तनहुँको खैरेनीटारदेखि भिमादसम्मको सडक स्तरोन्नति सुरु

तनहुँको खैरेनीटारदेखि भिमादसम्मको सडक स्तरोन्नति सुरु गरिएको छ । एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउने काम सुरु गरेको हो ।

बुधबारदेखि सडक फराकिलो बनाउने काम सुरु भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इञ्जीनियर नारायण पौडेलले जानकारी दिनुभयो । “पहिलो चरणमा सडक कटिङको काम हुन्छ, त्यसपछि पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्र गर्ने हो”, उहाँले भन्नुभयो ।

खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्र गरिने पौडेलले बताउनुभयो । रु सात करोड ४५ लाख २१ हजार लागतमा उक्त कामको ठेक्का लागेको छ । गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँसँग निर्माण सम्झौता गरिएको थियो । वर्षा र कोरोनाका कारण समयमै काम सुरु हुनसकेको थिएन । विसं २०७९ कात्तिक १३ गतेसम्म उक्त काम सम्पन्न गर्ने म्याद रहेको छ ।

खैरेनीटार–भिमाद सडकका ठाउँठाउँमा कालोपत्र उप्किएर ठूलाठूला खाल्डा बनेका छन् । खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ । शुक्लागण्डकी–७ स्याउलीबजार र म्याग्दे–५ थाङ्दीबाट भिमादको पुलसम्म सडकको दुरवस्था छ । कतिपय स्थानमा सडकको कालोपत्र देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ । भिमाद नगरपालिकाको प्रवेशद्वारमा पनि सडकको हालत खराब छ ।

सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम पहिल्यैदेखि नै भए पनि अहिले ठूला–ठूला खाल्डा हुँदा झन् जोखिम बढेको स्थानीयवासी गणेश सुवेदीले बताउनुभयो । “कालोपत्र गरिएको यो सडकखण्ड छिचोल्न सवारी चालक र यात्रुलाई सास्ती छ”, उहाँले भन्नुभयो, “ग्रामीण सडकमा बरु यति साह्रै सास्ती हुँदैन्थ्यो होला ।”

खाल्डाखुल्डीले बाटो छिचोल्न मुस्किल भएको जनाउँदै उहाँले वर्षेनी यो सडक भत्किने समस्या रहे पनि टालटुलबाहेक दीर्घकालीन उपाय नअपनाइएको गुनासो गर्नुभयो । “वर्षेनी यस्तै समस्या आइरहन्छ, यो सडकको विकल्प अरु सडक नभएकाले पनि गुणस्तरीय मर्मतमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । सडकको दुरवस्थाले पानी पर्दा जलमग्न र घाम लाग्दाको बखत धुलो उड्ने समस्याले सडक आसपासका बासिन्दालाई पनि आजित बनाएको छ ।

यस वर्ष उच्च वर्षा हँुदा झन् ठाउँठाउँमा पहिरो खसेर जोखिम बढेको छ । कतिपय स्थानमा सडक साँघुरो हुँदा दुईतर्फी सवारी आउजाउ गर्न नमिल्ने अवस्था छ । कालोपत्र सडक छिचोल्न मुस्किल हुँदा यो बाटो हुँदै दैनिक यात्रा गर्ने यात्रु हैरान छन् ।

जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो । यस्तै नवलपुर, पाल्पा र स्याङ्जाका विभिन्न स्थानका सवारी तथा यात्रुसमेत यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker