“गिद्धको काल बन्दै ३३ केभी प्रशारण लाइन”

भञ्ज्याङ समाचारदाता/दमौली

धार्मिक, सांस्कृतिक र वातावरणीय महत्वका रुपमा हेरिएको गिद्ध संरक्षण अभियान चलिरहेको छ । संसारमै गिद्ध संरक्षणमा नेपाल नमूना देश पनि बनेको छ । तर, तनहुँको व्यास नगरपालिका-१० शिशुवा भतेरी क्षेत्रमा विस्तार गरिएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रशारण लाइन गिद्धका लागि काल बनेर खडा भएको छ ।

वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धको भूमिका महत्वपूर्ण छ । गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा पनि परिचित छन्। गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकोले परिणामस्वरुप मानिसमा झाडापखाला, रेविज, प्लेग, हैजा, आउँ र पशु चौपायहरूमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता विभिन्न रोगहरूको संक्रमणले महामारीको रूप लिन सक्ने विज्ञहरु बताउँछन् ।

व्यास नगरपालिका-१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपायलाई व्यवस्थित गर्न गौ संरक्षण केन्द्र बनाइएको छ । गौ संरक्षण केन्द्र बनेसंगै यस क्षेत्रमा गिद्धको आगमन र संख्यामा पनि वृद्धि हुँदै गएको छ । गौ संरक्षण केन्द्रमा मरेका गाई गोरु खाना प्रसस्त गिद्ध आउने गरेका छन् ।

गौ संरक्षण केन्द्र आसपासबाटै विस्तार गरिएको भोर्लेटार-दमौली ३३ केभी प्रशारण लाइनका कारण सोमबारमात्रै तीन वटा गिद्ध मरेका छन् भने एउटा गिद्ध घाइते अवस्थामा भेटिएको छ । गौ संरक्षण केन्द्रमा मरेका गाई गोरुको सिनो खाएर बस्नका लागि ३३ केभी प्रशारण लाइनको तार र पोलमा पुग्दा करेन्ट लागेर गिद्धा मर्न थालेका स्थानीय रामप्रसाद सापकोटाले बताए ।

‘सोमबार मात्रै एउटा विद्युतको पोलमा मरेको अवस्थामा झुण्डिएको, २ वटा भईमा मरेको अवस्थामा र एउटा करेन्ट लागेर घाइते अवस्थामा गिद्ध भेटियो’, शिक्षक समेत रहेका सापकोटाले भने, ‘विद्युत प्राधिकरणले दीर्घकालिन रुपमा पर्ने असरको अध्ययन नगरी हाइटेन्शन लाइन विस्तार गर्दा यस क्षेत्रमा खेल मैदान, झोलुङ्गे पुल निर्माणमा समेत समस्या खडा भएको छ ।’

उनका अनुसार यस क्षेत्रमा प्राधिकरणले राम्रोसंग विद्युत पोलको अर्थिङ्ग नमिलाउँदा अर्थिङगमा परेर स्थानीय एक बालक समेत घाइते भएका थिए। गौं संरक्षण केन्द्रका कारण गिद्धको संरक्षणका साथै संख्यामा वृद्धि भएपनि हाइटेन्शन लाइनका कारण करेन्ट लागेर गिद्ध अकालमै मर्ने गरेका छन् । २०७६ सालमा हाइटेन्शन निर्माण गरी विद्युत प्रवाह भए यता करिब ६०/७० वटा गिद्ध करेन्ट लागेर मरेको स्थानीय सापकोटा बताउँछन् ।

व्यास-१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा गौ संरक्षण केन्द्र बनाएसंगै छाडा चौपायालाई व्यवस्थित गर्न सहज भएको छ । गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धान स्थलका रुपमा विकास गर्न पनि लागिएको छ । तर, यहाँ मरेका गाई गोरुको सिनो खाएर वातावरणलाई स्वच्छ राख्ने गिद्धको संरक्षणका विषयमा भने सरोकारवला निकायएको ध्यान पुगेको छैन ।

छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिने लगायतका समस्या हल गर्न नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापनका लागि गौ संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको हो ।

केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् । मानिसले गाईले दूध दिँदासम्म पाल्ने र त्यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो । केन्द्रका कतिपय गाई ब्याएर दूधसमेत दिन थालेको छ ।

नेपालमा पाइने गिद्धहरूमध्ये ६ प्रजाति गिद्धहरूले मात्र गुँड बनाई बच्चा कोरल्छ । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् । अरू चरा प्रजाति जस्तै गिद्धको पनि भाले पोथी सजिलै छुट्याउन सकिन्न ।

गिद्धको जोडी आजीवन सँगै हुन्छन्, गुँड निर्माणदेखि बच्चा कोरल्ने अनि हुर्काउने काम सबै सँगैसँगै गर्छन् । नेपालमा गिद्धको घना वासस्थान पश्चिम नेपालको तर्राई र मध्यपहाडी वनमा रहेको पाइन्छ । गिद्ध धेरैजसो अग्लो, ठूलो सिमलको रूखमा बस्न रुचाउँछ ।

प्रकृतिमा हरेक जीवको आफ्नै महत्व हुन्छ, गिद्धको पनि आफ्नै धार्मिक, सांस्कृतिक र वातावरणीय महत्व रहेको छ । हिन्दू धर्म अनुसार गिद्धलाई शनि वाहनको रूपमा पुजिन्छ । रामायणमा रावणले सीतालाई हरण गर्दा अन्तिम साससम्म लडेको ‘जटायु’ एक गिद्ध नै थियो ।

मान्छे मरेपछि लाशलाई काटेर टुक्रा बनाई गिद्धलाई खुवाउने चलन हिमाली भेगका समुदायमा आज पनि प्रचलित छ । यो समुदायले गिद्धलाई मृतकको आत्मालाई र्स्वर्ग पुर्‍याउने दूतका रूपमा पुज्ने गर्छन् ।

वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धको भूमिका अहम् छ । एक अध्ययन अनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग पुर्‍याउने देखाउँछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker