पक्की पुल बनेपछि यात्रा सहज

कास्की मादी गाउँपालिका घुम्लेका ६७ वर्षीय दूधबहादुर गुरुङलाई बाल्यकालमा दाउरा–घाँस गर्दा खोला वारपार गर्न बाँसको फड्के तरेको सम्झता अझै पनि ताजै छ ।

फड्के हुँदै झोलुङ्गे पुलबाट खोला वारपार गरेका उहाँका लागि अब ती सम्झनामा मात्रै सीमित भएका छन् । किनभने खोलामा यतिबेला पक्की पूल निर्माण भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत वार्दीखोलामा रु चार करोड ३९ लाखको लागतमा मोटरेबल पुल बनेपछि उहाँ यतिबेला खुसी हुनुहुन्छ ।

नजिकैको घुम्ले बजारको मादी नदीमा पुल निर्माणकै क्रममा कामै नसकी केही ठेकेदार भागेको र पुल निर्माण सम्पन्न हुन वर्षौँ लागेको घटना पनि उहाँसँगै ताजै छ । गुरुङलाई वार्दीखोलाको पुल पनि एक–डेढ वर्षमै निर्माण सम्पन्न हुन्छ भन्ने विश्वासै थिएन ।

“मादी नदी, वार्दीखोलालगायत यहाँका साना ठाँडा खोलामा पुल नहुँदा पोखरा बजार जाँदा होस् वा अन्य गाउँमा जाँदा खोला तर्ने समस्या सधैँ भोग्नुपरेको थियो”, गुरुङले भन्नुभयो, “अब पक्की पुल निर्माणपछि खोला तर्न र यातायातका साधनमा हिँड्डुल गर्न कुनै समस्या रहेन ।”

गुरुङजस्तै वार्दीखोला निवासी अमृत भुजेल पनि वार्दीखोलामा पक्की पुल बनेपछि धेरै कुरा सजिलो भएको बताउनुहुन्छ । “पुल र सडक नहुँदा पोखरा जानका लागि एक दिनको बाटो हिँडेर जानुपर्ने अवस्था थियो अब डेढ घन्टामै पोखरा बजार पुगिन्छ”, भुजेलले भन्नुभयो, अरु बेलाभन्दा पनि वर्षात्को समयमा खोलामा बाढी आउँदा तर्न नसक्ने अवस्था थियो ।” पुल नहुँदा विद्यालय जाने बालबालिकाले समेत वर्षात्को समयमा समस्या भोग्नुपर्ने थियो त्यो समस्या पनि पुल निर्माणसँगै समाधान भएको छ ।

तोकिएकै समयमा निर्माण सम्पन्न भएको उक्त वार्दीखोलाको मोटरेबल पुलको शनिबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयो । पुल उद्घाटन गर्दै मुख्यमन्त्री अत्रिकारीले वार्दीखोलामा मोटरेबल पुल निर्माण हुँदा कास्कीका मादीमात्र नभएर लमजुङका केही गाउँलाई समेत आवतजावतमा सजिलो भएको बताउनुभयो।

गण्डकी प्रदेश सरकारका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले मादी र वार्दीखोलामा मोटरेबल पुल निर्माण हुँदा मकैखोला, सैमराङ, मिजुरेडाँडा, लमजुङको पसगाउँ, भुजुङ, करापुटार, गिलुङका मानिसलाई समेत सजिलो भएको धारणा राख्नुभयो ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले मादी गाउँपालिकाको भूगोल सिक्लेसबाट मिजुरेडाँडासम्म जोड्न सडक सञ्जाल विस्तारमा आफू लागेको बताउनुभयो । कास्कीका अन्य गाउँपालिकाको तुलनामा मादी विकासमा पछि परेको बताउँदै मादीको विकासमा सक्रियता देखाउने अध्यक्ष गुरुङले प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

मिजुरेडाँडा निवासी मीनबहादुर गुरुङले सयौँ वर्षदेखिको सपना पक्की पुल निर्माणले पूरा गरेको बताउँदै अब यहाँका जनतालाई स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सिर्जना गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सचिव तुल्सीराम भट्टराईले उक्त पुल राष्ट्रिय गौरवको योजना पध्यपहाडी राजर्मामा नै पर्न गएको बताउनुभयो । बत्तीस मिटर लम्बाइ, ११ मिटर चौडाइ भएको दुई लेनको उक्त पुल निर्माण तोकिएकै समयमा सम्पन्न भएको उहाँको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker