तनहुँ प्रहरीको ब्यारेक सहित चार भवनको उद्घाटन
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी ब्यारेक सहित चार वटा भवनको उद्घाटन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंहले मंगलबार एक कार्यक्रमका बीच भवन उद्घाटन गरेकी हुन् ।
भवन उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले आम नागरिकले सुरक्षाको अनुभूति दिने गरी प्रहरी संगठनले सुरक्षा दिनुपर्ने बताइन् । ‘जबसम्म नागरिकले सुरक्षाको प्रत्याभूत गर्न सक्दैनन्, तबसम्म प्रहरीको सुरक्षा राम्रो मानिदैन’, उनले भनिन्, ‘भरपर्दो शान्ति सुरक्षा कायम गर्न नागरिक समाजको साथ अपरिहार्य हुन्छ ।’
प्रहरी संगठन राज्यको महत्वपूर्ण अंग भएको चर्चा गर्दै उनले दयानीय र जीर्ण भवनबाट पनि प्रहरीले कार्यसम्पादन गर्दै आएको बताइन् । व्यक्तिगत लोभ, लालचामा नलागि संगठनको शीर उच्च राख्ने गरी काम गर्न प्रहरीलाई उनले निर्देशन समेत दिइन् ।
उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जिल्ला प्रहरी कार्यालय परिसरमा सवारी दुर्घटना पश्चात चालकका लागि छुट्टै थुनुवा कोठाको व्यवस्था गरेपनि नवनिर्मित भवन निर्माण पछि हटाइएकोले पुनः व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कलेस्ती र छाब्दी प्रहरी चौकीको आफ्नो भवन नहुँदा भाडामा रहेकोले त्यसको भाडा व्यास नगरपालिकाले तिरेर सहयोग गर्दै आएको छ ।’
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सरकारले भौतिक संरचना निर्माण गरेर प्रहरी संगठनको मनोबल बृद्धि गरेको बताए । शान्ति सुरक्षा, सुशासन, अपराध नियन्त्रणमा अहोरात्र खटिने प्रहरीका लागि राम्रो वातावरणमा भवन निर्माण गरेको बताए ।
संघीय सरकारको आर्थिक सहयोगमा ब्यारेक, मेस र हिरासत कक्ष गरी कूल ३ करोड ४६ लाख ५ हजार १५६ रुपैयाँका लागतमा निर्माण सम्पन्न भएको बताइएको छ । सिनियर प्रहरी अधिकृत आवास भवन १ करोड २६ लाख २२ हजार ६० रुपैयाँको लागतामा निर्माण गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबदेश विष्ट क्षेत्रीले बताए ।









