शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिकाले गण्डकी प्रदेश अन्तर पालिका स्तरीय मेयर कप २०७७ भलिबल प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता गर्न लागेको बताएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।
शुक्लागण्डकी नगरपालिका-८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन गर्ने तयारी भएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
प्रतियोगिताका संयोजक एवं वडाध्यक्ष दीर्घबहादुर थापाले पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागिताका लागि प्रदेशका ८५ वटै पालिकालाई आमन्त्रण गरिएको र करिब २५ लाख रुपैयाँ लागत अनुमान गरिएको जानकारी गराएका छन् ।
यस्तै, प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख, ५० हजार र सान्त्वना हुनेलाई २५ हजार रुपैयाँ नगदका साथै शिल्ड र कप प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई दश हजार प्रदान गरिने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डरलाई पनि रु पाँच/पाँच हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।
पत्रकार सम्मेलनमा नगरप्रमुख किसान गुरुङले दक्ष र अनुशासित नागरिक उत्पादनका लागि खेलको महत्वपूर्ण भूमिका रहने बताउँदै स्थानीय तहमा निर्वाचित भएको लामो समयपछि पहिलो पटक पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले खेलकूदले मानिसलाई स्वस्थ र अनुशासित बन्न त सहयोग पुग्छ नै साथै देशका लागि पनि दक्ष जनशक्ति उत्पादन गर्न मद्दत बताए ।
यस्तै, नगर उपप्रमुख सविता रसाइलीले युवाशक्तिलाई विकृति र विसङ्गतिबाट मुक्त गराउन खेलको भूमिका रहने बताइन् । नगरपालिकाको आयोजनामा केही समय अगाडी मात्रै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समेत सम्पन्न गरेको छ ।










