प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिताको उपाधी आर्मीका नरेन्द्रले हातपारे
भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको घिरिङ गाउँपालिकामा आयोजना गरेको प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिता-२०७९ को उपाधी त्रिभुवन आर्मीका नरेन्द्र सिं रावत हातपारेका छन् । घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाले शनिवारसञ्चालन गरेको प्रतियोगितामा ५० मिनेट ४६ सेकेण्डमा १५ किलोमिटर दुरी पार गर्दै रावतले उपाधी हातपार्न सफल भएका हुन् ।
उक्त दुरी ५० मिनेट ४९ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मीकै सुवास कार्की द्धितीय भए भने ५० मिनेट २८ सेकण्डमा सो दुरी पार्दै राजन मेयोङ्बा तृतीय भएका छन् । प्रतियोगितमा होम लाल श्रेष्ठ चौथो, विशाल गुरुङ पाचौं, सनम गुरुङ छैटौ, जुनेश खड्का सातौ, मोहन देव जोशी आठौं, सरोज शर्मा नवौं र देवराज महत दशौ स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा ७४ जनाको सहभागिता रहेको थियो ।
म्याराथनमा प्रथमलाई नगद ४० हजार, द्धितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने ७ जनालाई सानत्वना स्वरुप नगद ३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
यस्तै, घिरिङ गाउँपालिका भित्रको प्रतियोगितामा वडा नं. ३ का दशरथ आले प्रथम, वडा नं. ५ का तिल बहादुर थापा, वडा नं. ३ का विशाल थापा तृतीय भएका छन् । प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रेदशका उपसभामुख विना कुमारी थापाले पुरस्कार प्रदान गरिन् । सो अवसरमा उपसभामुख थापाले प्रतियोगिताले स्थानीय खेलाडीलाई खेलप्रति चासो जगाउने उल्लेख गरिन् ।
सहकारीका अध्यक्ष मन बहादुर रानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेश सभा सदस्य श्यामराजा महत, घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोख्रेल लगायतले प्रतियोगिताका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।