दमौलीमा अनुराधा कोइरालाको साथमा गर्ल्स नाइट हुने
भञ्ज्याङ न्यूज

तनहुँको दमौलीयान्स युथ क्लबले दमौलीमा गर्ल्स नाइट कार्यक्रम गर्ने भएको छ । माघ ३ गते वमेन इमपावरमेन्ट सोसियल क्याम्पेन अन्तर्गत गर्ल्स नाइट आयोजना गर्न लागिएको क्लवले जनाएको छ ।
उक्त कार्यक्रमको मुख्य आकर्षा नेपालकी प्रसिद्ध समाजसेवि एवं माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो (२०१०) अनुराधा कोइराला रहने छिन् । त्यस्तै कार्यक्रममा चर्चित गायिका आस्था रावत, तिर्सना गुरुङ र डिजे केशिकाको पनि प्रस्तुति रहने आयोजकले बताएको छ ।
महिलाहरुमा सचेतना अभिवृद्धि गराउदै अझै सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुदिप कार्कीले बताए । अहिले पनि समाजमा महिलाहरुमा सुरक्षाका चुनौतिका साथै विभिन्न बहानामा अवसरबाट बञ्चित बनाउने परिपाटी रही आएकाले महिलाहरुलाई आफ्नो हक अधिकारका बारेमा जागरुक बनाउन महिला सशक्तिरण सामाजिक अभियान थालिएको उनले बताए ।
महिलाहरुलाई समाजमा अहिले पनि आत्मनिर्भर र स्वतन्त्र ढंगले काम गर्ने, यात्रा गर्ने वातावरण नभएकाले उनीहरुलाई सशक्त बनाउदै हरेक कुरामा सक्षम बनाउने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको क्लबकी सदस्य सलिना कुमालले बताइन् ।
मनोरञ्जन मात्र नभइ महिला जागरण र सशक्तीकरणका लागि कार्यक्रम आयोजा गरिएको क्लबका सचिव रिजन क्षेत्रीले जानकारी दिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाहरुलाई सशक्तीकरण गर्ने सम्बन्धमा अनुराधा कोइरालको नाम अग्रपंक्तिमा लिइने हुनाले उनबाट धेरै महिलाहरुले प्रेरणा लिनसक्ने आयोजकले विश्वास लिएको छ ।
क्लबले यस कार्यक्रमबाट भएको मुनाफाबाट ग्रामीण भेगमा महिलाहरुलाई सेनेटरी प्याड सहयोग गर्ने, माइती नेपालको अभियानलाई सहयोग गर्ने र दमौली क्षेत्रमा जेब्रा क्रसिङ व्यवस्थापन लगायतका सेवा गर्ने बताएको छ ।
माघ ३ गते साँझ ७ बजेदेखी राति ११ बजेसम्म चल्ने उक्त कार्यक्रमलाई व्यास नगरपालिका र आँबुखरैनी गाउँपालिकाको पनि सहयोग रहने आयोजकले जनाएको छ ।