बन्दीपुरमा ५ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
भञ्ज्याङ समाचारदाता/बन्दीपुर
तनहुँको बन्दीपुर गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले आइतबारदेखि विहीबारसम्म पाँच दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बन्दीपुर गाउँपालिका, बन्दीपुर अस्पताल र बिकोल फाउन्डेशन अमेरिकाको संयुक्त आयोजनामा बन्दीपुर अस्पतालमा आँखा, नाक, कान, घाँटी, स्त्रीरोग लगायतका रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी गराए ।

नेपाली र अमेरिकन चिकित्सकहरुको उपस्थितिमा कात्तिक १२ र १३ गते आँखा, नाक, कान, घाँटी र स्त्रीरोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा औैषधि वितरण गरिने भएको छ ।
यस्तै शिविरमा आँखामा मोतिबिन्दुको समस्या देखिएर शल्यक्रिया गर्नु परेमा दृष्टि अस्पताल पोखरामा का१कि १८ गते र भानु नगरपलिका-२ नारेश्वरटारमा मंसिर ७ गते निःशुल्क शल्यक्रिया हुने व्यवस्था गरिएको छ ।

नाक, कान र घाँटीको शल्यक्रिया गर्नु परेमा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताए । कात्तिक १६ गतेसम्म सञ्चालन हुने शिविरमा अमेरिकन तथा नेपाली जनरल फिजिसियनद्वारा स्वास्थ्य परीक्षण र औषधी वितरण गरिने बताइएको छ ।










