर्दछ । खानाका लागि यहाँ दाल भात सागपातका तरकारी, स्थानीय रैथाने जातका खसीबोका, हाँस, कुखुरा, परेवाको अर्गानिक मासुहरु पनि सस्तोमा उपलव्ध हुने गर्दछ । वार्षिक १ करोड भन्दा बढीको फलफूल तथा कोदोको लोकल रक्सी नजिकको बजार दमौली बजारमा निर्यात हुने गर्दछ । लोकल रक्सीलाई सरकारले ब्राण्डेड बनाउन जरुरी देखिन्छ ।
यसैगरी यहाँ वार्षिक सरदर ७ देखि १० लाख रुपैयाँसम्मका अर्गानिक सागपात, आलु, काउली, पिरोखालको दालचिनी, अदुवा र खुर्सानीजन्य तरकारीहरुको  बिक्रीवितरण हुने गर्दछ । सबैभन्दा यो स्थान पैदल यात्राका लागि उपयुक्त गन्तव्य बन्न सक्छ । बेनीकोटमा माउण्टेन बाइक तथा साइल्किङ, गुफा अवलोकन, ढाँडखोलामा बन्जीजम्प, करादी खोलाको झरनामा क्यानोनिङ, यहाँका पहराहरुमा रकक्लाइम्बिङ, प्यारा ग्लाइडिङ जस्ता सहासिक खेल पर्यटनका पूर्वाधारको दिगो विकास कार्यक्रमहरु तय गर्न आवश्यक छ । नजिकैको मानुङडाँडाबाट दमौली बजार र सुखौरा फाँटमा लाग्ने कुहिरोको श्वेतसागर यहाँबाट पनि मजाले अवलोकन गर्न सकिन्छ । बेनीकोटमा नै स्तरीय होटल र घरवास सुविधा नभएता पनि आँपस्वाँरामा रहेको दलित घरवास कार्यक्रम (होमस्टे) यहाँको पर्यटन विकासमा कोशेढुङ्गा सावित हुन सक्दछ । अघिल्लो आर्थिक वर्षमा नगरपालिकाको  १० लाख रुपैयाँको लागतमा ओत लाग्न मिल्ने टहरा निर्माण गरेको छ । व्यास नगरपालिकाले वेनीकोटलाई पर्यटनक्षेत्र घोषण गर्दै होमस्टे पर्यटन सूचनाकेन्द्र स्थापनामा प्राथमिकता दिंदै पुरातात्विक महत्व एवं नयाँ सृजना भएका धार्मिक, साँस्कृतिक, प्राकृतिक, एवं ऐतिहासिक स्थलहरुको संरक्षण सम्वद्र्धनका लागि ल्याएको टाकुरा पर्यटन सञ्जालमा बेनीकोट लगायतका सबै टाकुराहरु नछुटुन हाम्रो पनि यही आशय हो ।

कसरी पुग्न सकिन्छ ?

दमौली हुँदै बेलवास पैदल गइयो भने साँडे एक घण्टादेखि २ घण्टासम्ममा बेनीकोट पुग्न सकिन्छ । दमौलीको गणेशमान चोकदेखि ९ किलोमिटर दुरीमा रहेको बेनीकोट आधा घण्टामा नीजि  तथा सार्वजनिक सवारी साधनबाट पुग्न सकिन्छ। नीजि सवारी साधन नहुनेहरुले दमौली बेनीकोट रुटका बसहरुको सुविधा प्रयोग गर्न सक्दछन् । दमौली, पोखरी भञ्ज्याङ, गुँदीफच्याङ, केशवटार अर्थात दमौली, छिर्कने, कुलुङकोट, बेलभञ्ज्याङ हुँदै पनि बेनीकोट पुग्न सकिन्छ । यसका अलवा डुम्रे, बन्दीपुर केशवटार हुँदै पनि हामी बेनीकोटको यात्रा तय गर्न सक्दछौं ।
अन्त्यमा, ओझेलमा परेको तनहुँकै महान तीर्थस्थल शिद्ध र झँक्रीथान एवं ऐतिहासिक थलो बेनीकोटको विकासका लागि सबैले होस्टेमा हैंसे गर्न जरुरी छ । भगवान श्रीकृष्ण द्वैपायन वेदव्यासको १०८ फिटको अग्लो मूर्ति निर्माण कार्य सम्पन्न भएपछि कुहिरोको सागर माथि देखिने वेदव्यासको मूर्ति हेर्नेहरु कुलुङकोट पुग्न बिर्सनु हुदैन । वेनीकोटको पर्यटन विकासको कौतुहलता कहिले मेटिएला यो प्रतिक्षाको विषय बनेको छ । बेनीकोट पर्यटन प्रबर्द्धन कार्यमा ग्रहण नलागोस, शुभकामना छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker