कास्कीमा सार्वजनिक सेवा प्रवाहलाई क्रमशः सहज हुँदै

जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड र आगजनी भएपछि रोकिएको सेवा प्रवाहलाई क्रमशः सञ्चालनमा ल्याएको छ । बुधबारदेखि नयाँ नागरिकता, राहदानी वितरण र भारतीय पेन्सन सिफारिससम्बन्धी सेवा पुनः थालनी भएको कार्यालयले जनाएको छ ।

यसअघि गत शुक्रबारदेखि लेखनाथमा रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्तासँगै यसअघि दर्ता भई प्रिन्ट भएर आएका परिचपयपत्रको वितरण पनि सुरु गरिएको थियो । ‘जेनजी’ प्रदर्शन सकिएको केही दिनमै शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्य सुचारू गरिएकामा रोकिएका अन्य सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ।

गत भदौ २४ को प्रदर्शनयता राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । कार्यालय तोडफोड र आगजनीका क्रममा प्रदर्शनकारीले साथमा लगेका केही राहदानी फिर्ता आएकाले सम्बन्धित सेवाग्राहीलाई राहदानी लिन आउन सूचित गरिएको उहाँको भनाइ छ ।

प्रतिलिपी नागरिकता, गैरआवासीय नागरिकता, राहदानी आवेदन, नाबालक परिचयपत्र लगायतका सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने प्रजिअ शर्माले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा सञ्चालित अभियानका क्रममा विवरण दर्ता गरी प्रिन्ट भएका परिचयपत्र वितरणका लागि भने पछि सूचित गरिने उहाँको भनाइ छ ।

आन्दोलनका क्रममा उक्त राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाका लागि आवश्यक पर्ने विद्युतीय उपकरण आगजनीमा परी नष्ट भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट नयाँ उपकरण माग गरी सेवा सुचारु गरिएको हो । आगजनी गरिएको कार्यालयलाई सरसफाइ र मर्मतसम्भार गरेर सेवा सञ्चालनमा ल्याइएको हो । हाल दुईवटा कार्यकक्षबाट सेवा प्रवाह भइरहेको र अन्य कार्यकक्ष मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ।

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको तोडफोड, आगजनी एवं लुटपाटबाट कार्यालयमा ठूलो क्षति पुगेको छ। कार्यालयको भौतिक संरचना कुरूप बनेको छ । कम्प्युटरलगायत महत्वपूर्ण उपकरण जलेका तथा लुटपाट भएका छन् । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संस्था दर्ता, स्थानीय प्रशासन तथा शान्ति सुरक्षालगायतका सेवासम्बन्धी सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयसहित प्रदेश राजधानी पोखरामा रहेका तीनै तहका सरकार मातहतका अधिकांश कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । आगजनीमा परेका पोखराका अन्य सरकारी कार्यालय र निकायले पनि सार्वजनिक सेवा प्रवाहलाई क्रमशः सहज बनाउँदै लगेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker