व्यासका प्रमुख प्रशासकीय अधिकृत विरुद्ध कर्मचारीको हस्ताक्षर, के भन्छन नागिला र मेयर ?
भञ्ज्याङ न्यूज
तनहुँको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका विरुद्ध नगरपालिकाका कर्मचारीले हस्ताक्षर गरेका छन् । नगरपालिकाका सूचना अधिकारी कुमार कंचन जिसीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा माग गर्दै हस्ताक्षर संकलन भएको बताइएको छ ।
जिसीको नेतृत्वमा नगरपालिकाका १२२ जना कर्मचारीले हस्ताक्षर गरी नगरप्रमुख बैकुण्ठ न्यौपानलाई बुझाएका छन्। तल्लो तहका कर्मचारीलाई दबाबमा पारेर हस्ताक्षर गर्न लगाइएको र केही कर्मचारी उक्त कार्यको विराध गरी हस्ताक्षर नगरेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकामा अनियमित खर्च कटौती गर्ने, चालु (कर्मचारी) खर्च घटाइ पूँजीगत -विकास) खर्च बढाउने, बेरुजु शुन्य बनाउने, कर्मचारीलाई समयमा नै हाजिर गराउने, ड्रेस लगाउन अनिवार्य गर्ने, अनावश्यक खर्च कटौती गर्ने, कार्यालय समयमा फेसबुक, टिकटक चलाउन प्रतिबन्ध लगाएको तथा कर्मचारी र्सार्वजनिक खरिदमा आवद्ध हुन नपाउने, सबै खरिद प्रक्रिया टेण्डर प्रक्रियाबाट गर्नुपर्ने लगायतका कार्य अगाडि बढाएपछि केही उच्च तहका कर्मचारी असन्तुष्ट भई हस्ताक्षर संकलन गरिएको हो ।
असन्तुष्ट कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ढोकामा टाँसिएको नाम र पद भएको नेमप्लेट पनि विहीबार बिहान झिकेर फालेको र केही समय पछि पुनः टाँसेर अभद्र व्यवहार देखाएका छन् ।
गत साउन महिनामा व्यासको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हरिराम नागिला अस्वास्थ भई अहिले काठमाडौंमा उपचाररत छन् । यो विषयमा प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने, ‘आफुले कार्यालयलाई सिस्टममा चलाउन खोजेको हो कोही प्रति नराम्रो व्यवहार गरेको छैन । कार्यालयमा के भएको छ त्यो अहिले मलाई थाहा छैन । म अस्वास्थ भएका कारण उपचाररत छु र धेरै बोल्न सक्ने अवस्थामा छैन । यो विषयमा केही दिन कार्यालयमै पुगेर बुझ्ने छु ।’
नागिला व्यासमा आएपछि कर्मचारी कार्यालयमा समयमै हाजिर भईसक्नुपर्ने, आवश्यक कर्मचारी बाहेक अरु यो वा त्यो बहानामा कार्यालय बाहिर हुनु नहुने, पालिकाको बेरुजु बढेकाले अबका दिनमा बेरुजू शुन्यमा झार्ने अभियान चलाएदेखि केही कर्मचारी असन्तुष्ट बन्दै आएको स्रोतले बताएको छ ।
यस्तै, यस विषयमा नगरप्रमुख बैकुण्ठ न्यौपानेसंग बुझ्दा कर्मचारीहरुले हस्ताक्षर संकलन गरी आफुलाई बुझाएको बताए । ‘यो कुरा सामान्य हो’, उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरु बीच भाषा, शैली, मान, अपमानका केही असन्तुष्टि रहेको, काम गर्ने वातावरण नभएको भन्ने गुनासो आएको छ । अहिले प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा आउनु भएको छैन, उहाँ आएपछि छलफलबाटै यो समस्या टुंग्याउँछौं ।’
कर्मचारीको अभद्र व्यवहार र्सार्वजनिक भएपछि केही नगरबासिले नगरपालिकाकै बासिन्दा हाकिम भएर आएपछि नगरपालिकाको सेवा प्रवाहमा सुधार आउँछ कि भन्ने लागेको थियो तर, यहाँ त कुरो बिग्रिसकेको रहेछ भन्ने प्रतिक्रिया दिन थालेका छन् ।
कार्यालय प्रमुखका रुपमा नागिला आएपछि वडावडामै गएर योजना सम्झौता गर्ने, एकीकृत घुम्ति सेवा शिविर सञ्चालन, पालिका र सबै वडामा र्फि हेल्थ डेस्क स्थापना गर्ने, अनलाईन कर भुक्तानी, ड्रेसकोडको पालनामा कर्डाई, कार्यालय समयको पालनामा कडाइ, जनतालाई प्रदान गरिने सेवामा ढिलाई भएका कामहरुमा प्रत्यक्ष हस्तक्षेप भएपछि नगरपालिकाको केही कर्मचारी रुष्ट बन्द यो समस्या आएको नाम उल्लेख नगर्ने र्सतमा नगरपालिकाका केही कर्मचारीहले बताएका छन् ।










