भानुमा खेलकुद प्रतियोगिता हुने
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले माघ २६ देखि २८ गतेसम्म भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले भानु-२ स्थित सुन्दर प्राविको गोठेरी खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडलले बताए ।
बैठकले खेलकुद प्रतियोगितालाई मर्यादित, विश्वसनीय र व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि विभिन्न चारवटा उपसमिति गठन गरेको छ । नगरपालिकाका क्षेत्रका २० वटा सामुदायिक र ६ वटा संस्थागत गरी २६ वटा माध्यमिक विद्यालयहरूको प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।
खेलकुद प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विधामा गरी जम्मा ३० वटा इभेन्टहरू रहनेछन् । प्रत्येक इभेन्टबाट प्रथम स्थान हासिल गर्ने एक-एक टिम जिल्ला स्तरीय प्रतियोगिताको लागि जिल्ला सदरमुकाम दमौलीमा पठाइनेछ । यसपटक भानु नगरपालिकाले यसै प्रतियोगितालाई मध्यनजर राखी सबै माविहरूलाई खेल सामग्री समेत बितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दीपकराज खतिवडाले बताए ।










