दिवङ्गत आमा सम्झँदै ज्येष्ठ नागरिक आश्रम

“स्वर्गीय आमाको झलझली याद आयो र न्यास्रो मेट्न आश्रमका आमाहरू भेट्न आएको हुँ”, व्यास नगरपालिका-३ का ५० वर्षीय दीपक रानामगर बोल्दाबोल्दै भक्कानिएर भने, “आमाको अभावमा उहाँको याद झनै आउँदो रहेछ ।”
व्यास-५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिँदै आएका आमाहरूलाई भेटेपछि रानामगर भावनामा आएका हुन् । विसं २०७७ मङ्सिर ८ गतेका दिन ६९ वर्षीया आमालाई आफूले गुमाएदेखि जहिल्यै आमाको अभाव खड्किएको उनले बताए । नौ महिनासम्म गर्भमा राखी कष्ट सहेर जन्म दिने आमाको तुलनामा दोस्रो कोही पनि हुन नसक्ने उनले बताए, “आमाको अभावमा यति धेरै विक्षिप्त भइने रहेछ कि कतै बूढी मान्छे देखिए पनि मेरै आमा झैँ लाग्ने रहेछ”, रानामगरले भने, “ज्येष्ठ नागरिक आश्रममा बुबाआमालाई पठाउन बाध्य कसैले पार्न हुँदैन । आमाको वियोगमा कसैले पनि जीवन बिताउन नपरोस् ।”
स्वर्गीय आमाबाबाको यादमा जहिल्यै ज्येष्ठ नागरिक आश्रममा आएर समय बिताउने गरेको व्यास-११ का ५२ वर्षीय श्रीराम पन्थले बताए । आमाबुबाको मृत्यु पछि याद गरेर तड्पिनुभन्दा जीवित छँदै सेवा र रेखदेख गर्न सबैमा सुझाव दिने गरेको पन्थको भनाइ छ । “बुबाआमा साथमा हुँदाको बखतभन्दा नहुँदाको यादले निकै तड्पाउने रहेछ”, पन्थले भने, “संसारमा सबै कुरा पाइए पनि बुबाआमा कहाँ पाइएला र- त्यसैले जीवन सहँदै खुसी, माया र सम्मान दिनुपर्छ ।”
उक्त आश्रममा ७० वर्षीया ठूलीमाया परियार र ७२ वर्षीया विमला भट्टराइसहित दुइ बेवारिसे आमा गरी चारजनाले आश्रय लिँदै आएका छन्। तीन वर्षघि श्रीमान्को मृत्युभएपछि आफू आश्रममा आउन बाँध्य भएको मनमाया परियारले बताएन् । सौतेनी छोराछोरीले तथानाम गाली गरेपछि आफू आश्रममा आउन बाँध्यभएको उनले सुनाइन् । भट्टराइले पनि आफ्ना तीन छोरा र छोरी भए पनि वास्ता नगर्दा आश्रममा बस्नु परेको बताइन् । आश्रममा बस्दै आएका अन्य दुइ आमा भने बेवारिसे अवस्थामा भेटिएका आश्रम सञ्चालक समितिले जनाएको छ । “छोराछोरीको साथमा बस्ने चाहना कसलाई पो नहुँदो होला र -“, भट्टराइले भनिन्, “आफूले जन्माएका सन्तानले दिनदिनै वचन लगाएपछि आश्रममा बस्नु नै ठीक ठानेँ ।”
मातातीर्थ औँसीको दिन पारेर आज आश्रममा बस्दै आएका आमाहरूलाई भेट्न आउनेहरूको सङ्ख्या ३५ जनाभन्दा बढी रहेको वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सकुन्तला आलेले बताइन्। आश्रमले मासिक रु २० हजार दिई ज्येष्ठ नागरिकको व्यवस्थापन गर्न सृजना श्रेष्ठलाई नियुक्त गरेको उनले बताइन् । “मातातीर्थ औँसीको दिन आमा सम्झँदै आश्रममा आउनेको घुइँचो बढेको छ”, अध्यक्ष आलेले भनिन्, “मनकारी व्यक्तिहरूले दिनुभएको दानबाटै आश्रमका आमाहरूलाई व्यवस्थापन गर्न सकेका छौँ ।”
विसं २०७० देखि सञ्चालित आश्रममा हालसम्म २० जना ज्येष्ठ नागरिकले सेवा लिई सकेका आश्रम सञ्चालक समितिका संस्थापक सचिव निर्मला मल्लले बताइन् । संस्थामा आबद्ध दुइ सय ३५ जना दमौलीका व्यावसायिक महिलाहरूको मुठीदान र मनकारी व्यक्तिबाट जुटेको सहयोगले आश्रम सञ्चालन भइरहेको उनको भनाई छ ।










