नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पहिरो रोकथाम गर्न दैनिक पाँच घण्टा सडक बन्द हुने
मंसिर १३ देखि बिहान ११ देखि अपराह्न ४ बजेसम्म आवागमन रोकिने, नेलिङ प्रविधिबाट पहिरो नियन्त्रण गरिने

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न मंसिर १३ गते आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो।
पहिरो रोकथामको काम गर्दा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै निश्चित समय सडक बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ।
तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्दै सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्राविधिक विधि अपनाएर रोकथामको काम अघि बढाउन लागेको हो। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो नियन्त्रणका लागि प्राविधिक उपाय अपनाउन लागिएको हो।
पहिरो रोकथामका लागि भिरमा रहेका ठूला ढुङ्गा हटाउने, भिरको भिरालोपन व्यवस्थापन गर्ने र किला तथा रड गाडेर पहिरो प्रभावित क्षेत्रलाई मजबुत बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ। त्यसैगरी भिरभित्रबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ अर्थात् तेर्सो निकास प्रणाली र जैविक प्रविधिमा आधारित बायोइन्जिनियरिङ विधिसमेत अपनाइने सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार भिरको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिनेछ। पहिरो रोकथामको मुख्य प्रविधिका रूपमा भने नेलिङ प्रयोग गरिने उनले बताए।
गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि त्यहाँको कामसँगै तुइनखोलामा पनि रोकथामको काम गरिएको थियो। कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा सवारी आवागमन सहज बनाउन काम रोकिएको शर्माले बताए।
उनका अनुसार तुइनखोलाको पहिरो रोकथामका लागि सडकको अवस्था हेर्दा कम्तीमा १५ दिनसम्म सडक बन्द गरेर काम गर्नुपर्ने देखिन्छ। यद्यपि, प्राविधिक मूल्याङ्कनपछि कति समय सडक बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ। तत्कालका लागि भने अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर काम अघि बढाइनेछ।
यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको पहिरो रोकथामको काम भोलिसम्म सम्पन्न हुने र पर्सिदेखि राजमार्ग सञ्चालनमा आउने शर्माले जानकारी दिए। घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा रोकिएको पहिरो नियन्त्रणको कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
नारायणगढ–मुग्लिङ सडक बन्द हुने समयमा काठमाडौंबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सडक बन्द हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित हुने भएकाले प्रशासनले यात्राको समय मिलाएर यात्रा गर्न र सम्भावित असुविधालाई ध्यान दिन अनुरोध गरेको छ।










